विदेशको कमाइले स्वदेशमा ‘सुपरमार्केट’

विदेशको कमाइले स्वदेशमा ‘सुपरमार्केट’


पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल (सुपरमार्केट) खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन भएका छन् ।

दाङमा अहिलेसम्मकै ठूलो लगानीमा टी–मार्ट सञ्चालन भएको छ । घोराही उपमहानगरपालिका–१५ को भिग्रेली चोकमा दुई युवाले संयुक्त लगानीमा टी–मार्ट सञ्चालन गरेका हुन् । घोराही–२ का टीकाराम रावत र घोराही–१८ का पूर्णबहादुर रोकामगरले विदेशबाट कमाएर ल्याएको पैसा संयुक्त रूपमा लगानी गरी जिल्लाकै ठूलो सुपरमार्केट सञ्चालन गरेका हुन् ।

टी–मार्टमा खाद्यान्न, घरेलु प्रयोजनका सम्पूर्ण सामान, घरायसी, सौन्दर्य सामग्री, शैक्षिक साम्रगी, तरकारी, फलफूल, दूध, दही, मासु र तयारी नास्ताका परिकारसमेत पाइने सञ्चालक पूर्णबहादुर रोकामगरले बताए । टी–मार्टमा थप १३ जनालाई रोजगारीसमेत दिएको उनले बताए ।

टी–मार्टको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले शनिबार उद्घाटन गरे । वैदेशिक रोजगारीको कमाइ घरजग्गा खरिद तथा अनुत्पादक क्षेत्रमा खर्च गर्ने परिपाटी धेरै रहेको भन्दै भुसालले जिल्लामा सुपरमार्केट सञ्चालन हुनु घोराहीको व्यापारिक क्षमतामा वृद्धिको संकेत देखिएको बताए । अहिले दाङमा रु. २०–२२ लाखदेखि दुई करोडसम्मको लगानीमा सुपरमार्केट सञ्चालनमा छन् । २०६७ सालमा घोराहीमा खुलेको जिल्लाकै पहिलो राप्ती सुपरमार्केट पछि ‘नुनदेखि सुन’ सम्म पाइने भएकै कारण सुपरमार्केटको लोकप्रियता बढ्दै छ ।