ज्यान जोखिममा परेको भन्दै निर्मला हत्याकाण्ड छानबिन समितिका सदस्यले दिए राजीनामा

ज्यान जोखिममा परेको भन्दै निर्मला हत्याकाण्ड छानबिन समितिका सदस्यले दिए राजीनामा


निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले राजीनामा दिएका छन् । छानबिन समितिबाट राजीनामा दिन पर्नुको कारणमा उनले तथ्यमा आधारित भई काम गर्न चाहँदा आफ्नो हत्या हुन सक्ने परिस्थिति निम्तिएको सनसनीपूर्ण खुलासा गरेका छन् ।

प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव रहेका केसीले राजधानी काठमाडौंमा पत्रकारसम्मेलन पत्रकार सम्मेलन आयोजना गर्दै समितिको सदस्यबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।

छानबिनबारे थप भएको म्यादमा उनको असन्तुष्टि छ । आफूले निर्मलाको न्यायका लागि नै राजीनामा दिएको उल्लेख गर्दै अब समितिमा बसेर काम नगर्ने प्रण गरे ।

केसीले गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित पाँच सस्यीय उच्चस्तरीय छानविन समितिको छानबिनमा भने आफ्नो कुनै असन्तुष्टि नरहेको पनि बताए । वास्तविक अपराधी पहिचान गरी न्यायिक कठघरामा उभ्याइनेमा आफू पहिले विश्वस्त रहेको तर पछि विश्वासमा घात हुन लागेको अनुभूति गरेको आसय प्रकट गर्दै उनले भने, ‘वास्तविक अपराधीलाई पहिचान गरी न्यायीक कठघरामा उभ्याइनेछ भनेर म प्रतिदिन २० घण्टाको दरले छानबिन कार्यमा तल्लिन रहेँ । तोकिएको १५ दिनको समयावधिभित्रै प्रतिवेदन पेश गर्ने उद्देश्यका साथ प्रतिवेदनको मस्यौदा तयार पारेँ । डिएनए टेष्टको कम्प्लिकेशन, र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुनसक्ने सम्भावित दुर्घट्ना र अपराधी उम्कन सक्ने सम्भावनाबारे समितिसमक्ष बारम्बार आफ्ना धारणा राख्दै आएँ । मेरा धारणा र तथ्य ओझेलमा पर्न सक्ने सम्भावना देखेर जिम्मेवारीबाट हटेको जानकारी नेपाल सरकारसमक्ष पेश गर्न समितिका संयोजकमार्फत २०७५ भदौ १८ गते नै निवेदन पेश गरेको छु ।’

केसीले आफ्नो विज्ञप्तिमा भनेका छन्, ‘नेपाल सरकारको मिति २०७५ भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार २०७५ भदौ २५ गतेदेखि लागु हुनेगरि १५ दिन म्याद थप गरेको पत्र प्राप्त भएकोले यस सन्दर्भमा निर्मला पन्तको बर्वरतापूृक जघन्य अपराधको विरुद्धमा उभिई निर्मलाको आत्मालाई र निजको परिवारलाई यस समितिको सदस्यबाट न्याय दिन मेरो तर्फबाट असम्भव देखेर आज मिति २०७५ भदौ २५ गतेदेखि समितिबाट अलग रहेको व्यहोरा नेपाल सरकार, प्रदेश नम्बर ७ सरकार लगायत सम्बन्धित निकायहरुलाई जानकारी गर्दछु ।’

‘घटनाको छानबिनको क्रममा सत्य, तथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउन लागिपर्ने अठोटसँगै आफू क्रियाशील रहँदा मेरो ज्यान जोखिममा रहेको र शक्तिशाली अपराधीबाट मलाई जुनसुकै समयमा पनि हत्या गर्न सक्ने प्रवल सम्भावना रहेकाले, नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, युनाईडेट नेशन ह्युम्यान राईट्स अफिस अफ द हाई कमिशन, मानव अधिकार सम्र्वद्धन तथा प्रर्वद्धन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था, सञ्चार जगत नागरिक समाज र राजनीतिक दल लगायतलाई मेरो जीवन रक्षाको लागि सहयोग गरिदिन हार्दिक आग्रह गर्दछु ।’