एनआरएन अष्ट्रिया : ‘मेलमिलापको साधारणसभा’ बनाउने कोशिस, उपलब्धि शुन्य !

एनआरएन अष्ट्रिया : ‘मेलमिलापको साधारणसभा’ बनाउने कोशिस, उपलब्धि शुन्य !


Sagar Subedi, Austria

विश्वका केही देशमा रहेका गैरआवासीय नेपाली संघका औंलामा गन्न सकिने राम्रा गतिविधिहरु बाहेक गैरअवासीय नेपालीहरूको संस्थामा वास्तविक समाज सेवाभन्दा फरक, संस्थाभित्र हुने गैरकानुनी क्रियाकलाप, पदीय लोभलालच र आन्तरिक समस्याका बारेमा छलफल गरेर मात्रै समय बितेको छ भन्दा संस्थाका पदासिनलार्इ चित्त दुख्छ होला, तर गत महिना सम्पन्न गैरआवासीय नेपालीहरुको युरोपियन लक्जेम्बर्ग भेलामा पनि यस्तै देख्न पर्‍यो ।

विवादको विषय संसारभरका नेपालीहरुलाई तब थाहा भयो, जब कार्यक्रम सम्पन्न भएपछि केन्द्रिय पदाधिकारी लगायत एनसीसीका अध्यक्षहरु द्वारा एक संयुक्त विज्ञप्ति जारी भयो ।

उक्त विज्ञप्तिको सार केन्द्रिय महासचिव बद्री केसीले संस्थाभित्र मनोमानी गर्न खोजेको भन्ने विषयलार्इ लिएर एन आर एन अभियानको हित मा नभएको र आगामी एन आर एन गतिविधीलाई पनि असर पर्न सक्ने भन्ने कुरालाई विभिन्न बुदामा समेट्दै सुझाव दिइएको थियो ।

यसबाट यो प्रस्ट हुन्छ कि गैरआवसीय नेपाली संघमा भएका एन सि सिहरु मात्र नभएर केन्द्रमा पनि यस्ता विवादका गतिविधी रहेको बुझियो । यो विषयमा अगाडि नै विभिन्न मिडियाले सम्पूर्ण विज्ञप्तिको सारलाई बाहिर ल्याइसकेको छ र यो विषयमा अरु धेरै बहसतिर नफर्कौं।

कुरा रह्यो अष्ट्रियाको, गत आईतबार अष्ट्रियाको राजधानी भियनामा गैरआवासीय नेपाली संघले साधारणसभा सम्पन्न गर्‍यो । वर्तमान परिपेक्ष्यमा एन आर एन अष्ट्रिया कानुन अनुरुप गएर हेर्दा गैरकानुनी तवरले निर्वाचन भएर आएको संस्था हो । किन गैरकानुनी भनेको भन्दा कुनै पनि विधान अपरिवर्तनसिल भन्ने हुँदैन तर जब विधानलाई परिवर्तन गरिन्छ तथा थपघट गरिन्छ, उक्त विधानलाई अष्ट्रियन सरकारको कानुन कार्यान्वयन गर्ने निकायमा आधिकारिक रुपमा बुझाउनुपर्ने हुन्छ । त्यसैले कानुनी दृष्‍टिकोणबाट हेर्दा एनआरएन अष्ट्रियाको वर्तमान कार्यसमितिलाई पनि अवैधानिक भन्न सकिन्छ । अझै त्यसमा केन्द्रिय विधान अनुरुप समायोजन गरिएका केही पदहरु अझैपनि अवैधानिक छन् ।

