सुकुम्वासी बस्तीमा लागेको आगो एपीएफद्वारा नियन्त्रण

सुकुम्वासी बस्तीमा लागेको आगो एपीएफद्वारा नियन्त्रण


काठमाडौं महानगरपालिका–९ सिनामंगल गैरीगाउँ स्थित बागमती नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा आज दिउँसो भएको आगलागी एपीएफ टोली, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।

सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा (विपद् उद्धार) काठमाडौं नम्बर २० गणबाट सशस्त्र प्रहरी उपरीक्षक राघवसिंह थापाको कमाण्डमा ९० जनाको विपद् उद्धार टोली खटिई गई आगलागी नियन्त्रणमा जुटेको थियो ।

एपीएफ टोलीले जुद्ध बारुण यन्त्रको कार्यालयबाट गएको एउटा दमकलको सहयोगमा सो आगलागी तत्कालै नियन्त्रणमा ल्याएपछि अन्य बाँकी टहराहरुमा आगो फैलन नपाई थप क्षति हुनबाट जोगिएको छ ।

सोही ठाउँमा रहेको एउटा टिनले छाएको टहरामा बालीराखेको दियोबत्तीबाट सल्किएको आगोले सो टहरामा आगलागी भएको बताइएको छ । उक्त टहरासँगै रहेको अर्को एक टिनले छाएको टहरा समेत जलेर पूर्ण रुपमा क्षति भएको छ ।