– छविलाल बगाले
काठमाडौं उपत्यकाभित्रका अधिकांश सडकको अवस्था निकै दर्दनाक छ । कतै सडकको कालोपत्रे उप्किएका छन् भने कतै स्तरोन्नतिका नाममा सडक भत्काइएको छ । सरकार कुनै पनि विकास निर्माणमा ढिलासुस्ती भयो भने ठेकेदारलाई जेल हाल्ने र निर्माण कम्पनीलाई खारेज गरिदिने चेतावनी दिन्छ, तर तिनै ठेकेदारहरू भने सरकारको निर्देशनको अवज्ञा गरिरहेका छन् । ठेकेदार कम्पनीले समयमा काम नगर्दा सीतापाइला–रामकोट–भीमढुङ्गावासीले विगत दुई वर्षदेखि सास्ती भोगिरहेका छन् ।
यतिखेर मुलुकभरिका ग्रामीण सडकहरूको अवस्था दर्दनाक छ । वर्षासँगै आएको बाढीका कारण सडकहरू भत्किएर सवारीसाधनहरू आवतजावतमा समेत समस्या आउने गरेको छ । दूरदराजको त कुरा छाडौँ, काठमाडौं उपत्यकाभित्रै रहेको सीतापाइला–रामकोट–भीमढुङ्गा सडकखण्ड लामो समयदेखि बेबारिसे बन्दा स्थानीयले सास्ती खेप्नुपरेको हो । सीतापाइला–रामकोट–भीमढुङ्गा सडकखण्डमा यतिबेला धूलोको आतङ्क नै फैलिएको छ । दैनिक यही सडक भएर ओहोरदोहोर गर्ने नागरिक बर्खामा हिलोमा डुब्न र हिउँदमा धुलो खान बाध्य छन् । स्थानीय रञ्जन कार्कीका अनुसार सडक निर्माणको काम समयमा नहुँदा सबैभन्दा बढी पैदलयात्रु, विद्यार्थी र सडक वरपरका स्थानीयलाई पीडा भएको छ ।
ठेकेदार कम्पनी आशिष सीएस जयबाबा गोरख कन्स्ट्रक्सनले २ वर्षअघि समयमा काम सम्पन्न गर्ने गरी सडकको ठेक्का पाएको थियो । तर, ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण आजसम्म पनि सडक निर्माणको कार्य सकिएको छैन । सडकखण्डको झन्डै ६ किलोमिटर सडक फराकिलो बनाउने र कालोपत्रे गर्ने गरी सडक विभागले ३४ करोडमा ठेक्का निकालेको थियो । तर, ठेकेदार कम्पनी आशिष सीएस जयबाबा गोरख कन्स्ट्रक्सनले सबैभन्दा कम २१ करोडमा ठेक्का पाएको थियो । सडक विभागले ३४ करोडको ठेक्का लगाएर १३ करोड कममा ठेक्का स्वीकृत गर्दा कत्तिको गुणस्तरीय काम होला ? यो प्रश्न सडक वरपरका स्थानीयले गरिरहेका छन् । सडकको गुणस्तर कम हुने थाहा पाउँदापाउँदै सडक विभाग कम रकममा ठेक्का दिन तयार हुनु कमिसनको खेल भएको स्थानीयको आरोप छ ।

ठेकेदार कम्पनीले सीतापाइला–रामकोट–भीमढुङ्गा सडकखण्डको केही स्थानमा वाल उठाउने र सडक फराकिलो बनाउनेबाहेकको अन्य काम केही गरेको छैन । तर ५० प्रतिशत काम पूरा भएको भन्दै सरकारले १० करोड रकम भुक्तानीसमेत गरिसकेको स्थानीयको भनाइ छ । स्थानीयको खरबदारीपछि सडक विभाग र नगरपालिकाले एक–अर्कालाई दोष लगाउँदै आइरहेका छन् ।
त्यसो त सडक निर्माणमा भएको अस्तव्यस्ताले नागार्जुनवासी आजित भएका छन् । अहिले दैनिकजसो सडकखण्डमा पैदलयात्री लड्नेदेखि सवारी नै पल्टिनेसम्मका घटना भइरहेका छन् । सोमबार साँझ स्थानीय सुरज केसी आफ्नो मोटरसाइकलसहित सडकमा खनेको ढलको खाल्डोमा खसेका थिए । मोटरसाइकलसहित खाल्डोमा खसेका सुरजले आफ्नो फेसबुक पेजमार्फत जनप्रतिनिधिप्रति आक्रोश व्यक्त गरेका छन् । उनले फेसबुक पेजमा लेखेअनुसार उनको हातखुट्टामा चोटपटक लागेको छ भने मोटरसाइकलमा पूर्ण रूपमा क्षतिग्रस्त छ । घाइते केसीले नगरपालिकामा गएर क्षतिपूर्तिसमेत माग गरेका छन् ।
सुरज त एक प्रतिनिधि पात्र मात्रै हुन् । सडकखण्डमा सयौँ यात्रुले सुरजको जस्तो दुःख हरेक दिन भोग्दै आइरहेका छन् । स्थानीयवासीले सडकबारे धेरैपटक सरोकारवाला पक्षको ध्यानाकर्षण नगराएका पनि होइनन् । तर, उनीहरूले उठाएका माग भने सुनुवाइ हुन सकेको छैन ।
यो सडकलाई सरकारले वैकल्पिक सडकको रूपमा लिएको छ । सीतापाइला–रामकोट–भीमढुङ्गा हुँदै धादिङ निस्कने गरी सडक निर्माणको योजना बनाइएको हो । तर, २ वर्षमा ६ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्न नसक्दा सरकारको योजना नै अलपत्र परेको देखिएको छ ।
प्रतिक्रिया