हुन त यो विषय यो भन्दा अगाडिको कार्यसमितीले पनि हेर्नुपर्ने थियो र परिवर्तित विधानलाई कानुन कार्यान्वयन गर्ने निकायमा बुझाउन पहल गरिनुपर्थ्यो तर उक्त बेलाका पदाधिकारीहरुले आफ्नो जिम्मेबारी सुम्पेपछि अहिलेको नयाँ केन्द्रिय व्यवस्था तथा निर्देशन भए बमोजिम वर्तमान कार्यसमितीले गर्नु पर्ने थियो । तर यतिका विवादका बीचमा एनआरएन अष्ट्रियाले पक्कै पनि यो गैरकानुनी पाटोलाई सुल्झाइ अगाडि बढ्छ भन्ने आशा साधारण सदस्यहरुलाई थियो, तर केही पहल नभएको खुलस्त भएपछि संस्थालाई माया गर्ने गैरआवासीय अष्ट्रियावासीमा खिन्नता भएको प्रस्ट बुझ्न सकिन्थ्यो । यो पंक्तिकारले यहाँको सरकारी कानुन कार्यान्वयन गर्ने निकायमा संपर्क गर्दा पुरानो विधानअनुरुप नै संस्था अहिलेसम्म चलिरहेको र कार्यसमिती परिवर्तन भएको जानकारी आएको तर विधान परिवर्तन गरिएको जानकारी नआएको भन्ने अधिकारिक जानकारी प्राप्त भयो ।

प्रस्ट भन्नुपर्दा साधारण सभा भनेको संस्थाको शक्तिसाली सभा हो । यस प्रकारका विश्वको कुनैपनी सरकारी तथा गैरसरकारी निकायहरुमा पनि यस्ता सभाले संस्थाको तथा निकायहरुको बाटो नै परिवर्तन गर्ने अधिकार रहेको हुन्छ । साधारण सभामा सामान्यतया वर्षभरिका कृयाकलाप, आर्थिक विवरण र भविष्यका योजनाका बारेमा छलफल गर्ने गरिन्छ । तर यहाँचाहिँ त्यसो हुन पाएन भनौं भने दिउँसो १२ बजेदेखि सुरू भएको साधारण सभा बेलुका ७ बजेसम्म चलिरहँदा पनि त्यो समय अवधिमा आर्थिक आयव्यय, भविश्यका योजना र व्यवस्थापकिय कृयाकलापको बारेमा भने छोटकरिमा गरिएको प्रतिवेदन बाहेक कुनै विशेष छलफल हुन भने पाएन ।

अन्तर्राष्ट्रिय सम्मेलनमा भएको आर्थिक लेनदेनको जटिल विषय र समन्वय परिषद्को वर्तमान कार्य विधान नै गैरकानुनी भएका कारण कार्यक्रम अत्यन्तै असहज परिस्थितिमा सुरूभएको थियो । वर्तमान अध्यक्षले अन्तर्राष्ट्रिय सम्मेलनमा भएको आर्थिक लेनदेनको बारेमा केन्द्रले नै निर्णय लिने र हामीले यस विषयमा केहि गर्न नमिल्ने भन्दै भिडियो अन्तर्वार्ता दिएपछि कार्यक्रम सुरू हुने वातावरण बनेको हो । प्रमुख अतिथि रहनुभएका संयुक्त राष्ट्र संघ भिएनाका राष्ट्रसंघिय मिसन प्रमुख तथा नेपाली राजदुतावास भिएनाका राजदूत प्रकाशकुमार सुवेदीलार्इ कार्यक्रम विधान अनुरूप गैरकानुनी भएको जानकारी गरार्इसकिएको थियो ।

आशन ग्रहण र मन्तव्यका कुरा गरेर लेख लामो नबनाउँ । सबैको एउटै आवाज थियो मिलेर जाउँ, गल्ती गर्नेले सामाजिक सजाय पाओस् र सबै अष्ट्रियाबासी गैरआवासीय नेपालीहरु हातेमालो गर्दै अगाडि बढौँ । तर मिल्ने भनेको के हो भन्नेमा यस पंक्तिकार अनभिज्ञ नै थियो । सायद त्यसै असामान्य परिस्थितीका कारण महामहिम राजदूत औपचारिक कार्यक्रमको शुभकामना मन्तव्य प्रकट गरेर समापन नहुँदै विदा हुनुभयो ।

