लादेनको अन्त्यले जन्माएको एउटा सवाल

लादेनको अन्त्यले जन्माएको एउटा सवाल


आतङ्कवादी सङ्गठन अल कायदाद्वारा संयुक्त अधिराज्य अमेरिकाको समृद्धिको एक प्रतीकका रूपमा रहेको टि्वनटावरमा गरिएको आतङ्ककारी हमलाको दस वर्षपछि अन्तत: उक्त आतङ्कवादी सङ्गठनका सरदार ओसामा बिन लादेन अमेरिकी सेनाद्वारा मारिएका छन् । ‘सेप्टेम्बर ११ को घटना’का रूपमा विश्व-इतिहासमा अङ्कित सो विध्वंशपूर्ण तथा विष्मयकारी घटनाका ‘मास्टर-माइन्ड’ लादेनको अन्त्य देख्न अमेरिकाजस्तो विश्वमहाशक्ति राष्ट्रले दस वर्ष पर्खनुपर्‍यो । तर, आतङ्कवादको अन्त्य निश्चित छ भन्ने धारणालाई सही सावित गर्दै शक्तिशाली अपराध-सञ्जालका नाइकेले आफ्नो कुकर्मको फल भोगेका छन् । अल कायदाविरुद्ध अमेरिकी लडाइँको महत्वपूर्ण उपलब्धिका रूपमा मात्र नभई यसलाई आतङ्कवादमाथि विश्व नै विजयी बनेको प्रतीकात्मक घटनाका रूपमा लिइएको छ ।
निश्चय पनि बिन लादेनको अन्त्यले आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय लडाइँको अगुवाइ गर्दै आएको अमेरिकालाई विशेष खुसी र राहत प्रदान गरेको छ । लादेनको मृत्युको खबरलगत्तै उत्सव मनाउन सडकमा उत्रिएका अमेरिकी जनताको उमङ्ग-उल्लासले अमेरिकी मन-मस्तिष्कमा लादेनको छवि कति नकारात्मक र घृणाका साथ गढेको रहेछ भन्ने र्छलङ्ग पारेको छ । अमेरिका मात्र नभई लादेनको अन्त्यलाई आतङ्कवादबाट पीडित विश्वभरका मुलुकद्वारा स्वागत गरिएको छ ।
तर, संसारका शान्तिकामी जनताबीच आतङ्कको पर्याय या प्रतीकका रूपमा डेरा जमाएका लादेनको अन्त्यलाई नै विश्वबाट आतङ्कवादको अन्त्य ठान्न भने सकिँदैन । हो, कुनै पनि सङ्गठनमा एक व्यक्तिको व्यक्तित्व, सामर्थ्य या सक्रियताले अहम् भूमिका निर्वाह गरेको हुनसक्छ । लादेन पनि आफ्नो स्थानमा त्यस्तै प्रभावकारी भूमिकामा रहेको विश्वास गरिन्छ, जसको अन्त्य आतङ्कवादका अनुयायीहरूका लागि गम्भीर धक्का सावित हुनसक्छ । तथापि, ँइस्लाम’को दुहाइ दिँदै विशेषत: अमेरिकाजस्तो सर्वशक्तिमान मुलुकसँग पौँठेजोरी खेल्ने दुस्साहसी सङ्गठन उसको मुखियाको भौतिक अन्त्यसँगै एकाएक अस्तित्वविहीन बन्न पुग्ला भनी विश्वास गर्न कठिन हुन्छ । यस अर्थमा आतङ्कवादी हमलाको खतरा एकप्रकारले झन् बढ्न पुगेको छ, किनकि विजयी सेनाभन्दा हारेका वा घाइते सेना खतरनाक हुन्छ भन्ने मान्यताअनुसार अल कायदा तथा अन्य आतङ्कवादी सङ्गठनहरू प्रतिशोधको कारबाहीमा उत्रने खतरा त्यत्तिकै बढेर गएको छ । त्यस्ता धम्कीपूर्ण चेतावनीहरू सार्वजनिक हुन थालिसकेका पनि छन् । लादेनलाई सिध्याउनकै लागि मात्र अमेरिकाजस्तो मुलुकले व्यहोर्नुपरेको खर्बौं डलरको खर्च र दशकभरको समय लगानीका आधारमा पनि अनुमान गर्न सकिन्छ कि ँलादेन एन्ड कम्पनी’ले आतङ्कको जरा कुन रूपमा गाडेको हुनसक्छ भन्ने । तर्सथ, अमेरिकी राष्ट्रपति बाराक ओबामाले दाबी गर्नुभएझैँ एकप्रकारले त लादेनको अवशानपछि विश्व अब सुरक्षित बनेको मान्न सकिएला तर आतङ्कवादविरुद्धको लडाइँमा हात बाँधेर सञ्चो मानी बस्ने अवसरका रूपमा लादेनको मृत्युलाई लिन पक्कै मिल्दैन ।
आतङ्कको पर्यायका रूपमा स्थापित बिन लादेनको मृत्युले यतिबेला जति महत्व र चर्चा पाएको छ, आतङ्कवादविरुद्ध जुझिरहेका अमेरिकालगायतका मुलुकहरूले त्यत्तिकै ध्यान पुर्‍याउनुपर्ने एउटा अत्यन्त ज्वलन्त सवाल पनि यतिबेला खडा हुन पुगेको छ । आतङ्कवाद जन्माउने, त्यसलाई मलजल गर्ने या आश्रय-पश्रय दिने मुलुकका रूपमा आरोपित हुँदै आएको पाकिस्तानकै एक बस्तीमा लादेन वर्षौंदेखि ऐस-आरामका साथ सुरक्षित रहिआएको पुष्टि भएको छ । आतङ्कवादबाट पीडित बन्दै आएको छिमेकी राष्ट्र भारतले पाकिस्तानको सन्देहपूर्ण भूमिकामाथि विश्वमञ्चमा बारम्बार औंला उठाउँदै आएको पनि जगजाहेर नै छ । तर, आतङ्ककारी या आतङ्कवादलाई पश्रय दिँदै आएको कुराको पाकिस्तानले लगातार इन्कार गर्दै आयो । भारतले झेलिरहेको आतङ्कवादको छिटाले नेपाललाई पनि अछुतो नछोडेको परिवेशमा नेपालले समेत यो विषयलाई संवेदनशील रूपमा लिनुपर्ने देखिन्छ । भारतले आफूमाथि मिथ्या आरोप लगाएको भन्ने पाकिस्तानी दाबी अन्तत: लादेन इस्लामावादनजिकको सहर अबटावादमा अवस्थित एक पाकिस्तानी आर्मी एकेडेमीसमीपको घरमा मारिएबाट छताछुल्ल हुन पुगेको छ । विश्वले नै ँमोस्ट वान्टेड टेरेरिस्ट’का रूपमा स्वीकार गरेको एक खतरनाक आतङ्ककारीलाई राज्यस्तरबाटै आरक्षित गरिएको घटनाका रूपमा यसलाई लिइएको छ । यो दोषबाट पाकिस्तानले सजिलै उन्मुक्ति पाउन सक्दैन र मिल्दैन पनि, विश्वसमुदायमाझ उसबाट चित्तबुझ्दो जवाफ अपेक्षित छ ।