रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailoहिँड्दाहिँड्दै मोबाइल चार्ज
हिजोआज मोबाइल फोन एक ‘बहुउद्देश्यीय साधन’ बन्न पुगेको छ । कुराकानीका निम्ति सम्पर्क–माध्यमका अलावा अन्य विभिन्न कार्य गर्न उपयोगीसिद्ध हुँदै आएको मोबाइलको बढ्दो प्रयोगका कारण यसको ब्याट्री चाँडै सकिएर समस्यामा नपर्ने पनि सायद कोही नहोलान् । हो, प्रयोग गर्दागर्दै ब्याट्री सकिएर आइपर्ने समस्या वा असुविधाको अब अन्त्य हुने भएको छ । वैज्ञानिकहरूले हिँडाहिँड्दै मोबाइल चार्ज हुने प्रविधिको विकास गरेका छन् । न्युजिल्यान्डको युनिभर्सिटी अफ अकल्यान्डका जियाङ सोङ र किन एवले ऊर्जा सङ्ग्रह गर्ने एक यस्तो ब्याट्री निर्माण गरेका छन् जसमा सिलिकनद्वारा निर्मित सर्प आकारको पट्टी लगाइएको हुन्छ । अत्यन्त लचिलो हुने भएकाले शरीरको गतिविधिअनुसार अगाडि–पछाडि या जतासुकै पनि मोडिन सक्ने उक्त पट्टी मोबाइल प्रयोगकर्ताको शरीरसँग जोडेर राखिन्छ । उक्त ब्याट्रीमा धातुको एउटा कुण्डली बनाइएको छ जसभित्र चुम्बक राखिएको छ । यसलाई बाहिरबाट पोलिमोरले ढाकिएको हुन्छ । पावर स्टेसनहरूमा बिजुली उत्पादनको आधार पनि यही प्रणालीमा आधारित हुन्छ । शक्तिशाली चुम्बक र कुण्डलीदार धातुको प्रयोगबाट मोबाइल प्रयोगकर्ता हलचल गर्दा या हिँड्दा शरीरबाट हाई भोल्टेज पैदा हुने र त्यसले आफैँ मोबाइललाई चार्ज गर्ने आविष्कारकर्ताहरूको दाबी छ ।

नाङ्गै घाम ताप्न प्रतिबन्ध
चीनको हिनानद्वीप हरदम चिसोले कठ्याङ्ग्रिनुपर्ने चिनियाँका निम्ति आकर्षक र प्रिय स्थानका रूपमा रहँदै आएको छ । त्यहाँको तालमा नाङ्गै पौडिएर रापिलो घाममा सेकिँदै आनन्द लिन पल्किएकाहरूलाई अबचाहिँ मुस्किल पर्ने भएको छ । घाममा सेकिएर मस्ती मार्न खोज्नेहरूको आनन्दमा स्थानीय चिनियाँ प्रशासनले जारी गरेको नयाँ नियमले तुषारापात गराउँदै छ । बिनाकपडा पानीमा पौडिँदै घाम तापेर आनन्द लिनेलाई सरकारी डण्डा वर्षाइने नियम जारी गरिएकाले यस्तो अवस्था पैदा भएको हो । हेनान प्रान्तका कम्युनिस्ट पार्टीप्रमुखले नाङ्गिएर घाम ताप्नु चिनियाँ परम्पराविरुद्ध रहेको ‘असभ्य’ कार्य भन्दै सो आदेश जारी गरेका हुन् । कुनै पनि सभ्य व्यक्तिले अन्य मानिसका सामु नाङ्गिएर पौडिने र घाम ताप्ने काम गर्न नसक्ने उनको तर्क छ । यसरी आनन्द लिन खोज्ने व्यक्ति पक्रनका लागि हेनानमा २४ घन्टे प्रहरी पहरा सुरु गरिएको छ र नाङ्गो शरीरमा पक्राउ खानेले अब त्यहाँ १० दिन जेलको हावा खानुपर्ने छ ।