साधारण सभामा सबैभन्दा महत्वपूर्ण विषय यहाँ लामो समयदेखि बसोबास गरिरहेका तर भिसा नपाएका धेरै नेपालीहरूको विषयमा छलफल गरिनुपर्थ्यो । एक पीडित सदस्यलार्इ यस विषयलाई साधारण सभामा हुने छलफलको बारेमा जिज्ञासा राख्दा कुनैपनि व्यक्ति त्यहाँ उपस्थित कसैले पनि ति नेपालीहरुले भोगिरहेको गम्भिर जटिल कानुनी समस्याका बारेमा छलफल तथा कसैको चासो नै नभएको जानकारि पाइयो । यस पन्क्तिकारले अनौपचारिक तवरमा थाहा पाएको सुचनाका आधारमा नेपाली राजदुतावासले अष्ट्रियाको को एउटा प्रदेसीय राज्य टिरोलमा एक प्रयटन प्रवर्दन कार्यक्रम गर्दैछ । त्यस कार्यक्रम लगायत नेपालमा कसरी लगानी भित्राउने ? राजदुताबाससँग नै कसरी र कस्तो किसिमको सहकार्य गर्ने ? दुःख पाइरहेका नेपालीहरुलाई कसरी सहयोग गर्ने ? आफुले गरेर खाएको अवस्थामा पनि भिजा नपाएका कारण जेलमा परेका नेपालीको उद्दार कसरी गर्ने ? पर्यटन प्रवर्दनमा संस्थाले कस्तो तबरले सहयोग गर्ने ? यहाँका सरकारी निकायसँग कसरी सहकार्य गरेर अगाडि जाने ? कार्यालय व्यवस्थापन भोलीको दिनमा कसरी गर्ने ? परिषद्ले प्रतक्ष्य या अप्रत्यक्ष्य रुपमा आगामी दिनहरूमा कसरी अगाडि बढ्ने भन्ने मुख्य बुँदाहरुमा कुनै छलफल पनि भएन र न कार्यसमतीबाट नै यी विषयहरूमा चासो राखियो ।

वर्षभरिका व्यवस्थापकिय पक्षको कार्य विवरण एकदमै छोटकरीमा महासचिवबाट प्रस्तुत भयो जुनकुरामा धेरै प्राविधिक कमजोरी देखियो । जस्तो कि युरोपियन सम्मेलनमा अष्ट्रियाको समन्वय परिषद् पहिलो पटक सहभागिता भएको थियो भनियो । जुन सरासर गलत थियो । तीज, नारिदिवस, पिकनिक, विजनेस म्याराथुन, सम्मान तथा रात्रिभोज, आर्थिक सहयोग, बाल मनोरञ्जनात्मक कार्यक्रम, र सामुहिक घुमघाम जस्ता कृयाकलापमा एनआरएनले आफ्नो धेरै समय खर्चेको देखियो भने क्षेत्रीय कार्यसमिति गठन, सम्पर्क कार्यालय, बाढी पीडितलार्इ आर्थिक सहयोग र दुतावाससँगको अन्तर्कृया कार्यक्रम राम्रो कदमको रूपमा लिन सकिन्छ । नेपालीहरूका लागि भाषागत समस्याको लागि दोभासे राख्ने निर्णय गरिएको रहेछ तर कार्यान्वयनका रूपमा कसैले यसबाट सहयोग लिन सकेको छ कि छैन भन्नेमा समाज अनभिज्ञ देखियो । यतिसम्म कि एनआरएन जस्तो संस्थाको कुनै पनि अधिकारिक निर्णयहरु के भएका छन र यसबाट समाजले कसरी लाभ लिने भन्ने सबालमा आम अष्ट्रियाबासी गैर आवासीय नेपालीहरुले थाहा नै नपाएको प्रतिकृया आयो । महासचिवले कार्यविवरण प्रतिवेदन लगत्तै अन्तर्राष्ट्रिय सम्मेलनमा भएको रकम लेनदेनको बारेमा जानेर नबुझेर गल्ति भएको आत्मालोचना गर्दै अब आर्इन्दा यसो नगर्ने र गल्ति भएकै हो भने एक पटकको लागी माफ दिन साधारण सभामा माफी मागे । तर पूर्व आइसिसि सदस्य रविचन्द्र भट्टरार्इलाई सर्वनास गर्छु तथा समाचार लेखेकै आधारमा घटना र बिचारका सहकर्मीलाई दिइएको धम्कीको विषयमा कुनै प्रसंग नै निकालेनन् ।

