अमेरिका–चीनबीच व्यापारयुद्ध

अमेरिका–चीनबीच व्यापारयुद्ध


ट्रम्प प्रशासनले थप २०० अर्ब डलरबराबरका चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा गरेको छ । अर्को सातादेखि लागू हुने यस करवृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुकबीच व्यापार युद्ध निम्त्याउने खतरा बढेको छ ।

पछिल्लो करवृद्धिका कारण हातेझोलादेखि साइकलका टायरसम्मको मूल्य वृद्धि हुनेछ ।

आगामी सोमबारदेखि लागू हुने अमेरिकी करवृद्धि १० प्रतिशतबाट आरम्भ हुनेछ, र आगामी वर्ष सन् २०१९ को जनवरी १ बाट २५ प्रतिशत पुग्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार करवृद्धिको घोषणा गरेका थिए । यस घोषणाले वासिङ्टन र बेइजिङबीचको तनाव अझ बढाउने विश्लेषकहरूको भनाइ छ । ट्रम्पले यसअघि नै ५० अर्ब डलरबराबरका चिनिया सामानमा २५ प्रतिशत करवृद्धि गरिसकेका छन् । चीनले पनि प्रतिशोधस्वरूप अमेरिकी सोयाबिनको आपूर्तिमा करवृद्धि गरेको थियो । अमेरिकी राष्ट्रपतिका समर्थक कृषकहरूमाथि चीनको यस कदमले असर पारेको छ ।

ट्रम्प प्रशासनले करवृद्धि गरेमा बेइजिङले पनि थप ६० अर्ब डलरबराबरका अमेरिकी सामानमा करवृद्धि गर्ने चेतावनी दिइसकेको छ । यदि चीनले प्रतिकार गरेमा ट्रम्पले अरू २६७ अर्ब डलरबराबरका अमेरिकी सामानमा करवृद्धि गर्ने चेतावनी दिएका छन् । यस्तो परिस्थिति आएमा कुल ५१७ अर्ब डलरबराबरका चिनियाँ सामानमा करवृद्धि हुनेछ अर्थात् चीनबाट अमेरिका प्रवेश गर्ने सबैजसो सामानमा करवृद्धि हुनेछ ।

सर्वसाधारणको प्रतिक्रिया सुनेपछि ट्रम्प प्रशासनले चीनबाट आयात हुने साइकलका हेल्मेटजस्ता केही बालसुरक्षा सामग्रीहरूमा करवृद्धि नगर्ने जनाएको छ । एप्पल कम्पनीका स्मार्ट घडीहरू र अरू केही इलेक्ट्रोनिक्स सामानलाई पनि करवृद्धिको पछिल्लो सूचीबाट हटाइएको छ ।

यसैबीच, ट्रम्प प्रशासनले चीनसँगको मध्यस्थता वार्तालाई खुलै राखेको जनाएको छ । ‘हाम्रो सरोकारलाई सम्बोधन गर्ने चीनसँग पर्याप्त अवसर छ,’ ट्रम्पले एक विज्ञप्तिमा भनेका छन्, ‘चिनियाँ नेताहरूले अनुचित व्यापारिक तौरतरिका अन्त्य गर्न तत्काल कार्य गर्नेछन् ।’

अमेरिकी प्रविधि प्रभुत्व समाप्त गर्ने बेइजिङको महत्वाकांक्षालाई लिएर दुवै मुलुकबीच संघर्ष जारी छ । अमेरिकी व्यापारिक प्रतिनिधिको कार्यालयले विदेशी प्रविधि हासिल गर्न चीनले अपनाएको नीति स्वीकार्य नरहेको जनाएको छ । चीनले अपनाएका प्रमुख रणनीतिहरूमा अमेरिकी व्यापारिक गोपनीयता फुत्काउनु र चिनियाँ बजारको प्रलोभन देखाएर विशिष्ट प्रविधिहरू चीनलाई हस्तान्तरण गर्नु रहेका छन् ।

ट्रम्पले अमेरिकाको चीनसँगको व्यापार घाटा बढ्दै गएकोमा पनि चिन्ता व्यक्त रेका छन् । गत वर्ष मात्र अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँगको व्यापार घाटा ३३६ अर्ब डलर पुगेको थियो ।

चिनियाँ सामानमा भएको पछिल्लो करवृद्धिले अमेरिकी सर्वसाधारणलाई थप पीडा हुनेछ । ट्रम्प प्रशासनले घरेलु प्रयोजनका सामानमा गरेको करवृद्धिले अन्ततोगत्वा उपभोक्तामाथि नै अतिरिक्त व्ययभार थप्नेछ ।

ट्रम्पले राष्ट्रपतीय चुनावताका आयातीत सामानमा करवृद्धि गर्ने र अमेरिकी कम्पनी तथा कामदारको प्रतिकूल हुने सबै व्यापारिक सम्झौताहरू रद्द गर्ने घोषणा गरेका थिए । तर, विश्लेषकहरूले ट्रम्पको त्यस्तो कार्यले सफलता प्राप्त गर्न कठिन हुने बताउँदै आएका छन् ।

प्रतिकार गर्छौं : चीन

चीनले संयुक्त राज्य अमेरिकाले अर्को साताबाट लागू हुने गरी गरेको पछिल्लो करवृद्धिको प्रतिकार गर्ने जनाएको छ ।

‘चीनसँग प्रतीकारात्मक कारबाही गर्नुको कुनै विकल्प छैन,’ चिनियाँ वाणिज्य मन्त्रालयले मंगलबार जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । तथापि यसअघि चेतावनी दिइएझैँ ६० अर्ब डलरबराबरका अमेरिकी सामानमा करवृद्धि गर्ने कुरा विज्ञप्तिमा उल्लेख छैन ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा चीनले अपनाउने प्रतीकारात्मक कारबाहीबारे उपयुक्त समयमा निर्णय लिइने बताए । उनले अमेरिकाले अपनाएको संरक्षणवादी र एकतर्फी घोषणा चीनका लागि अस्वीकार्य रहेको स्पष्ट गरे ।