फेरि झझल्को लिएर आयो ‘चराको गीत’

फेरि झझल्को लिएर आयो ‘चराको गीत’


– दिवाकर बागचन्द


काला–काला, बादलुले सेता गेडी झाऱ्यो !!
झ्याम्म झुम्म, रूख थियो, घरदेखि पारि !
त्यही रूखमा, गुँड लगाई, बस्थे दुइटा चरी !!
चुट्नसम्म चुट्यो आज पाऱ्यो चिलबिल
बतासले हाँगो लाछी, गुँड पुग्यो तल !

कक्षा आठको नेपाली पाठ्यक्रममा हुनुपर्छ– स्कुलमा मैले यो कविता पढेको थिएँ । अहिले यो कविता पढाइ हुन्छ–हुन्न, जानकारी छैन । लाजमर्दो कुरा त के भन्दा, मलाई यस कविताका रचियता, ती महान् कविको नाम याद छैन । आफ्नो इतिहासलाई यति लापरबाह तरिकाले बिर्सनु दुःखद हो । यद्यपि, इतिहासमा रमाएर वर्तमानलाई कुरूप बनाउने सोचको म विरोधी हुँ । तर, यो कविता भने चट्टानमा कोरिएका तस्बिरझैँ मेरो मन र मस्तिष्कमा अमिट छ ।

मैले कविता लेख्ने हिम्मत कहिल्यै गरिनँ, सकिनँ । यो मेरो क्षमताभन्दा बाहिरको कुरा हो । कविता पढेको छु । वाचन पनि गरेको छु । कवितामा हराएको छु । कवितामय जीवन बाँचेको छु । ‘आई ह्याब लिब्ड अ पोएटिक लाइफ ।’ केही समययता मलाई कविता निरस लाग्न थालेको थियो । जताततै लोभ, लालच, घृणा दृष्टिगोचर हुन्थ्यो । न्यूयोर्कको कङ्क्रिट जङ्गलमा प्रकृतीरूपी कविता खोज्न सकिनँ । मेसिनझैँ चल्ने यो सहरमा कविता गुनगुनाउँदै कोही हिँड्छ जस्तो मलाई लाग्दैन थियो । तर, साहित्यकार कृशु छेत्रीको ‘चराको गीत’ कवितासङ्ग्रह मेरो हातमा परेपछि यो आँखालाई सफा पानीले धोएझैँ लाग्यो । कविता लेख्न वातावरण चाहिन्छ । जसरी पानी पर्न घनघोर बादलको आवश्यकता पर्छ । त्यसमा पनि चराको गीत गाउन विचार, व्यवहार र समग्र मानव जातिलाई समभाव र प्रेमले हेर्ने मन चाहिन्छ । सुपरिचित साहित्यकार कृसु क्षेत्रीसँग त्यो मन थियो, त्यसैले ‘चराको गीत’ कवितासङ्ग्रहले जन्म लियो ।

न्यूयोर्कको निरव रातमा उनको ‘चराको गीत’ कवितासङ्ग्रह पढिरहँदा चराझैँ गगनमा उडेको महसुस गर्दै छु । मैले जिन्दगीभर चराझैँ उड्न चाहेको थिएँ, जो आज पूरा भएको अनुभूति गरेँ ।

‘आमा’ भन्ने कविताबाट शुरु भएको यस कवितासङ्ग्रहले साङ्केतिक रूपमा नारी गाथा गाएको छ, नारीबिना सिर्जना सम्भव छैन, ‘नायग्रा फल्स’ नामक कवितामा नारीको यौनिकता कमजोरी नभई, शक्ति हो, उत्सवको कारण हो भन्ने सन्देश कवि कृसु क्षेत्रीले दिएका छन् । नायग्रा फल्सको उपमाको रूपमा योभन्दा सुन्दर प्रयोग केही हुन सक्दैन थियो । नारीमुक्तिका अभियन्ता र जेन्डर स्टडिजका विद्यारथीले छुटाउनै नहुने कविता हो यो । ‘स्पिकर कर्नर’मा दुई अश्वेत जोडीले रङभेदविरुद्ध गरेको नाराबाजीले स्वछन्द, उन्मुक्त हुँदाहुँदै पनि विभेदले स्वछन्दता र उन्मुक्तिलाई अर्थहीन बनाएको प्रतीत गराउँछ । साथमा मलाई जातीय विभेदका कारण, न्यायका लागि भड्किरहेका हजारौँ जोडीको स्मरण गरायो । जीवनमा जन्मनासाथ मान्छेले विभिन्न पहिचान पाउँछ । तर, सबै पहिचान क्षणभङ्गुर हुन्छन् । सर्वोत्कृष्ट ‘सुप्रिम’ पहिचान त मानव हुनु मात्र हो भन्न सफल भएका छन् कृसु क्षेत्री ‘पहिचानको खोजी’ भन्ने कवितामार्फत । ‘वादशाहको रहर’ भन्ने कविताले राजनीति जब कसैको रहर र महत्वाकाङ्क्षा बन्छ, तब एक साधारण जनसेवक कार्यकर्ता वादशाह बन्न सक्ने तीतो तथ्यलाई बेजोडका साथ चित्रित गरेको छ । विश्वकै वर्तमान राजनीतिलाई यस कविताले परिभाषित गरेको छ ।

‘धरोधर्म रक्सी लागेको छैन’ मार्फत सत्य त रक्सी खाएकाले मात्र बोल्छन् भन्ने सुन्दर व्यङ्ग्य पनि कविले गरेका छन् । अन्तमा ‘मेरो इतिहास’मा गएर ‘चराको गीत’ कवितासङ्ग्रहको अन्त भएको छ । हो, हरेक पुस्ताले इतिहासमा गर्व गर्नुपर्छ, तर त्यसभन्दा माथि उठेर इतिहास रच्नुपर्छ, विगतको अलापमा नाच्नुहुन्न, यस कविताले मिठासपूर्ण माधुर्यका साथ यही बोलेको छ । यसभन्दा सुन्दर गीत हामीलाई, हाम्रो समाजलाई, देशलाई एउटा कविले के नै दिन सक्छ र ? ‘चराको गीत’ कवितासङ्ग्रहले हाम्रो समाज र सभ्यताको स्तर उठाउनेछ ‘चराको गीत’का केही हरफ पढेपछि शायद, यसमा कसैको विमति नहोला ।

चराले सधैं उज्यालोको गीत गाउँछ,
निबिड–नष्पट रातका विरुद्धमा
शुभप्रभातको गीत गाउँछ
अँध्यारोका विरुद्ध जून पनि लड्छ
जुन किरीहरू पनि लड्छन् ।’

‘चराको गीत’ प्रेम र सद्भावको गीत हो । ‘चराको गीत’ले घृणा, जलन र तुषलाई तुच्छ बनाइदिनेछ, यसमा कुनै सन्देह छैन । आदरणीय सुपरिचित साहित्यकार कृसु क्षेत्रीको ‘चराको गीत’ सबै मानव जातिको गीत बनोस्, साहित्यकार कृसु क्षेत्रीलाई बधाई एवम् हार्दिक शुभकामना ।