नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झाको पुनर्नियुक्तिलाई लिएर सार्वजनिक रूपमा अनेक टीका–टिप्पणी भएका छन् । पहिलेको सरकारले गरेका सबै नियुक्ति बदर गर्ने क्रममा झा पनि परेका थिए र, पुनर्वहालीका निम्ति अदालतको शरणमा पुगेका उनले अचानक मुद्दा फिर्ता लिएका थिए । त्यसरी झाले मुद्दा फिर्ता लिएपछि सबैभन्दा नराम्रोसँग झस्किनेमा व्यापारी उपेन्द्र महतो परेका थिए ।
चौधरी समूहलाई पनि प्रसन्न राख्न नखोज्ने दिगम्बर झालाई प्राधिकरणमा पुनः नियुक्ति नहोस् भन्नका लागि महतोले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि चौतर्फी दबाब पैदा गरेका थिए । महतोले पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गराउन अनेकौँ प्रयास गरेका हुन् । त्यस्तै अर्का एकथरी व्यापारीले चाहिँ आनन्दराज खनाललाई बोकेर हिँडेको बताइन्छ । सरकारले दिगम्बर झालाई नियुक्त गर्ने सङ्केतहरू देखिएपछि उपेन्द्र महतो ‘अरू जसलाई नियुक्त गरे पनि झालाई चाहिँ नगरियोस्’ भनेर पनि लागेका थिए ।
तर, सरकारले यसपालि महतोलगायत कुनै पनि ठूला व्यापारीको कुरा सुनेन र झालाई नै नियुक्त ग¥यो, जब कि दिगम्बर झा आफैँ पनि राम्रो छविका मानिसमा पर्दैनन् । उनको विषयलाई लिएर अनेकौँ टीका–टिप्पणी हुने गरेको छ । तर, बाह्य छवि जे भए पनि दिगम्बर झालाई सरकारले आफ्नो अनुकूलताको व्यक्ति ठानेको छ । सरकारको योजना र कार्यक्रमलाई इमानदारीपूर्वक सहयोग पु¥याउने र महतोलगायत कुनै पनि ठूला व्यापारीको ‘दूत’ बनेर काम नगर्ने व्यक्तिका रूपमा झालाई सरकारले ग्रहण गरेको बताइएको छ । झाको नियुक्तिपछि उपेन्द्र महतोलगायत केही व्यापारी चिन्तित बनेको पाइएको छ ।
ज्ञातव्य छ, उपेन्द्र महतो राज्यका सबै महत्वपूर्ण निकायहरूमा ‘आफ्नो मान्छे राखेर’ व्यापार बढाउन उद्यत् व्यक्तिका रूपमा चिनिन्छन् । अदालत, अख्तियार, सुरक्षा निकाय र दूरसञ्चारको क्षेत्रमा आफ्नो मान्छे ‘फिट गर्न’ उनी सधैँ क्रियाशील भइरहेका हुन्छन् । सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्नबाट दीपकराज जोशीलाई वञ्चित गराउने महतोले ओमप्रकाश मिश्रलाई पनि रोकेर चोलेन्द्रशमशेर राणालाई उक्त पदमा नियुक्त गराउन प्रयास गरेका थिए । प्रचण्डसँग पछिल्लो समयमा निकै राम्रो सम्बन्ध बनाएका महतोले प्रचण्डकै आडमा मिश्रलाई रोकेर राणालाई नियुक्त गराउन खोजेका भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण उनी असफल भएका थिए । झालाई रोक्न गरिएको प्रयास पनि ओलीकै कारण सफल हुन नसकेको बुझिएको छ ।
प्रतिक्रिया