घुस्याहा कर्मचारीलाई मेयर पराजुलीले नै समाते

घुस्याहा कर्मचारीलाई मेयर पराजुलीले नै समाते


विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले काम गरेबापत सेवाग्राहीसँग घुस लिने आफ्नै कर्मचारी तिलकमणि पोखरेललाई समातेका छन् ।

घर जग्गा सम्पत्ति कर शाखामा कार्यरत पोखरेललाई सेवाग्राहीबाट घुस लिएको सूचना पाएपछि पराजुलीले पक्राउ गरेका हुन् ।

पोखरेलले एक निजी विद्यालय निर्माण सम्पन्न प्रमाणपत्र बनाउन सेवाग्राहीबाट साढे ११ हजार रुपैयाँ घुस लिएका थिए । पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय, इटहरीमा बुझाउने तयारी भइरहेको बताइएको छ ।

पोखरेलले अर्किड स्कुलको नयाँ बनेको भवन निर्माण सम्पन्नताको कागज बनाउन सञ्चालिका मीना शाक्यसँग शुरुमा १ लाख रुपैयाँ मागेका थिए । तर, पछि सो काम ८५ हजार रुपैयाँमै मिलाइदिने भन्दै ८५ हजार लिएर ७३ हजार ५५५ रुपैयाँ राजस्व काटेर ११ हजार ४ सय ४५ आफैँले राखेका थिए ।

विराटनगर महानगरपालिका ३ का स्थायी बासिन्दा पोखरेल ०५४ देखि सोही कार्यालयमा कार्यरत छन् ।