मस्तिष्कघात रोकथाम सम्भव छ -सम्झना शाक्य

मस्तिष्कघात रोकथाम सम्भव छ -सम्झना शाक्य


मानिसको मस्तिष्कमा रगत सञ्चालनमा अवरोध आएको अवस्थालाई मस्तिष्कघात भनिन्छ । यो विभिन्न कारणले हुन्छ । मस्तिष्कमा रगत सञ्चालन गर्ने रक्तनलीभित्र रगत जमेर रगत सञ्चालनमा अवरोध आएमा यसलाई इस्केमिक बे्रन स्ट्रोक भनिन्छ भने रक्तनली नै फुटेमा हुने मस्तिष्कघातलाई हेमोरेजिक बे्रन स्ट्रोक भनिन्छ । कहिलेकाहीँ मस्तिष्कमा छोटो समयका लागि मात्र रगत सञ्चालनमा अवरोध आउने हुन सक्छ जसको असर पनि तुलनात्मक रूपमा अन्य बे्रन स्ट्रोकको भन्दा न्यून हुन्छ, त्यसलाई मिनी स्ट्रोक पनि भनिन्छ । मिनी स्ट्रोकपछि ठूलो स्ट्रोक पनि हुन सक्छ । मस्तिष्कघातको प्रमुख असर भनेको पक्षाघात हुनु हो । यसमा मानिसको शरीरका कुनै पनि अङ्गले राम्ररी काम गर्न नसक्ने हुन्छ । जस्तो दायाँ वा बायाँ पाटा नचल्ने, कम्मरमुनिको भाग नचल्ने, मुख बाङ्गो हुने, अनुहार बटारिने, एक वा दुवै आँखाले नदेख्ने आदि असरहरू हुन सक्छन् । मस्तिष्कघातको असर अकस्मात् हुने गर्दछ । जस्तो कोही मानिस चर्पीमा लडेको, हिँड्दाहिँड्दै लडेकोजस्ता कुराहरू हामी सुन्ने गर्दछौँ ।
नेपालमा सन् २००६ मा एक नशारोगसम्बन्धी जर्नलमा प्रकाशित तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष ५० हजारजति मानिसलाई मस्तिष्कघात हुने गर्दछ जसमा १५ हजारजतिको मृत्यु हुने गर्दछ । त्यसै वर्षमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको अध्ययनमा चार वर्षमा ६८३ मानिसहरू मस्तिष्कघातका कारण अस्पताल भर्ना भएका थिए । तीमध्ये १७ प्रतिशत बिरामीहरूको मृत्यु भएको थियो । नेपालमा हेमोरेजिक मस्तिष्कघात भएका बिरामी धेरै पाइएको छ जसमा मस्तिष्कलाई रगत पुर्‍याउने रक्तनली फुटेर मस्तिष्कभित्र रक्तश्राव हुने गर्दछ । यस्तो किसिमको मस्तिष्कघात विशेषगरी उच्च रक्तचाप भएका बिरामीमा भएको पाइन्छ । हुन त मस्तिष्कघात बुढ्यौलीमा हुने जनविश्वास रहे पनि यो वयस्क उमेरमा पनि हुन सक्छ ।
मस्तिष्कघात हुने प्रमुख १० कारक तत्वहरू
मस्तिष्कघात विभिन्न कारणले गर्दा हुने गर्दछ । उच्च रक्तचाप, मधुमेह, बुढ्यौलीपना केही प्रमुख कारक तत्वहरू हुन् । केही कारक तत्वहरूलाई हामी नियन्त्रण गर्न सक्दैनौँ तर धेरैजसो कारकतत्वलाई नियन्त्रणमा राख्न सकिन्छ ।
w उमेर : ६५ वर्षभन्दा माथि उमेर भएका मानिसहरूमा मस्तिष्कघात हुने सम्भावना हुन्छ ।
w लिङ्ग : महिलाहरूमा भन्दा पुरुषहरूमा केही मात्रामा मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ ।
w वंश : परिवारका सदस्यहरूलाई मस्तिष्कघात भएको छ भने त्यस्ता परिवारका अन्य सदस्यहरूमा पनि मस्तिष्कघात हुने सम्भावना रहन्छ ।
w मधुमेह : मधुमेह भएका मानिसहरूलाई पनि मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ ।
w उच्च रक्तचाप : उच्च रक्तचापलाई मस्तिष्कघातको प्रमुख कारकतत्वको रूपमा लिइन्छ । उच्च रक्तचापले रक्तनलीभित्र घाउ बनाएर त्यहाँ फोहोर तथा बोसो जम्मा हुन सक्ने सम्भावना बढाउँछ जसले गर्दा रक्तनल्ाी बन्द भएर इस्केमिक मस्तिष्कघात हुन सक्छ । त्यसैगरी उच्च रक्तचापले रक्तनलीहरू फुटेर मस्तिष्कभित्र रक्तश्राव हुने सम्भावना पनि बढी हुन्छ ।
