आ-आफ्ना प्रदेश खोज्दा हराउने भो नेपाल

आ-आफ्ना प्रदेश खोज्दा हराउने भो नेपाल


-स्वयम्भुनाथ कार्की
नेपाललाई स्वर्ग बनाउने उद्घोषका साथ थुपै्र सपना बारम्बार बाँडियो । नेपालीले चुपचाप उनीहरूका कुरा पत्याएका मात्र नभई त्यही लहलहैमा लागेर ज्यानसम्म अर्पण गर्न तयार भए । सुन्दर भविष्यको आशामा आफूसँग भएका सबै क्षमता, सम्पत्ति ओइराए । जनताले असीम त्याग तथा समर्पण गरेर सपना बाँड्ने हरेकलाई आफ्नो जीवनको वागडोर सुम्पिए । तर, जनताको रगत-पसिनाको कमाइमा पौडी खेल्ने प्यास बोकेका ती सपनाका व्यापारीहरूको तृष्णा मेटिएन । नेपाली पाखुरीलाई विदेशमा ज्यामीको रूपमा निकासी गरेर भए पनि आफ्नो धनको तृष्णा पूरा गर्न उनीहरू लागे । हिजोसम्म खोले-फाँडो खाएर तुनेको भोटो र चप्पल लगाएर हिँडेकाहरू छोटो समयमा नै आयातित वातानुकुलित गाडीमा तारे रिसोर्टको महँगो खानामा छाक टार्न धौ-धौ पर्ने जनताको चिन्तामा चिन्तित भएको नाटक अहिलेको आमसमाचार हो ।
बीस-तीस किलोमिटरको यात्रामा पनि हेलिकोप्टरमा पुग्नुपर्ने कुरा आवश्यकता नभएर जनतालाई ‘हेर, तिमीहरूलाई कत्तिको मूर्ख बनाएँ’ भनेको हो । नेताहरू यस्तै हुन्छन् भन्ने जनतालाई थाहा थियो, त्यसैले राजनीतिमा लागेकाहरूको समूहलाई अन्तत: जनताले विश्वास गर्न छोडेको थियो । तर, आफूलाई पढाउने शिक्षक, मुद्दा लडिदिने वकिल, मनोरञ्जन दिने कलाकारजस्ता जमातका केहीले आफूलाई नागरिक समाजका अगुवा भन्दै नेताहरूलाई विश्वास गरिदिन आग्रह गरे, जनताले त्यसलाई पत्याए । नेताहरूलाई नभएर यस्ता बुद्धिजीवी भनिने, अगुवा भनिनेका कुरा जनताले पत्याएका थिए । अझ भन्ने हो भने नेताहरूको जमानी बस्नेहरूलाई पत्याएका थिए । तर, बरु नेताहरू मात्र हुँदा त नेपालको केही बचेको थियो । तर, यस्ता अगुवालाई भरोसा गर्नाले नेपालको अस्तित्वमै खतरा आइपरेको छ ।
आज नेपालभन्दा एक मधेस एक प्रदेश केहीलाई प्यारो भएको छ, केहीलाई ताम्सालिङ, केहीलाई लिम्बुवान प्रिय भएको छ । थरुहट, खुम्बुवान, खसानजस्ता शब्दहरूले नेपाललाई ओझेलमा पारेको छ । आज कसैले नेपाल कहाँ छ भनेर खोज्नुपर्ने अवस्था छ । यस खोजको अवसरमा नौलानौला प्रदेशका नामहरू आउँछन् तर नेपाल भने ओझेमा परेको छ । नेपाली-नेपालीलाई जोड्ने तत्व कमजोर भएको छ, विभिन्न समूहहरू आफ्नो मध्ययुगीन परिचय खोज्दै एक्काइसौं शताब्दीको धक्कु लगाउँदै छन् । टोफेल, आईएलटीएस, कोरियन भाषाजस्ता विदेशी भाषा सिकेर विदेशमा मजदुरी गर्न जानेहरू आ-आफ्ना भाषा खोजेको स्वाङ रच्दै छन् । गोजीमा नेपाली नागरिकता भएकाहरू सबै नभए पनि छातीमा नेपाली मुटु भएको हरेकलाई आज देश दुखेको छ । उसको आत्मा रोएको छ । अझ आफ्नै मुलुकमा आफ्नो मुलुकको गौरवगाथा गाउँदा कुटिनुपरेको तीतो अनुभव अपवाद होइन, नियमित भोगाइ भएको छ ।
यो परिस्थितिको जिम्मेवार जनता आफै भएका छन् संविधानसभामा कुपात्रलाई मत दिएर । दुईवर्षे निरर्थक कार्यकालपछि जनता आफ्नो त्यो गल्ती सुधार्न चाहन्थे । नालायक भएका आफ्ना प्रतिनिधि बदल्ने मौका खोजेका थिए । तर, फेरि तिनै अगुवाहरू नालायकहरूको एक बर्ष अझ म्याद थप्ने वकालत गर्न अगाडि सरे । जनताले ढाँटको निम्तो खाई पत्याउने शैलीमा एकपटक फेरि विश्वास गरे । जनताको यो उदारतालाई मूर्खता सम्भिmने काम भयो । एक वर्ष नेपालको ज्ञात इतिहासमै सबैभन्दा कहालीलाग्दो कालखण्ड भयो । अब फेरि अर्कोपल्ट एक वर्षमा सकारात्मक काम भयो भनेर जनतालाई मूर्ख बनाउन लागिपरेका छन् । राजनीतिक नेता तथा कार्यकर्ता त जनसाधारणभन्दा धेरै टाढा छन् । तिनको दर्शनभेट सबैले पाउँदैनन्, तर बुद्धिजीवी भनिएकाहरू, नागरिक अगुवा भनिएकाहरू जनताको माझमा जनताकै भेष लिएर फेरि नालायकहरूलाई म्याद थप गर्ने प्रपञ्चमा लागेका छन् ।
थपिएको वर्षमा जनता थिलथिलो भएको छ, अब फेरि समय थप गरेर युगौँसम्म उठ्न नसक्ने गरेर मरणासन्न हुने कुरा भन्न कुनै अनुसन्धान चाहिँदैन । भागबण्डा, भागबण्डा अनि फेरि भागबण्डा योबाहेक दलहरू, दलका जनतामाझ बसेका भरौटेहरू अरू केही जान्दैनन् । काम देखाउन कहिले कुनै ठाउँको नाम बदल्न अभियान चलाउँछन्, कहिले जनताको गोजीमा यसका नोट अचानक नचल्ने बनाएर आधा मोलमा खर्च गराउँछन् । कहिले करोडौँ खर्च गरेर कालापत्थरमा मन्त्रिमण्डलको अर्थहीन बैठक गर्छन् । विदेशी विस्तारवाद मुर्दावाद भन्दै विदेशी मन्त्रीका पाउ मोल्न तँछाड-मछाड गरेर दगुर्छन् । अझै यस्ता नालायकहरूलाई म्याद थप्ने हो भने मुलुक नै विदेशीलाई ठेक्कामा चलाउन नदेलान् भन्ने कुनै आधार रहने छैन । बेलैमा चेत्नुपर्ने अवस्था छ । संविधानसभाको म्याद थपेर जनताको बाँकी बचेको ढुकढुकी पनि बन्द गर्न सघाउनेहरूको सामाजिक बहिष्कार गर्ने बेला भयो । जनता अब अझ कति मूर्ख बन्ने हुन् यस्ता जनता मूर्ख बनाउन खोज्नेहरूको पानी नचल्ने नयाँ चलन चलाउने बेला भयो ।