पाँच दशकपछि जाग्यो पोखरा बसपार्क बन्ने आशा !

पाँच दशकपछि जाग्यो पोखरा बसपार्क बन्ने आशा !


पोखरा बसपार्कको जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरिएको छ । पोखरा महानगरपालिकाले पोखरा–९ पृथ्वीचोकस्थित बसपार्कको जग्गा मिचेर बनाइएका संरचना हटाउन थालेको हो ।

आधुनिक पोखरा बसपार्क निर्माणका लागि पोखरा उपत्यका नगर विकास समितिले पाँच दशकअघि उक्त जग्गा अधिग्रहण गरेको थियो । यसअघि महानगर र नगर विकास समितिले अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गरेको थियो । सोही सूचनाअनुसार खाली भएका घरटहरा र पसल हटाउन सुरु गरिएको पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए ।

‘संरचना हटाएर बसपार्कको जग्गा खाली गर्ने र एकिन गर्ने काम सुरु भएको छ, जग्गाधनीको पनि कित्ता एकिन गरी व्यवस्थापन गर्छौं’, उनले भनेका छन् ।

बसपार्कका लागि २०३२ सालमा नगर विकास समितिले २०५ रोपनी जग्गा अधिग्रहण गरेकामा अतिक्रमण गरी जथाभावी संरचना बन्न थालेपछि बसपार्कको खाली जग्गा २६ रोपनीमा मात्र सीमित भएको थियो । बसपार्कको उत्तरपट्टिका जग्गाधनीले संरचना हटाउने महानगरको तयारीविरुद्ध उच्च अदालत पोखरामा रिटसमेत दायर गरेका थिए । गत जेठ २५ गते महानगरसँग भएको सहमतिपछि जग्गाधनीले मुद्दा फिर्ता लिने र बसपार्क निर्माणमा सहजीकरण गर्ने निर्णय गरेका थिए । त्यसपछि बसपार्क क्षेत्रका अधिकांश व्यवसायी तथा घरधनीले आफ्ना संरचना खाली गरेका थिए ।

पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत अधिकांश संरचना खाली भइसकेका वडाध्यक्ष मर्सानीले बताए । बसपार्कको भित्री जग्गामा बनेका संरचना पनि खाली भएपछि महानगरले डोजर चलाएको उनको भनाइ छ । बसपार्कको जग्गामा बसोबास गर्दै आएका भूमिहीन दलित र सुकुम्वासी परिवारलाई भने अन्यत्र जग्गा व्यवस्थापन भएपछि मात्र त्यहाँबाट स्थानान्तरण गर्ने महानगरको योजना छ ।

बसपार्कको जग्गामा ५७२ भूमिहीन दलित र सुकुम्वासी परिवारको बसोबास छ । क्षेत्रमा पोखरा विमानस्थल निर्माणका क्रममा विस्थापित भएका परिवारसमेत बसपार्कको जग्गामा बस्दै आएका छन् । जग्गा अधिग्रहणका बेला सट्टा जग्गा लिएका पनि बसपार्क क्षेत्रमा छन् । बसपार्कभित्र बसोबास गरिरहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको टोल सहजीकरण समितिका संयोजक असिम तामाङले सुकुम्बासीको उचित व्यवस्थापन भएमा आफू बसपार्कको जग्गा छोड्न तयार भएको बताए ।

महानगरले बसपार्कका सुकुम्बासी परिवारको स्थानान्तरणका लागि समिति गठन गरेर जग्गाको खोजी तथा पहिचान गर्ने काम सुरु गरिसकेको छ । पोखरा-१७ का वडाध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा गठित समितिले महानगरका विभिन्न ६ स्थानमा जग्गा एकीन गरी महानगरलाई सिफारिस गरेको थियो । समितिले पेश गरेका केही जग्गामा प्राविधिक जटिलता देखिएकाले थप अध्ययन, परीक्षण तथा सिफारिसका लागि प्राविधिक समिति गठन गरी सो समितिलाई १० दिनको म्याद थप गरिएको महानगरले जनाएको छ ।

जग्गाको ‘प्लट’ निर्माणका लागि पनि प्राविधिक समिति बनाएर काम थालिएको छ । बसपार्क क्षेत्रमा लालपुर्जा भएका जग्गाधनीको वितरण प्रक्रिया तथा क्षेत्रफल एकिन गरी सिफारिस गर्न गठित न्यायिक निरूपण समितिले छानबिन र अध्ययनको काम गरिरहेको महानगर प्रमुख धनराज आचार्यले बताए । सुकुम्बासी परिवारको व्यवस्थापन तथा उचित पुनर्स्थापनाको सुनिश्चिततासहित आवश्यक प्रक्रिया अगाडि बढेको उनको भनाइ छ ।

‘उत्तरतर्फबाट बसपार्कको जग्गा खाली गर्ने र व्यवस्थापन गर्ने काम सुरु भएको छ, हामी सबैको साझा लक्ष्य आधुनिक र व्यवस्थित पोखरा बसपार्क निर्माण गर्नु हो, यसमा सबै पक्षको सहयोग रहनेमा महानगर विश्वस्त छ’, प्रमुख आचार्यले भने । बसपार्क समस्या सहजीकरण समितिसँगको समन्वय र सहकार्यमा संरचना हटाउने काम भइरहेको उनको भनाइ छ । बसपार्कका लागि अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादकोसमेत छानबिन गर्ने काम भइरहेको बताइएको छ ।

पोखरा उपत्यका नगरविकास समितिले सुरुमा अधिग्रहण गरेको २०५ रोपनीमध्ये पृथ्वी राजमार्गको निर्माणपछि कायम भएको १८७ रोपनी जग्गामै बसपार्क बनाउनुपर्ने माग उठ्दै आएको छ । समयमा बसपार्क नबन्दा अधिग्रहण गरिएको जग्गा अतिक्रमण परेको थियो । अतिक्रमति संरचना हटाउन थालिएपछि आधुनिक पोखरा बसपार्क निर्माणको योजना अगाडि बढ्नेमा आशा जागेको छ ।

महानगरपालिकाले बसपार्क निर्माणलाई प्राथमिकतामा राख्दै दातृ निकायमार्फत आवश्यक बजेट सुनिश्चित गरेको छ । पर्यटनका माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको पोखरामा स्तरीय बसपार्क बन्न नसकेकामा यातायात र पर्यटन व्यवसायीको दुःखेसो छ । बसपार्क नबन्दा ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिएको छ । तीव्र सहरीकरण र सवारीसाधनको चापलाई दृष्गिगत गरेर पोखरामा आधुनिक सुविधायुक्त बसपार्क बनाउनुपर्ने आवाज उठ्दै आएको छ ।

photo: rss