यो पंक्तिकारले महासचिवले मञ्चमा बोल्दै गरेको भिडियो लिँदै गर्दा तपाईंले कस्को अनुमतिमा क्यामरा मतर्फ अन्कित गर्दैहुनुहुन्छ भन्दै क्यामरा बन्द गर्ने आदेश दिनुभयो । तत्पश्चात माहोल होहल्लामा परिणत् भयो । त्यहि होहल्लाका बिच महिला फोरम अष्ट्रिया कि सम्योजकले तपाईंले अनुमतिबिना साधारण सभामा तस्वीर तथा भिडियो लिन पाउनुहुँदैन भन्दै क्यामरा नै खोस्ने प्रयास गर्नुभयो । यस पंतिकारले आफ्नो सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै क्यामरा नै बन्द गर्नुपर्ने अवस्था आयो ।

समाजमा घटेका सम्पूर्ण राम्रा नराम्रा गतिविधिलाई आम जनतासमक्ष ल्याउन कसैको धम्कीले रोक्न नसक्ने र कलम कुनै पनि अवस्थामा विश्राम गर्दैन भन्ने कुरामा यस पंक्तिकार प्रष्ट थियो । त्यस गम्भिर विषयलार्इ मैले एनआरएन अष्ट्रियाका अध्यक्ष जीवनजंग कुँवरसँग राख्दा ‘जे भयो भयो अब हामी मिलेर जानुको बिकल्प नभएको, झिना-मसिना कुराहरुमा नअल्झी अगाडि बढ्नुपर्छ’ भन्नुभयो तर महिला सम्योजकको गैरजिम्मेबार कृयाकलापमा कस्तो प्रकृया अपनाउने भन्ने कुरामा प्रस्ट हुन चाहनु भएन। महासचिवको विषय तथा यो भन्दा पहिला एनआरएन अष्ट्रियाले आधिकारिक रुपमा जारी गरेको विज्ञप्तिको बारेमा चाँहि ‘महासचिवले पैसा नखाएको, तर अमुक ब्यक्तीलाई केन्द्रिय अधिबेशनमा जिताउन सहजता निर्माण गरिदिएर उक्त अमुक ब्यक्तीबाट लिएर भोट हाल्न जानेलार्इ दिएको’ भन्ने विज्ञप्ति अष्ट्रियाबासी गैरआवासीय नेपालीहरु बिच आइसकेपछी मेरो आफ्नो पदिय कर्तव्य सम्झी नियत सहि हुँदाहुँदै महासचिवले गम्भिर गल्ती गरी विवादमा मुछिएको भन्ने विषयमा प्रस्ट मात्र पारेकोुु भन्ने धारणा राख्नुभयो भने कार्यक्रममा साधारण सदस्यको जिज्ञासालाई सम्बोधन गरिरहेकै अवस्थामा पनि महासचिवको विषयमा ‘हामीले केहि गर्न नमिल्ने जे गर्छ केन्द्रले गर्छ’ भनिसकेका हुनाले यस विषय तर्फ कसैको ध्यान गएन ।

