इन्द्रेणी

इन्द्रेणी


indreniतनहुँ–तिर्सना– त्रिभुवनचन्द्र वाग्ले
सुन्तलाको बास्ना मीठो, मिथुर्लुङको माटो
उकालीमा किरिमिरी, रिसिङ जाने बाटो
सुन फल्ने सुखौरामा, चाँदी फल्ने चुँदी
गर्व गर्छ छिम्केश्वरी, शिरमा ढाका टोपी
वेद लेखे व्यासैजीले, मादीसेती ठाउँ
उभिएर हेर्ने गर्छ, छेवैबाट काहु
गर्व गर्छ बन्दीपुर, उठी माथि–माथि
इन्कलाव घन्काउँछ, सहिदको साथी
पेट भर्ने जोहो गर्दै, यतातिर आएँ
न्याउरी मारी पाछुतो भो, विरहमा गाएँ ।
न्याउरी मारी पाछुतो भो, विरहमा गाएँ ।

धादिङको उत्सव !– बद्रीप्रसाद दाहाल
पिँडा गाविसको गलौँदी तटमा, लाग्दैछ रे उत्सव ।
भन्छिन् तिर्सुलीआऊ, ए अतिथि हो ! -याफ्टिङ–आनन्द छ ।।
कोबी–काउली–मास छन् जडीबुटी, स्थानीय–खाना मजा ।
केरा–स्याउ र सुन्तला–तरुलका, सुस्वाद झन्–झन् मजा ।। १ ।।

ताजा क्या मछली ? सफा महघिउ, छन् दूधका चिज्बिज ।
चुड्का–गीत मजा सबै मुटु छुने, हाँसो कला सङ्गीत ।।
साँढे–युद्ध नवीन सर्कस यही, उद्योग–उत्पादन ।
नौलो उत्सव हेरुँ हेरुँ अतिथि ! हाम्रो छ आमन्त्रण ।। २ ।।

पूर्वाधार तयार हुन् कृषि उठोस्, उद्योग खुल्दै नयाँ ।
धादिङमै जलस्रोत–पर्यटनका, सम्भावना छन् नयाँ ।।
हाम्रा प्राकृत–सम्पदा अतुल छन्, निम्ता छ अभ्यागत ।
पाल्नोस् पारख गर्न सज्जनहरू ! गर्छाैं झुकी स्वागत ।। ३ ।।

नित्यमंगल पहाडहरू– रामेश्वर राउत मातृदास
सौभाग्यशाली शुभदिनहरू बोकेर बसिरहेका छन् शुभेच्छाका साइत
आकाशले खन्याएको समुद्र
खुशी र आनन्द छचल्किरहन्छन् मनहरू
जति सुन्यो उति हर्षविभोर अहो !
हे ऽ सर्वेश्वर तिम्रो बाँसुरीको मनमोहक धुनले
ईष्र्यालु कंसहरू निद बौलाइरहन्छन्
र, कामधेनु हरदिन रमाइरहन्छन् कल्याणकारी पर्वतेश्वर !
।।१।।
हिमालको काखमा छुनमुनाइरहने पहाडहरू
आशावरी कोइली गुनगुनाइरहन्छन् हरेक पल
र, सहनशील डाँफे मुनालको मन,
यी सर्वदर्शी उन्मुक्त छहराहरू
अमृत वर्षिरहन्छन् निर्झर नाद
र, पार्वती परमेश्वरी हुन् भोलाभाला पहाडहरू
।।२।।
पुग्ने कहाँ हो ?
कसलाई भेट्ने धुन/ध्याउन्नले हो ?
के बटुलेर कहाँ राख्न लाने हो ?
निरन्तर हस्याङ/फस्याङ बेपत्तासँग
मानौं आँधीले लखेटिरहेका पत्करझैँ,
उद्देश्यहीन/लक्ष्यविहीन बेपत्तासँग कुदिरहेका मान्छेलाई देखेर
सधैं शिर उठाएर धीरधाम उभिरहेका
तपस्वी यी पहाडहरू अचम्मित प्रश्न उभिरहेका छन् !
।।३।।
आफ्नो स्वाभिमान र स्वाधीनता छाडेर
कहिल्यै पराइको आश बोकेर दास हुन गएनन् पहाडहरू
सेताम्य शिर/पाउ सौभाग्य फुलेर
बारम्बार आइरहने दुःख र प्रताडना भुलेर
हरदम हरियाली पर्यावरण नाचिरहन्छन्,
सुषुम्नामार्ग सञ्चारी नित्यमंगल पहाडहरू !