w मध्यपान : अत्यधिक मात्रामा मध्यपान गर्ने मानिसलाई पनि मस्तिष्कघात हुन सक्छ ।
w रगतको बाक्लोपना वा पातलोपना : रगतको बाक्लोपनामा गडबढी अर्थात् रगत बाक्लो भएका मानिसहरूमा पनि मस्तिष्कघात हुन सक्छ । हेमोफेलिया, सिकल सेल एनिमिया भनिने रोगहरूमा रगत बाक्लो हुन्ो हुन्छ । त्यस्तैगरी मुटुको भल्भ फेरेर रगत पातलो गराउने औषधि खाइराखेका बिरामीहरूमा पनि रगत धेरै नै पातलो भएको अवस्थामा मस्तिष्कघात हुन सक्छ । त्यस्ौले यस्ता रोगहरू भएका मानिसहरूले बरोबर रगतको पातलोपना वा बाक्लोपनाको जाँच गराइराख्नु जरुरी हुन्छ ।
w धुम्रपान : धुम्रपान गर्ने मानिस पनि धेरै हिसाबले मस्तिष्कघातको जोखिममा पर्दछन् । पहिलो त यसले रक्तनलीभित्र फोहोर जमाउन मद्दत गर्दछ । दोस्रो यसले रक्तचाप ह्वात्त बढाइदिन सक्छ । त्यस्तैगरी रगत जम्ने सम्भावना पनि धुम्रपान गर्ने व्यक्तिहरूमा धेरै हुन्छ ।
w मुटुको चालको गडबढी : मुटुको चाल गोलमाल भएको अवस्था, विशेषगरी एटि्रयल फिब्रिलेसन भन्ने अवस्था जसमा मुटुका माथिल्ला दुई च्याम्बर राम्ररी पम्प भएका हुँदैन यस्तो बेलामा पनि मस्तिष्कघात हुन सक्दछ । यसरी मुटुको चाल गोलमाल भएको बेला मुटुभित्र रगत जम्ने सम्भावना हुन्छ । यसरी जमेको रगतको सानो टुक्रा उछिट्टएिर मस्तिष्कको रक्तनलीमा अवरोध गरिदियो भने मस्तिष्कघात हुन्छ ।
w मुटुरोगहरू : त्यसैगरी हृदयाघात भएका बिरामीहरू, मुटुको भल्भको समस्या भएका बिरामीहरू र हर्ट फेल भएका बिरामीहरूमा पनि मस्तिष्कघातको सम्भाबना रहन्छ ।
मस्तिष्कघातका प्रमुख लक्षणहरू
शारीरिक कमजोरी : शरीरको कुनै भाग कमजोर भएर नचल्ने हुन सक्छ । जस्तो दायाँ वा बायाँ आधा पाटो नचल्ने । कम्मरमुनिको भाग नचल्ने आदि । यो मस्तिष्कको कुन भागमा असर पुगेको छ त्यसमा भर पर्दछ ।
बोली लर्बराउने : बिरामीले बोल्न नसक्ने, बोली लर्बराउने वा बोलेको कुरा नबुभ\mने हुन सक्दछ । बिरामीको मुख बाङ्गो भएको पनि हुन सक्छ । हामीले बोलेको कुरा बिरामीले नबुभ\mने पनि हुन सक्छ ।
दृष्टिमा समस्या : बिरामीको एक वा दुवै आँखाको हेर्ने शक्तिमा अल्पकालीन वा दीर्घकालीन रूपमा असर पर्न सक्छ ।
टाउको दुख्ने : बिरामीलाई मस्तिष्कघात हुने बेलामा वा भइसकेपछि अकस्मात् असह्य टाउको दुख्ने हुन सक्छ ।
मानसिक असन्तुलन : बिरामीलाई मस्तिष्कघात भइसकेपछि मानसिक असन्तुलन पनि हुन सक्छ । बिरामीको स्मरण शक्ति, अध्ययन गर्ने शक्तिमा ह्रास आउनुको साथै बिरामीलाई तनाव हुने, आवेगमा आउने आदि समस्या पनि हुन सक्छ ।
अन्य लक्षणहरू : त्यति मात्र होइन बिरामीलाई खान, निल्न, दिसा-पिसाब गर्नसमेत समस्या हुन सक्छ । मस्तिष्कघात भइसकेका बिरामीहरू अरूप्रति निर्भर हुने गर्दछन् । उनीहरूको कार्यक्षमतामा कमी आउँछ । उनीहरूको रोजगारी पनि सङ्कटमा पर्ने गर्दछ ।
