सरकारी अस्पतालको अवस्था नाजुक, बिरामीको बेहाल

सरकारी अस्पतालको अवस्था नाजुक, बिरामीको बेहाल


– मुक्तिनाथ भुसाल, अर्घाखाँची

जिल्लाको एक मात्र सरकारी अस्पतालमा क्षमताभन्दा बढी मात्रामा बिमारीको चाप परेपछि समस्या पैदा हुन थालेको छ । बिमारी परेपछि जिल्ला अस्पतालको अपेक्षा गर्नु स्वभाविक भए पनि अस्पतालभित्रको सीमित साधन–स्रोत तथा विभिन्न जटिलताका कारण सेवाग्रही र अस्पतालकर्मी दुवैपक्ष असन्तुष्ट रहँदै आएका छन् ।

नेपाल सरकारबाट १५ बेडको स्वीकृति प्राप्त गरेको सन्धिखर्क अस्पतालमा आन्तरिक स्रोतलाई समेत हिसाब गर्दा जम्मा ३६ बेड रहेका छन् । दिनहुँ बिमारीको चाप बढ्दै गएपछि अस्पतालभित्रको करिडोर एवम् पेटीमा समेत बिमारी सुताएर अस्पतालले उपचार गराएको देख्न सकिन्छ ।

अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीका अनुसार अस्पतालमा आएका बिमारीहरूलाई ‘ठाउँ छैन, फर्किनुस्’ भन्न नसकेपछि जसोतसो निर्वाह चलाउने ढंगले दिनहुँ ४५ बेडसम्म बिमारी भर्ना गरी उपचार गर्ने गरिएको छ । अस्पताल आउने बिरामीमध्ये आर्थिक रूपले सम्पन्नहरू अस्पतालको क्षमता र दुरुह अवस्था देख्नेवित्तिकै विवेक पुर्याएर बुटवल वा अन्यत्रकै अस्पताल जाने गरेको सम्बद्ध सुत्र बताउँछ ।

सन्धिखर्क अस्पतालमा यतिबेला भाइरल ज्वरोका बिमारी र गर्भवती महिलाको संख्या तुलनात्मक रुपमा बढि रहेको छ ।