आज बाबुको मुख हेर्ने दिन, गोकर्णेश्वरमा पिण्डदान गर्नेको भीड

आज बाबुको मुख हेर्ने दिन, गोकर्णेश्वरमा पिण्डदान गर्नेको भीड


भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ ।

पितृ तीर्थधाम एवं उत्तरगया भनेरसमेत चिनिने यस स्थलमा आई आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ । यही विश्वासमा देशका विभिन्न भागबाट आएका लाखौँ भक्तजनको बिहानैदेखि भीड लागेको मन्दिरका पुजारी जगदीश भट्टले राससलाई जानकारी दिए । कति भक्तजन शनिबार बेलुकी नै मन्दिर परिसरमै आएर बसेका थिए ।

आज बिहान ८ बजेसम्म मघा तिथि रहेकाले त्यसपछि तीर्थ श्राद्ध गर्न सकिने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । वैदिक सनातन हिन्दू र बौद्ध धर्मावलम्बी आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा भक्तिपूर्वक जलदान एवं पिण्डदान गर्न आज यहाँ भेला भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धले जोरपाटी चोकबाट सुन्दरीजलतर्फ चल्ने सवारीसाधनलाई जोरपाटीबाटै फर्काइदिएको छ । यसकारण भक्तजन र यात्रु लामो दूरीसम्म पैदल यात्रा गर्न बाध्य छन् ।