कसैलाई मस्तिष्कघात भएको शङ्का लागेमा तुरुन्तै आकस्मिक सेवा भएको नजिकैको अस्पतालमा गइहाल्नुपर्छ । बिरामीको टाउकोको सीटी स्क्यान, एमआरआईजस्ता विशेष किसिमको एक्स-रे परीक्षण गरेर कुन किसिमको मस्तिष्कघात हो, मस्तिष्कको कुन भागमा असर गरेको छ, कत्तिको गम्भीर अवस्था छ भनी पत्ता लगाउन सकिन्छ । बिरामीलाई मस्तिष्कघात भएलगत्तै अर्को मस्तिष्कघात पनि नहोस् भन्ने हेतुले रगत पातलो गर्ने, रक्तचाप बढ्न नदिने खालका औषधिहरू दिइन्छ । मस्तिष्कघात भएका बिरामीलाई नशारोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरूद्वारा उपचार गराइन्छ । त्यसैगरी पक्षाघात भएका बिरामीहरूलाई बिस्तारै पुनर्स्थापना कार्यक्रमद्वारा प्रभावित भागको शक्ति पुन: फर्काउने विभिन्न उपाय गरिन्छ । बिरामीको पुनर्स्थापनाका लागि नशारोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरू, विशेषज्ञ फिजियोथेरापिष्टहरू, नर्सहरू तथा परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
मस्तिष्कघातको रोकथामका लागि स्वस्थ जीवनशैलीका सात उपाय
१. आप\mनो रक्तचाप जाँच गराउनुहोस् । उच्च रक्तचापलाई हेला नगर्नुहोस् । चिकित्सकको सल्लाहबमोजिम आवश्यक परेको खण्डमा उच्च रक्तचाप नियन्त्रणसम्बन्धी औषधि खान नहिच्किचाउनुहोस् ।
२. मुटुको चाल गोलमाल भएको अवस्थालाई औषधि खाएर तथा सम्बन्धित चिकित्सकको नियमित फलो अपमा रहेर नियन्त्रणमा राख्नुहोस् ।
३. मधुमेह तथा उच्च कोलेस्टेरोललाई नियन्त्रणमा राख्नुहोस् ।
४. धुम्रपान गर्ने बानी छ भने आजैबाट त्याग्नुहोस् ।
५. अत्यधिक मदिरापान गर्ने बानी छ भने त्यस्ता मदिराजन्य पेयपदार्थको मात्रामा कम गर्नुहोस् ।
६. नुन तथा चिल्लो सकेसम्म कम खानुहोस् ।
७. नियमित व्यायाम गर्ने बानी बसाल्नुहोस् ।
मस्तिष्कघातको शारीरिक, मानसिक तथा सामाजिक समस्या हुने हुँदा यस रोगले जनस्वास्थ्यको हिसाबमा धेरै महत्व राख्दछ । हिजोआज वयस्क मानिसहरूमा यो समस्या हुने हुँदा यसको असर अझ धेरै पर्न जान्छ । यसका कारकतत्वहरूलाई पुनरावलोकन गर्ने हो भने धेरै कारकतत्वहरू परिवर्तन गर्न सकिन्छ । नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोलजस्ता समस्या किशोरावस्था र वयस्क अवस्थाकै मानिसहरूमा पनि देखिन थालेको छ । यस्ता उमेर समूहका मानिसहरूमा उपचार गर्नुपर्छ भन्ने सचेतना कम पाइएको छ । एक त यी रोगहरूको कुनै ठूलो लक्षण हुँदैन भने अर्को कुरा यति उमेरदेखि औषधि खानुहुँदैन भन्ने एउटा नकारात्मक अवधारणा छ जसले गर्दा धेरैजना भर्खरका उमेरका मानिसहरूले मस्तिष्कघातबाट अकालमा ज्यानै गुमाउनुपरेको वा परनिर्भर हुनुपरेको अवस्था छ । आजको समयमा हामी सबैले स्वस्थ जीवनशैली अपनाउनु अत्यन्तै जरुरी छ त्यसमध्ये पनि माथि उल्लेख गरिएको कारकतत्वरूपी रोग भएका व्यक्तिहरूले कत्ति पनि आप\mनो अवस्थालाई हेलचेक्य्राइँ गर्नुहुँदैन । मस्तिष्कघात नभएसम्म आफूलाई केही हुँदैन भन्ने सोचाइ रहे पनि अकस्मात् भइसकेपछि हाम्रो वशमा धेरै गर्न सकिने कुराहरू हुँदैन । मस्तिष्कघात रोकथामका लागि समयमा नै सचेत हुनु, आप\mना रोगहरूको उपचार गराउनु, स्वस्थ खानपान तथा रहनसहनमा रहनु नै मूलमन्त्र हो । यी सबै कुराहरूलाई ध्यानमा राखेमा मस्तिष्कघातको रोकथाम सम्भव छ ।