पुल निर्माण जेठभित्र नसके कारबाही गर्छु: मुख्यमन्त्री भट्ट

पुल निर्माण जेठभित्र नसके कारबाही गर्छु: मुख्यमन्त्री भट्ट


प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी उपमहानगरपालिकाको पश्चिमी सीमा नदी मोहनामा निर्माणाधीन पुल आगामी जेठभित्र निर्माण सक्न निर्देशन दिएका छन् ।

निर्माणाधीन पुलको निरीक्षण गर्नुहुँदै मुख्यमन्त्री भट्टले पुल निर्माणमा संलग्न निर्माण कम्पनी र डिभिजन सडक कार्यालयलाई निर्माण कार्य सक्न निर्देशन दिएका हुन् । लामो समयसम्म पनि योजना सम्पन्न नगर्ने प्रवृत्तिलाई प्रदेश नं ७ मा अन्त्य गरिने उल्लेख गर्दै उहाँले जनतालाई सेवासुविधा उपलब्ध गराउने काममा कसैले बहाना बनाउन नहुने बताए ।

विसं २०७१ असार ३१ मा सम्झौता भई तीन वर्षभित्र निर्माण सक्नेगरी काम शुरु गरिएको उक्त पुलको लागत करीब रु १० करोेड रहेको छ । निर्माणको समयावधि पटकपटक थपिँदै गए पनि सो पुल निर्माणमा ढिलाइ हुँदा नदी वारि र पारिका बासिन्दाको आवामगन असहज बनेको जनगुनासो बढेपछि मुख्यमन्त्री भट्ट र भौतिक पूर्वाधार विकास मन्त्री पठानसिं बोहराले पुल निरीक्षण गर्दै स्थानीयवासीसँग छलफल गरेका हुन् ।

लाइट एड्भेञ्चर कम्पनीले ठेक्का पाएको सो पुलको निर्माण सम्झौता अवधि सकिएकामा पुनः आगामी २०७६ असारसम्म निर्माण पूरा गर्ने भन्दै निर्माण कम्पनीले म्याद थपिदिन निवेदन दिएको बताइएको छ ।