संस्थाको आर्थिक पक्षको बारेमा कुरा गर्दा कोषाध्यक्षले लामो समय अगाडि नै राजिनामा दिएको भएता पनि आज सम्म सह(कोषाध्यक्ष लाई जिम्मेबारी दिने बातावरण नभएका कारण यस वर्षको आर्थिक विवरण पनि अध्यक्षबाट प्रस्तुत गरियो । निर्वाचित भएपछि अघिल्लो कार्यकालका अध्यक्ष धर्मराज खतिवडा नेत्रित्वको कमिटबाट ८४६० युरो हस्तान्तरण गरिएको संस्थाको बैंक खातामा अहिले जम्मा ८१४ युरो छ र ५०० रूपैंया अध्यक्षको हातमा छ । आर्थिक रूपमा अत्यन्तै दयनिय अवस्थामा पुगेको यस राष्ट्रिय समन्वय समिति सम्पर्क कार्यलयलार्इ प्रत्येक महिना दिने रकम कहाँबाट ल्याउने भन्नेमा न कुनै कोण बाट छलफल भयो न चिन्ता प्रकट गरिएको देखियो ।

राजदूत प्रकाशकुमार सुबेदीको विदार्इ लगत्तै कार्यक्रमको क्रम टुट्यो । व्यवस्थापन पक्षको कमजोरीका कारण कार्यक्रम धेरैबेरसम्म लथालिङ्ग भैसकेपछि आर्इसीसी सदस्यले कार्यक्रम फेरि सुचारू गर्न प्रस्तोतालार्इ आग्रह गरेपछि फेरि मन्तव्य कार्यक्रम सुचारू भएको थियो । मन्तव्यकै क्रममा आर्इसिसिले प्रवक्ताको अघिल्लो विज्ञप्तिमाथी खण्डन गर्दै भन्नुभयो विज्ञप्तिले आर्थिक चलखेल भएको कुरा गरेको हो । त्यो लेख्न हुँदैन थियो । त्यहि विज्ञप्तिको आधारमा आसिसिले कार्वाही गर्न सक्ने अवस्था हुन्छ । साधारण सदस्यहरूबाट एकपछि अर्का प्रश्नहरू उब्जिरहेपनि सम्बन्धितले उत्तर दिन नपाउँदै असम्बन्धित मान्छेहरूको चर्को आवाजले कार्यक्रमले पटक-पटक होहल्लाको वातावरणमा परिणत भैरह्यो । एक अर्काप्रतिको रिस, गुटबन्दि र डाहाले गर्दा छलफलको वातावरण नभर्इ एक अर्कालार्इ दोष आरोप लगाउने कृयाकलाप भैरहे । कुनैपनि विषयमा कुनैपनि निचोड निस्कन सकेन र अध्यक्षले कार्यक्रम समापन भएको घोषणा गरे । कार्यक्रम समापन भएपछि धेरै कार्यक्रम सकियो भनेर गए । केहि कार्यसमितिका साथीहरू र आर्इसिसि सदस्य पनि जानुभयो । यसरी साधारण सभा कुनै निर्णय बिना नै टुङ्गियो ।

आधिकारिक कार्यक्रम समापन भैसकेपछि पनि संस्थाका सदस्य वुद्दि बहादुर तामाङ्गले संस्था नै निलम्बनमा पर्न सक्ने गम्भिर अवस्थालार्इ मुल्याङ्कन गर्दै सबै पक्षलार्इ मिल्न र केन्द्रमा परेको उजुरी फिर्ता लिन केहि लचक हुन अनुरोध गर्दै गोलमेच छलफलको तयारी गर्नुभयो । उक्त छलफलमा आर्थिक लेनदेन उपर निवेदन दिनुहुने पुर्व आर्इसिसि सदस्य र केन्द्रमा निवेदन दिने संस्थाका वरिष्ठ उपाध्यक्ष लगायत सबैको उपस्थिति भएपनि वर्तमान आर्इसिसि सदस्यको भने उपस्थिति थिएन । एककिसिमले आधिकारिक कार्यक्रम भने यो थिएन । तर केन्द्रबाट राष्ट्रिय समन्वय परिषद्को प्रवक्ता द्वारा निकालिएको पूर्व विज्ञप्तिलार्इ आधारमानी आर्थिक लेनदेनको विषयमा समन्वय परिषदलार्इ निलम्बन गर्न सक्ने धम्कि बारम्बार आर्इरहेको कारण देखार्इ बुद्दि बहादुर तामाङ्ग सबैलार्इ छलफलमा सहभागी हुन अनुरोध गर्नुभयो । सम्बन्धितलार्इ आम माफी दिएर यस केसलार्इ मिलाएर लैजान र बरिस्ट उपादक्ष्य ले संस्था भित्र भएको गुटगत ब्यबाहार र मनोमानीको बिषयमा केन्द्रमा गरेका उजुरी फिर्तालिने निर्यय गर्न सबै सहमत जस्तै देखिए पनि पूर्व आर्इसिसि सदस्यले गम्भिर गलत कृयाकलापमा सहभागी लार्इ माफी दिएपनि नैतिकताका आधारमा पदमा बस्न नमिल्ने भनार्इ राख्नुभयो ।

