स्रोत–व्यक्तिको मिलेमतोमा शिक्षा सिकाई सहयोगमा भ्रष्टाचार

स्रोत–व्यक्तिको मिलेमतोमा शिक्षा सिकाई सहयोगमा भ्रष्टाचार


धादिङको बेनिघाट रोराङ गाउँपालिकामा शैक्षिक अनुदानको रकममा भ्रष्टाचार भएको छ । शिक्षा सिकाई सहयोग शीर्षकमा जिल्लाबाट प्राप्त अनुदान रकम स्रोत–व्यक्तिकै मिलेमतोमा गाउँपालिकाका प्रशासकीय अधिकृतलगायतका केही कर्मचारी मिलेर रकम हिनामिना गरेका हुन् ।

नवनियुक्त स्रोत व्यक्ति रामेश्वर पोखरेलको उक्साहटमा गाउँपालिकाका कर्मचारीहरूले अधिकार नै नभएका प्रशासकीय अधिकृत हर्कबहादुर थापालाई हस्ताक्षर गर्न लगाई शिक्षा नियमावलीविपरीत शिक्षकको विज्ञापन प्रकाशित गरेको र थापाकै नेतृत्वमा परीक्षा अनुगमन टोली बनाएर विभिन्न एघार विद्यालयबाट अनधिकृत रकम असुल गरिएको भन्दै स्थानीयले छानबिनको माग गरेका छन् ।

स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिल्लास्थित सम्पर्क कार्यालयमा दर्ता गराएको उजुरीमा उल्लेख भएअनुसार चन्द्रोदय माबि बेनिघाट, हर्कपुर मावि हर्कपुर, कालिका मावि विधाङ, राष्ट्रिय आवि रोवाङ, गोइराङ आवि गोइराङ, वितेश आवि भारपाङ, कालिका निमावि मोहरिया, बागेश्वरी आवि, महारुद्र आवि, साीतामाई आवि महादेवस्थान र लालिगुराँस प्राविबाट अनुगमन टोलीले सम्बद्ध प्रधानाध्यापकहरूलाई उल्लेखित अनुदान कोटामा नियुक्त गरेवापत प्रतिविद्यालय २५ हजारका दरले रकम असुलेर दामासायीले बाँडेका थिए ।

यसरी अनुदान कोटाका पत्र सम्बन्धित विद्यालयमा दर्तासमेत नगराई स्रोत–व्यक्तिको सहयोगमा विद्यालयबाट असुलिएको रकम फिर्ता गरी दोषीहरूलाई नियमसंगत कारवाही गर्न स्थानीय वासिन्दाले अख्तियारसमक्ष उजुरी दर्ता गराएका छन् ।