ट्राफिक व्यवस्थापन चुस्त बनाउन प्रहरी प्रमुखको निर्देशन

ट्राफिक व्यवस्थापन चुस्त बनाउन प्रहरी प्रमुखको निर्देशन


प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक व्यक्तिको ध्यान ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली एवं आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको आज (आइतबार) बिहान अनुगमनका क्रममा उनले उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकोले यसलाई सहज बनाउन निश्चित कार्ययोजना बनाएर अगाडि बढ्न महाशाखालाई आग्रह गरे ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख र काठमाडौं उपत्यकामा आठ लाख सवारीसाधन आवातजावत गर्दछन् । उनले सवारी चाप घटाएर यातायात आवागमनलाई सहज तुल्याउँदै जनताको इच्छा–आकांक्षाअनुुसार ट्राफिक प्रहरी चल्नुपर्ने बताए ।

खनाल प्रहरी महानिरीक्षक हुनुभन्दा पहिला महाशाखाको प्रमुखका रूपमा कार्यरत थिए । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महाशाखाले गरेको कार्यप्रगतिबारे अवगत गराएका थिए ।