सुनसरीमा सुरक्षित गर्भपतन गराउने बढ्दै

सुनसरीमा सुरक्षित गर्भपतन गराउने बढ्दै


सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ ।

आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्यांकअनुसार सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको हो । आर्थिक वर्ष ०७४–०७५ मा एक हजार २ सय ९३ जनाले सुरक्षित गर्भपतन गराएको आइपास नेपालका मजबुल आलमले जानकारी दिए ।

जिल्लामा चार वर्षको तथ्यांकलाई हेर्दा सुरक्षित गर्भपतन गराउनेको संख्या क्रमशः बढ्दै गएको देखिएको छ । आइपासको तथ्यांकअनुसार जिल्लामा आव ०७१–७२ मा २९१, ०७२–७३ मा ७५६, ०७३–७४ मा ९३६ र ०७४–७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएका थिए ।

गत आवको साउनमा १०३ , भदौमा ७३, असोजमा ७०, कात्तिकमा ९६ , मंसिरमा ८२, पुसमा १३९, माघमा १४८, फागुनमा ८९, चैतमा १९, वैशाखमा ११२, जेठमा १३३ र असारमा १२६ जनाले सुरक्षित गर्भपतन गराएका थिए । महिलामा जनचेतनाको वृद्धि, सुरक्षित गर्भपतन सेवा कार्यक्रमबारे कार्यक्रम सञ्चालन, निःशुल्क गर्भपतन सेवाको शुरुआत, १२ हप्ताभन्दा माथि अवधि तथा औषधिको प्रयोगबाट गरिने सुरक्षित गर्भपतन सेवाको शुरुआत र तालिमलगायतका कारणले सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको जनाइएको छ ।

तथ्यांक हेर्दा सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संख्यामा बढेको देखाए पनि असुरक्षित रूपमा गर्भपतन गराउने बढी रहेको स्थानीयले बताएका छन् । नेपालबाट भारतमा गएर गर्भपतन गराउने र भारतबाट नेपालमा आएर गर्भपतन गराउनेको संख्या पनि बढी रहेको बताइएको छ ।