महासचिवले पटक पटक फेरि पनि माफी मागे तर माफि मागेको निर्णय विज्ञप्तिमा नलेखिदिन पनि अनुरोध गरे । यसभन्दा अघिल्लो विज्ञप्तिले तर्सिएको एन आर एन अष्ट्रियाले आममाफीलार्इ घुमाउरो भाषामा आत्मालोचना भन्दै घुमाउरो भाषामा समस्या समाधान गरिएको भन्ने निर्णयमा पुग्यो जो साधारण सभा भन्दा बाहिर गएर एक किसिमको समझधारी जस्तो बन्न गयो । यसै बिच पूर्व आर्इसिसि सदस्यले संस्था धरापमा नपरोस् भनेर माफी स्वरूपको आत्मालोचनाको निर्णय स्विकारेपनि आर्इसिसिमा भएको गलत प्रकृयाको बारेमा आफु निरन्तर बोली रहने कुरा सबैमाझ प्रष्ट पार्नुभयो । संस्था ले आगामी दिन मा देखाउने व्यबहारले केन्द्रमा दिएको निवेदन फिर्ता लिने कुरामा वरिष्ठ उपाध्यक्ष पनि तयार हुनुभयो ।

कानुनी हिसावमा यि निर्णयहरू गलत भएपनि सामाजिक हिसावमा भने स्विकार्य छन् । आर्इतबारको साधारण सभापछि आम छलफलबाट सम्वेदनशिल विषयका मिलेमतो निर्णयमा समन्वय कमिटि पुग्न नसकेको भए संस्थाको गलत कृयाकलापको विरूद्दमा आर्इसिसिले संस्थालार्इ निलम्बित नगर्ला कि भन्ने कुरामा कुनै शंका थिएन । त्यसकारण पनि गैरआधिकारिक नै भएपनि अष्ट्रियाको शाखाले एउटा महत्वपूर्ण निर्णय लिन सफल भयो । एउटा आधिकारिक कार्यक्रम सकिएको ३ घण्टापछि एनआरएन अष्ट्रियाले विज्ञप्तिको लागी निर्णय लेख्यो जुन आजसम्म प्रकाशित हुन सकेको छैन । यस पन्किकार पनि आधिकारिक विज्ञप्ति आएपछिमात्र सम्पूर्ण कुरा प्रस्ट पार्दै लेखौंला भन्दै आजसम्म कुर्ने काम गर्‍यो तर अहिले गैरआवासीय नेपाली संघ अष्ट्रिया त्यहि लेख्ने भनिएको विज्ञप्तिमा पनि फेरि विवादमा मुछीइरहेको छ, उक्त सामाजिक प्रयासबाट तयार गरिएको विज्ञप्ति को बिषय मा अहिले फेरी किन आजसम्म पनि प्रकाशित हुन नसकेको भन्दै प्रश्नहरु कार्यसमितितर्फ मोडिएको प्रस्ट देखिन्छ ।