श्रीमतीले थाहै नपाई कसरी भयो सम्बन्ध विच्छेद ?

श्रीमतीले थाहै नपाई कसरी भयो सम्बन्ध विच्छेद ?


श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर स्याङ्जामा श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ । आफूलाई थाहा नै नदिइ श्रीमानले सम्बन्ध विच्छेद गरेको भन्दै आज स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिएपछि घटना प्रकाशमा आएको हो ।

उजुरी दिँदै गर्दा मीनाकुमारी रुँदै भनिन्, ‘मलाई थाहा नै नदिइ कसरी सम्बन्ध विच्छेद भयो, मलाई न्याय चाहियो ।’

भिरकोट नगरपालिका– ३ निवासी श्रीमान् मोहनकुमार क्षेत्रीले जालसाजी गरेर सम्बन्ध विच्छेद गराएको भन्दै मीनाकुमारीले उक्त अदालतमा हक कायम गराउन, जालसाजी र गाली बेइज्जतीको गरी तीनवटा मुद्दा दर्ता गराएकी छिन् ।

स्रेस्तेदार नन्दप्रसाद आचार्यलाई उद्धृत गर्दै राससले जनाएअनुसार आफूलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेकाले मुद्दा दायर गर्नुपरेको गुनासो गर्दै मीनाकुमारीले भनेकी छिन्, ‘मलाई थाहा नै छैन कसरी भयो सम्बन्ध विच्छेद । श्रीमानले कुटपिट गर्ने, खान लाउन नदिइ राम्रो व्यवहार नगरेपछि माइतीको सहयोगमा पोखरा बसेर दुःख गरी दुई छोरीलाई पढाउँदै आएको र छोरी कृष्टीले गत असार ११ गते जिल्ला अदालतमा अंश माग गर्दै मुद्दा दर्ता गर्दा मात्र आफ्नो सम्बन्ध विच्छेद भइसकेको भन्ने कुरा थाहा पाएपछि अहिले आफू श्रीमानका बिरुद्ध उत्रिन बाध्य भएकी हुँ ।’

विसं २०४४ मा आफूहरुको मागी विवाह भएकामा भारतीय सेनामा कार्यरत श्रीमानले विसं ०४६ मा अर्की विवाह गरेका र त्यो विवाहलाई ढाकछोप गर्न आफूलाई सँगै भारत लगेको र करीब दुई वर्ष भारतमा बसी एक छोरी जन्मिएपछि घर पर्किएको खुलासा पनि उनले गरिन् ।

घरमा आएपछि आफूलाई खान लाउन नदिने कुटपिट गर्ने गरेपछि माइतीको सहयोगमा पोखरा बस्दै आएकामा बिरुवा अर्चले–६ का राजेन्द्र अधिकारीसँग विसं २०५५ फागुन १३ गते अर्को विवाह गरेर गएको भनी झुठो विवरण बनाई अदालतले स्वतः सम्बन्ध विच्छेदको फैसला गरेकोे भन्दै मीनाकुमारीले यसबाट आफू अन्यायमा परेको र सम्बन्ध विच्छेदको कुरा छोरीले अंश मुद्दा दिएपछि मात्रै आफूले थाहा पाएको दाबी गरिन् ।

बिरुवा अर्चलेका राजेन्द्र अधिकारीलाई अहिलेसम्म देख्दा पनि नदेखेको र नचिनेको मान्छेसँग बिहे गरेर गएको भनी आफूलाई झुठो आरोप लगाएर अपमान गरेको उनको कथन छ ।

उक्त अदालतका स्रेस्तेदार आचार्यले भने, ‘बिरुवा अर्चले–६ का राजेन्द्र अधिकारीसंग विसं २०५५ फागुन १३ गते अर्को बिहे गरेर गएको भन्ने विवरण फिराद पत्रमा देखिएको, अदालतबाट म्याद जारी गरी सूचना लिएर जाँदा राजेन्द्र अधिकारी र मीनाकुमारी क्षेत्री घरजग्गा बिक्री गरी अन्यत्र गएकाले पिपलको रुखमा सूचना टाँस गरिएको र अदालतबाट दोस्रो पटक आदर्श समाज दैनिकमा विसं २०७३ पुुस १५ गते प्रकाशित पत्रिकामा म्याद जारी गरेको र विसं २०७४ वैशाख ६ गते सम्बन्ध विच्छेद हुने गरी फैसला भएको थियो ।’