श्रमिकको मृत्यु भएपछि इस्तानबुल विमानस्थलमा आन्दोलन

श्रमिकको मृत्यु भएपछि इस्तानबुल विमानस्थलमा आन्दोलन


इस्तानबुल (टर्की)को तेस्रो विमानस्थल निर्माणका समय श्रमिकलाई आवश्यक सुरक्षा नमिलाउँदा कामका शिलशिलामा श्रमिकको मृत्यु भएको भनी कामदारले गरेको आन्दोलनका क्रममा पक्राउ गरिएका ६०० जनामध्ये १६० जनालाई आइतबार रिहा गरिएको छ ।

आन्दोलनलाई कमजोर पार्न सरकारी सुरक्षाकर्मीले सहभागी सयौँलाई शुक्रबार पक्राउ गरेको थियो । श्रमिकको पक्राउपछि आक्रोशित कामदारले पक्राउ परेका श्रमिकको रिहाइ र उनीहरूको मागका लागि देखाएको ऐक्यवद्धतापछि सरकार एक कदम पछि हटेको हो ।

सबै क्षेत्रमा गरी करिब ३५ हजार कामदार विमानस्थल निर्माणका लागि लगाइएको र आगामी महिनासम्म विमानस्थलको निर्माण सम्पन्न गर्ने सरकारको योजनालाई श्रमिकको आन्दोलनले प्रभावित तुल्याएपछि सरकारले केही प्रदर्शनकारीलाई सुरक्षा नियन्त्रणमा लिएको थियो ।

विमानस्थल निर्माणका क्रममा २७ जनाको ज्यान गएको भएपनि आधाभन्दा बढीको मात्रै कामका शिलशिलामा ज्यान गुमेको टर्कीको यातायात मन्त्रीद्वारा सार्वजनिक तथ्याङ्कमा रहेको छ ।

श्रमिक यूनियनका प्रमुख देभ यापी इजले श्रमिकहरूको यूनियनको पहलमा भएको आन्दोलनमा सरकार पछि हटेको बताएका छन्। पक्राउ परेका ६०० मध्ये १६० जनालाई रिहा गरिएको उनले जनाए ।

अरु श्रमिकको बारेमा जानकारी नआएको र यसबारे श्रमिकपक्षका वकीललाई पनि थाहा नभएको उनले इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा बताएका एएफपीले जनाएको छ ।

यसैबीच विमानस्थल निर्माण कम्पनी आइजीएले आफ्नो व्यवस्थापनले श्रमिकसँग वार्ता शुरु गरेको जनाउँदै समस्याको सकेसम्म छिटो समाधान निकाल्ने बताएको छ । उक्त बिषयमा पक्राउ परेका अन्य कामदारलाई पनि प्रक्रिया पुर्याएर छोडिने प्रशासनले प्रतिवद्धता जाहेर गरिसकेको आइजीएले बताएको छ ।