गर्भवती टुरिस्ट बेलायतलाई बोझ
जसरी व्यक्तिका जीवनमा विविध प्रकारका दु:खले सताउने गर्छ त्यसरी नै देशका पनि आफ्नै प्रकारका दु:ख हुन्छन् । सोच्दै नसोचेको विषय घाँडो बनेर देखापरेपछि देशलाई दुखाउँदोरहेछ भन्ने कुरा बेलायतले यतिबेला महसुस गरिरहेको छ । यसरी बेलायतलाई सताउने विषयचाहिँ गर्भ बोकेर बेलायत घुम्न आउने महिला पर्यटकहरू हुन् । गर्भवती पर्यटक किन यसरी टाउकोदुखाइको विषय बन्नपुगे भन्ने जिज्ञासा उठ्नु स्वाभाविक छ । कुरा के रहेछ भने ब्रिटेनमा व्यवस्था गरिएको नेसनल हेल्थ स्किम (एनएचएस)अन्तर्गत महिलाले नि:शुल्क डेलिभरी सेवा पाउने र प्रेग्नेन्सीपछिका स्वास्थ्यसम्बन्धी शुल्कमा पनि भारी छुट दिइएको हुनाले विदेशी महिला डेलिभरी हुने बेला मिलाएर बेलायतको यात्रा गर्न पुग्ने क्रम पछिल्लो चरणमा निकै बढेको रहेछ । यसप्रकारको ‘म्याटर्निटी टुरिजम’को कारण समस्या यतिसम्म बढ्न पुगेछ कि केही दिनअघि त लगभग तीन सयको सङ्ख्यामा प्रेग्नेन्ट महिलालाई बेलायतले एयरपोर्टमै रोक्नुप-यो । खासगरी युरोपियन देशहरू रोमानिया, बुल्गेरिया तथा पश्चिमी अफ्रिकाली महिलाहरू यसरी रोकिने समूहमा रहेका थिए भने बेलायती अध्यागमन विभागको यस कार्यको सामाजिक सञ्जालहरूमा निकै चर्चा हुन पुग्यो । ३६ हप्ताभन्दा बढी समय भएका गर्भवतीलाई कुनै पनि एयरलाइन्सले यात्रा गर्न नदिने प्रचलन भए पनि कसरी त्यतिका सङ्ख्यामा गर्भवतीहरू बेलायतसम्म पुग्न सके भनेर खोजीनिती गरिँदा त बेलायतको उडान भर्न त्यस्ता महिलाले डाक्टरको नक्कली प्रमाणपत्र बनाएको पाइयो । बेलायती स्वास्थ्य विभागले आफ्नो देशको उक्त स्वास्थ्य नीति ‘राष्ट्रियस्तरको मात्र हो नकि अन्तर्राष्ट्रियस्तरको’ भन्दै ‘म्याटर्निटी टुरिजम’ले ठूलो समस्या पैदा गरेको जनाएको छ ।
उल्लुले मालिक्नीलाई नै बनायो गुलाम
ढङ्ग पु-याएर काम गर्न नजान्ने हुस्सु प्रकृतिको व्यक्तिलाई विशेषण दिनुपर्दा हाम्रो समाजमा ‘उल्लु’ अर्थात् लाटोकोसेरो भनेर उल्ल्याउने प्रचलन छ । यसरी होस्ल्याङे व्यक्तिका निम्ति विशेषण बनेको उल्लुले मानिसलाई गुलाम बनायो भन्ने सुनियो भने यो कुरा कति पत्यारिलो होला, आफैंमा प्रश्न उब्जिन्छ । तर, एक युरोपियन महिलालाई एउटा एसियन मूलको उल्लुले आफूले चाहेअनुसार गर्न लगाएर गुलामतुल्य बनाएको छ । ‘मेट्रो’मा प्रकाशित समाचारका अनुसार उक्त पाल्तु उल्लुको नाम ‘हारु’ राखिएको छ भने त्यसलाई पालेर मालिक्नी बन्न चाहेकी तर प्रकारान्तरले गुलाम बन्न पुगेकी महिलाको नाम नताशा बेल्च हो । सो लाटोकोसेरोको उमेर सात महिना मात्र पुगेको नताशाको भनाइ छ । यस छोटो अवधिमै हारुले आफूमा ठ्याम्मै मान्छेको जस्तो बानी–व्यहोरा सिकेको छ । हारुले दिनमा दुईवटा मुसा र अन्य खानेकुरा खाने गरेको उल्लेख गर्दै सुरुदेखि नै आफ्नै बच्चाझैँ माया गरेर पालेकाले भोक लाग्दा उसले बच्चाले जस्तै रोएर खानेकुरा माग्ने गरेको अनुभव सुनाउँछिन् नताशा । वास्तवमा उक्त पाल्तु उल्लुले आफ्नो लोभलाग्दो हठमार्फत नताशालाई पागल नै बनाइदिएको छ । उनी उसको हठप्रति यति नतमस्तक बन्न पुगेकी छिन् कि आफूलाई पटक्कै मन नपर्ने टेलिसिरियल र स्पोर्टस्सम्बन्धी लाइभ कार्यक्रम उनी उक्त लाटोकोसेरोकै कारण हेरिदिन्छिन् । भएछ के भने घरमा बसेर टीभी हेर्दाहेर्दै त्यस्ता कार्यक्रमहरूमा लाटोकोसेरोलाई लत बसेछ । जब नताशा आफूलाई मनपर्ने अन्य च्यानल खोल्छिन् अनि ‘हारु’ त्यो बन्द गरेर टेलिसिरियल वा खेलकुदका कार्यक्रम भएको च्यानल लगाउन घुक्र्याउन थाल्छ र आफूलाई मन नपरे पनि विवश भएर उनी लाटोकोसेरोको इच्छाअनुरूपको च्यानल लगाइदिन्छिन् । यसरी टीभी हेर्न पाएपछि मख्ख पर्ने हारुको स्वभाव बनेको छ भने नताशाचाहिँ उसको गुलामसरह बन्न पुगेकी छिन् ।
ताजा माछाका निम्ति यौन–दान !
