धामीझाँक्रीको भरपर्दा दुवै आँखा बन्द

धामीझाँक्रीको भरपर्दा दुवै आँखा बन्द


अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीया सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छोडेकी छिन् । आँखा कमजोर भएपछि गाउँघरमै धामीझाँक्री गरेको र धामीझाँक्री गर्दा पनि सञ्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि बिहीबार लमही आँखा अस्पताल (दाङ) उपचार गराउन पुगिन् । आँखामा समस्या भएपछि गाउँघरमा अझै पनि देवी देउता लागेको र आँखा बन्द तथा कमजोर भएको भन्ने अन्धविश्वास कायमै रहेको छ । आँखामा समस्या आएपछि धामीझाँक्रीबाट झारफुक गर्ने प्रचलन र हेल्चेक्र्याइँले गर्दा धेरैले दृष्टिविहीनताको समस्या भोग्नुपरेको छ ।

एक वर्ष पहिले आँखा कमजोर भएकी रोकायाले गाउँघरमा धामीझाँक्रीलाई देखाएको र एक वर्षसम्म विभिन्न झारफुक गरेर पनि सञ्चो नभएपछि दाङको लमहीस्थित आँखा अस्पतालमा उपचारका लागि उनका श्रीमान्ले पुर्याएका छन् ।

विहीबार लमही आँखा अस्पतालमा उपचारका लागि पुगेका रोकायका परिवारले धामीले भूतप्रेत लागेको भनेर झारफुक गरेको र पछि दुवै आँखा बन्द भएपछि स्थानीयको सल्लाहमा आँखा अस्पताल आएको श्रीमान् लालबहादुर रोकायाले बताए ।

ुगाउँघरमै धामीझाँक्री गर्दा सञ्चो नभएपछि उपचारका लागि यहाँ आएका हौँ अहिले आफ्नो बच्चालाई समेत उसले चिन्न नसक्ने भएको छ”, लालबहादुरले भने ।

त्यस्तै रोकायको दुवै आँखामा मोतिबिन्दुका कारण बन्द भएको अस्पतालका नेत्र विशेषज्ञ डा एरिक वैद्यले जानकारी दिए । उनका अनुसार रोकायको एउटा आँखामा मोतिबिन्दु धेरै पुरानो भएको र एउटा आँखामा मोतिबिन्दु भर्खर शुरु भएको बताए ।

डाक्टर वैद्यले रोकायको आँखामा देखिएको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने उल्लेख गर्दै रोकायको जाँच भइरहेको र दुवै आँखामा मोतिबिन्दु रहेकाले आँखा बन्द भएको बताए ।

त्यसैबीच आर्थिक अवस्था कमजोर भएका रोकाय परिवारलाई लमही आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले जानकारी दिएका छन् । सो परिवारलाई खान, बस्न र यातायात खर्चमा समेत सहयोग गर्ने अस्पतालले जनाएको छ ।

तस्बिर रासस