हात्तीले दुःख दिएपछि विद्युतीय तारबार

हात्तीले दुःख दिएपछि विद्युतीय तारबार


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको झुण्डले पुऱ्याउने क्षति न्यूनीकरणका लागि यहाँको बेदकोट नगरपालिकाले पहल गर्ने भएको छ ।

हात्ती बस्ती छिर्ने सम्भावित क्षेत्रको पहिचान गरी विद्युतीय तारबार ( इलेक्ट्रिक फेन्सिङ) गर्ने योजना नगरपालिकाले बनाएको हो । नगरपालिकाले नयाँ गाउँ, चथरी, चम्फापुर, रडहा, हात्तीथलालगायत क्षेत्रमा विद्युतीय तारबार गर्ने जनाएको छ ।

तारबारका लागि नगरपालिकाले रु. ४५ लाख विनियोजन गरेको छ । ‘मानवीय, भौतिक र कृषिजन्य वस्तुमा हात्तीले पु¥याउने क्षति कम गर्न विद्युतीय तारबार गर्ने तयारी गरेका छौँ,’ नगरपालिकाका प्रमुख अशोककुमार चन्दले भने ।

नगरपालिकाको रकमले मात्रै पूरै क्षेत्रमा विद्युतीय तारबार गर्न सम्भव नभएकाले प्रदेश सभा सदस्य लालबहादुर खड्कासँग यस विषयमा छलफल गर्दा उनले सहयोगको अश्वासन दिएको पनि नगर प्रमुख चन्दले जानकारी दिए । गत वर्ष मात्रै नगरपालिकाको रु. १० लाखको लागतमा हात्तीको झुण्ड छिर्ने केही ठाउँमा विद्युतीय तारबार गरिएको थियो ।

गत शनिबार मात्रै हात्तीको झुण्डले नगरपालिका–१० अन्तर्गत पर्ने चथरी र नयाँ गाउँका एक दर्जनभन्दा बढी किसानले लगाएका धानबालीमा खाएर र कुल्चेर नोक्सानी पुऱ्याएको थियो । तीन दिनदेखि लगातार नयाँ गाउँ र चथरीका किसानको खेतमा छिरेर हात्तीको झुण्डले नोक्सानी पुऱ्याउँदै आएको वडाध्यक्ष गणेश विकले बताए ।

मिहिनेत गरी लगाएको धानबाली हुर्कंदै गएका बेला हात्तीले नोक्सानी पुऱ्याउन थालेपछि चिन्तित भएका स्थानीय किसान वर्षाको पर्वाह नगरी किसान रातभर तिनलाई भगाउन जाग्राम बस्ने गरेका छन् । पाँच वर्षयतादेखि लगातार भारतको दुधुवा नेसनल पार्कबाट निकुञ्ज हुँदै बस्तीमा छिर्ने हात्तीको झुण्डले धान र गहुँबालीमा नोक्सानी गर्दै आएकाले तिनलाई भगाउन स्थानीय प्रशासनले सुरक्षाकर्मीसमेत परिचालन गर्दै आएको छ ।

प्रदेश ७ का प्रदेश सभा सदस्य लालबहादुर खड्का, नगरप्रमुख चन्द र वडाध्यक्षसहितको टोलीले शनिबार हात्तीले नोक्सानी पुऱ्याएको किसानको खेतको निरीक्षणसमेत गरेका थिए ।