अचम्म लाग्ने परम्पराहरूका कारण केन्या हरदम चर्चामा रहँदै आएको अफ्रिकी मुलुक हो । विभिन्न अनौठा प्रचलनमध्ये ‘ताजा माछाका निम्ति सेक्स’ परम्परा पनि केन्यामा एक विशेष प्रचलनका रूपमा रहेको छ । केन्याका तटीय (समुद्री या नदीकिनार) क्षेत्रमा रही ताजा माछाको व्यवसाय गर्ने महिलाहरू स्थानीय भाषामा ‘जाबोया’ भनिने यस्तो प्रचलनको सिकार बन्दै आएका छन् । पसलमा राखेर बिक्री गर्नका लागि जब स्थानीय माझीहरूकहाँ उनीहरू माछा लिन जान्छन्, माझीलाई यौन सम्पर्क राख्न दिएपछि मात्र सम्बन्धित महिलाले माछा हासिल गर्छिन् । तर, परम्पराकै रूपमा स्थापित यस प्रथामा पछिल्लो चरणमा तब धक्का लाग्न पुग्यो जब पश्चिमी केन्याको लेक भिक्टोरिया इलाकामा व्यापक रूपमा एचआईभी÷एड्स फैलियो । एड्सको प्रकोप बढेपछि त्यहाँका महिलाले ‘जाबोया’विरुद्ध कम्मर कसेका छन् । स्थानीय अखबारका अनुसार वास्तवमै माछाको निम्ति सेक्स प्रथाबाट उन्मुक्ति चाहेका छन् केन्याली महिलाले । भिक्टोरिया इन्स्टिच्युट फर रिसर्च एण्ड इन्भारोमेन्ट इन्टरनेसनल नामक संस्थाले माछाको व्यवसाय गर्ने महिलालाई निजी तवरमा माछा मार्ने एउटा डुङ्गा उपलब्ध गराइदिने एक प्रोजेक्ट नै सुरु गरेको छ, ताकि ताजा माछाको निम्ति कुनै पुरुषलाई उनले आफ्नो यौन पस्किन नपरोस् । ‘जाबोया’ परम्परा समाप्त भएमा केन्यामा एड्सको मामलामा निकै कमी आउने विश्वास सो संस्थाले गरेको छ ।
नब्बे वर्षमा डाक्टरको उपाधि
उमेरले पचास नकट्दै बुढेसकाल लागेको सोच–व्यवहार प्रकट गर्नु–गराउनु हाम्रोजस्तो समाजमा साधारण कुरा हो । यस्तो समाजले कुनै नब्बे वर्षका व्यक्तिले लेखपढ गरेर पीएचडी उपाधि हासिल गर्ने सोचै मात्र पनि राख्दैन । तर, लण्डनका एक नब्बे वसन्त देखिसकेका बुज्रुक भने स्कुल छोडेको ७४ वर्षपछि पीएचडी गरेर संसारभरकै पाका व्यक्तिका निम्ति प्रेरणाको स्रोत बनेका छन् । दोस्रो विश्वयुद्धमा सहभागी भएका र त्यसपछि पनि स्कुलटिचर बनेर २० वर्ष गुजारेका एरिक वुफ लण्डनका एक मजदुरका छोरा थिए, जसले जीवन गुजाराका लागि १६ वर्षको उमेरमै स्कुलको पढाइ छोडेर मजदुरी सुरु गरेका थिए । पढाइमा अब्बल रहे पनि काम गरेर परिवारमा आर्थिक योगदान पु-याउन उनका बाबुले दिएको निर्देशन मान्दै उनी नोकरीमा लागे । ३९ वर्षको उमेरमा सेनाबाट अवकाश पाएपछि उनले गणितका शिक्षकका रूपमा अर्को २० वर्ष गुजारे । त्यसपछि उनमा पढाइ पूरा गर्ने धुन सवार भयो । पढ्ने र पढाउने काममा अत्यन्तै आत्मसन्तुष्टि मिल्ने अभिव्यक्ति दिने एरिक वुफले सन् २००३ मा इस्ट एन्जेलिया विश्वविद्यालयबाट एमए गरे । पुन: २००८ मा क्युम्बरिया विश्वविद्यालयमा पढाइ सुरु गरेका उनले ल्यान्सेस्टर विश्वविद्यालयबाट पीएचडीको उपाधि प्राप्त गरे । यसरी नब्बे वर्ष पुग्दा पनि अझै पढ्ने र पढाउने अभिलाषा जगाइराखेका डा. वुफ आफू अत्यन्त स्वस्थ रहेको दाबी गर्छन् ।
प्रतिक्रिया