यस्तो पनि रीति–रिवाज
संसारमा लगभग दुई सय देश छन् र ती सबैमा आ–आफ्नै प्रकारका रीति रिवाज, प्रथा या मान्यताहरू हुन्छन् । तर, कतिपय देशमा प्रचलित परम्परा वा मान्यताहरू पत्याउनै नसकिने मात्र नभई भयभीत नै तुल्याउने खालका पनि छन् । क्युवामा प्रचलित एक परम्परा यस्तै कहालीलाग्दो रहेको छ । उक्त रीतिअनुसार मानिसलाई एउटा विशेष प्रकारको बाक्सामा राखेर जिउँदै जमिनमा गाडिन्छ । क्युवाको हवाना प्रान्तमा रहेको एक सानो इलाकामा बुजी नामक फेस्टिबल अत्यन्त धुमधामसँग मनाइन्छ । यसै पर्वको अवसर पारेर मानिसलाई ‘ताबुत’मा बन्द गरी ज्युँदै गाड्ने चलन छ । परम्पराअनुसार छनोटमा परेको एक व्यक्तिलाई प्रसस्त रक्सी पिलाएर गाड्नका लागि तयार पारिएको विशेष बाक्सामा राखिन्छ र सडक–बस्तीमा घुमाइन्छ । मानिसहरू मदिरामा लठ्ठिएर नाच्दै, गाउँदै र उफ्रँदै पछि–पछि लाग्छन् । गाड्न लागेको व्यक्तिको विधवाका रूपमा सेतो कपाल भएकी एक महिलालाई पनि सँगसँगै हिँडाइन्छ । तिनले आफू विधवा बनेको स्वाङ रच्दै हौवातौवा मच्चाउँछिन् । अन्ततः मदिराले लठ्याएर बाक्सामा बन्द गरिएको व्यक्तिलाई निर्धारित स्थानमा ज्युँदै गाडिन्छ ।

महिलामा इच्छा जगाउन पिङ्क भियाग्रा
बढ्दो उमेर तथा बच्चा जन्माएपछि महिलामा सेक्सप्रतिको लगाव कम हुने गरेको विभिन्न शोध–अनुसन्धानले देखाएको छ । यसलाई समस्या ठान्ने महिलाका लागि खुशीको खबर छ । कम कामवासनाको सिकार महिलाको दिमागमा सेक्सको चाहना पैदा गराउने प्रभावकारी औषधिको निर्माण भएको छ । ‘फिमेल भियाग्रा’ नाम दिइएको गुलाफी रङको चक्कीमार्फत महिलाले आफ्नो गुमेको यौनेच्छा पुनप्र्राप्ति गर्नेछन् । यस चक्कीको थप सकारात्मक पक्ष के पनि छ भने विशेषतः महिलाकै निम्ति बनाइएको भए पनि यो पुरुषले पनि सेवन गरी लाभ उठाउन सक्छ भने यसको प्रयोगकर्ता महिलाको तौल ज्यादा छ भने त्यो घट्न पनि सघाउँछ । किनकि, जतिबेला पनि केही न केही खाइरहनुपर्ने आदत भएका महिलालाई पिङ्क भियाग्राले खानपानको रुचि घटाइदिने दाबी गरिएको छ । यौनसम्बन्ध राख्नुभन्दा पाँच मिनेटअघि यसको सेवन गरेपछि महिलाले दुई घन्टासम्म आफूलाई अत्यन्त कामुक अवस्थामा पाउने कम्पनीको भनाइ छ । पुरुषका लागि भियाग्रा निर्माण गर्ने ओरलबिड नामक ब्रिटिस कम्पनीसँग सम्बद्ध केही व्यक्ति मिलेर महिलाका लागि भियाग्रा बनाउन थालेका हुन् । छिट्टै बजारमा आउने बताइएको पिङ्क भियाग्राले कुनै पनि प्रकारको साइडइफेक्ट नगर्ने कम्पनीले दाबी गरेको छ ।