‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी, महोत्तरी र धनुषाका किसान सिँचाइबाट वञ्चित

‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी, महोत्तरी र धनुषाका किसान सिँचाइबाट वञ्चित


सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएका छन् । ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न नपाएको गुनासो उनीहरूले गरेका छन् ।

मधेस प्रदेश भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महोतरीद्वारा महोत्तरी तथा धनुषाका विभिन्न ग्रामीण क्षेत्रमा जडान गरिएको डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएको सो कार्यालयले जनाएको छ ।

दुवै जिल्लाका डिपट्युवेलबाट चोरी भएका ट्रान्सफर्मर खोजी गर्न प्रहरी प्रशासनलाई पटक-पटक लिखित एवं मौखिक जानकारी गराए पनि कुनै पहल नभएको सिँचाइ विकास कार्यालयका अधिकारीले गुनासो गरेका छन् ।

चालु आर्थिक वर्षमा पाँचवटा तथा गत आवमा तीनवटा ट्रान्सफर्मर चोरी भएका हुन् । कार्यालयका इन्जिनियर अमलेश यादवका अनुसार चालु आवमा औरही गाउँपालिका-२, देउरीपरवाहा धनुषा, नगराईन नपा फुलगामा धनुषा, मटिहानी नगरपालिका-२ धिरापुर महोत्तरी, भङ्गाहा नगरपालिका-४ पशुपतिनगर महोत्तरी, वलवा नपा-९ अध्ययनपुर महोत्तरीमा जडान गरिएका डिपट्युवेलका ट्रान्सफर्मर चोरिएका हुन् ।

त्यसैगरी गत आव मा धनुषाधाम नपा-४ धनुषा, हंसपुर नपा-५ सुगानिकास धनुषा तथा नगराइन नपा फुलगामा जडान भएका ट्रान्सफर्मर हराएका थिए । एउटा ट्रान्सफर्मर जडान गर्न रु पाँच लाख खर्च लाग्ने गरेको छ । धनुषा र महोत्तरीमा ४१ वटा डिपट्युवेल जडान गरेर सिँचाइ भइरहेको छ । एउटा डिपट्युवेलबाट ४० हेक्टर जमिनमा सिँचाइ हुने गरेको छ । एउटा डिपट्युवेलको निर्माण तथा सञ्चालनमा रु ७० देखि ९० लाखसम्म खर्च हुने गरेको छ ।

उक्त कार्यालयबाट जाडन भएका ८० वटा पावर ड्रिलट्युवेल प्रयोग गरी सिँचाइको व्यवस्था भएको छ । एउटा ड्रिलट्युवेलबाट तीन हेक्टर जमिन सिँचाइ गर्न सकिन्छ । त्यसको लागत रु १५ लाख छ ।