भूतसँग कुरा गर्दै भविष्य बताउने बालक

भूतसँग कुरा गर्दै भविष्य बताउने बालक


ramailoकतिपय व्यक्तिले छैटौँ इन्द्रियको सहाराले भूत र भविष्यको कुरा बताउने गरेको कुरा हामीले सुनेका छौँ । यस्ता पात्र समाजमा हम्मेसी नभेटिने भए पनि विभिन्न सिनेमामा छैटौँ इन्द्रियको चमत्कार देख्न पाइन्छ । तर, यहाँ जसको कुरा गरिँदै छ, यो कुनै सिनेमाको कुरा नभई फ्लोरिडा (अमेरिका) निवासी एक चार वर्षीय बालकको वास्तविक कथा हो । फ्लोरिडाको नेपल्समा बस्दै आएका ग्रेग र हिदर होबेल नामक जोडीका ती चारवर्षे छोरो एलिजाहको छैटौँ इन्द्रिय आश्चर्यजनक रूपमा चालू छ । आफ्नो छोरोको यस क्षमताबारे ग्रेग र हिदरलाई त्यतिबेलै अनुभूति भयो, जब ऊ मात्र १० महिनाको उमेरमा प्रस्टसँग लामो–लामो वाक्यसहित बोल्न थाल्यो । उनीहरूले अद्भूत स्वभावको छोरोलाई मनोचिकित्सककहाँ देखाए । परीक्षणपछि चिकित्सकले बच्चाभित्र कुनै ‘सुपरन्याचुरल पावर’ भएको बताए । त्यसपछिका दिनमा एलिजाहले चामत्कारिक कुराहरू गर्न थाल्यो । आफ्नी आमाको गर्भपतन हुन लागेको कुरा उसले पहिले नै बताइदियो, जसअनुरूप उसले भनेकै समयमा होबेलको गर्भपतन भयो । यसपछि जुम्ल्याहा छोराहरू जन्मने भविष्यवाणी उसले ग-यो, ठ्याम्मै त्यस्तै भयो । भविष्यमा हुन लागेको कुराबारे आफूलाई मरिसकेकी हजुरआमाले बताउने गरेको एलिजाहको भनाइ छ । यसरी भविष्यका कुरा मात्र नभई एलिजाहले बितेका कुरा या पात्रहरूसँग पनि कुराकानी गर्ने गर्छ । आफ्ना बितिसकेका हजुरबुबासँग पनि आफ्नो कुराकानी हुने गरेको ती बालकको दाबी छ । सुरुमा आफ्नो छोरोमा कुनै भूतप्रेतले बास गरेको या कुनै मानसिक रोगको सिकार भएको हो कि भनेर झस्किएका ग्रगदम्पती यतिबेला छोरोमा भएको विशेष क्षमताप्रति गर्व गर्दै छन् । ‘सुपरन्याचुरल पावर’ अझ विकसित होस् भन्ने ध्येयले छोरालाई उनीहरूले विशेष हेरचाहका साथ पालनपोषण गरिरहेका छन् ।

बुढेसकालका सन्तानमा मानसिक रोगको खतरा
पछिल्ला चार दशकमा मानिसमा ढिलो विवाह गर्ने प्रवृत्तिको विकास हुँदै गएको समाजशास्त्रीहरूको ठहर छ । स्वभावतः यसले बुढ्यौली उमेरमा सन्तान जन्मने अवस्था सिर्जना गर्छ । यसरी ढिलो विवाह गरी उमेर ढल्किन थाल्दा बाबु बन्नेहरूलाई पछिल्लो एक अनुसन्धानको परिणामले नरमाइलो अनुभूति गराउन सक्छ । एक ताजा अनुसन्धानका अनुसार ४५ वर्षभन्दा बढी उमेरमा बाबु बन्नेको सन्तान मानसिक स्वास्थ्यसम्बन्धी बिमारीको सिकार बन्ने सम्भावना अत्यधिक रहन्छ । अमेरिका र स्वीडेनका वैज्ञानिकको संयुक्त टिमले गरेको अध्ययनबाट यो पत्ता लागेको हो । यस अध्ययनअन्तर्गत वैज्ञानिकहरूले स्वीडेनमा सन् १९७३ देखि २००१ को बीच जन्मिएका २६ लाख मानिसको शिक्षा, स्वास्थ्य र पारिवारिक स्थितिसँग सम्बन्धित आँकडाहरूको विश्लेषण गरेका थिए । अध्ययनमा २० देखि २६ वर्ष उमेर समूहका बाबुबाट जन्मिएका र ४५ वर्ष काटेका बाबुबाट जन्मिएका गरी दुई समूहका सन्तानहरूलाई समेटिएको थियो । यसमध्ये ४५ कटेका पिताबाट जन्मिएका बच्चाहरूमा अटिज्म, स्किट्सोफ्रिनिया, आत्महत्याको प्रवृत्ति तथा कम आईक्यूलगायतका मानसिक बिमारीहरू विकसित भएको पाइयो भने कम उमेरमै पिता बन्नेहरूका सन्तानमा ती समस्या नगन्य मात्र फेलापरेको अनुसन्धानकर्ताको दाबी छ ।

क्यान्सरको शत्रु हलेदो
हाम्रो भान्सामा अत्यन्त महत्वका साथ दिनहुँ उपयोग गरिने बेसार (हलेदो) प्राचीन कालदेखि विभिन्न रोगको उपचारमा समेत प्रयोग हुँदै आएको पाइन्छ । हलेदोलाई विभिन्न रोगाणुनाशकका रूपमा चिकित्सा क्षेत्रका अन्वेषकहरूले मान्यता दिएका छन् । सामान्य प्रकारका बाह्य तथा आन्तरिक चोटपटकमा हलेदोको पट्टी लगाएर वा दूधसँग बेसार खाएर ठीक पार्ने प्रचलन पनि आजको होइन । यसरी उपयोगसिद्ध हुँदै आएको हलेदोको महिमा थप बढेको छ । भारतीय वैज्ञानिकहरूले प्रतिदिन निश्चित विधिबाट बेसारको सेवन गरेमा क्यान्सरजस्ता असाध्य रोगलाई नै भगाउन सकिने दाबी गरेका छन् । हलेदोको गुणबारे १० वर्षको अनुसन्धानपछि वैज्ञानिकहरू यसमा क्यान्सर निरोधक गुण रहेको निष्कर्षमा पुगेका हुन् । शोधकर्ताहरूका अनुसार हलेदोमा पाइने कुर्कुमिन नामक तत्वले क्यान्सरलाई समाप्त पारिदिन्छ । यसअघिका अन्य अनुसन्धानबाट पनि कुर्कुमिन एक शक्तिशाली एन्टिअक्सिडेन्ट रहेको पत्ता लागेको थियो । यस तत्वले शरीरमा क्यान्सरका रूपमा बदलिने रोगी कोशिकाहरूलाई पहिले नै नष्ट गरिदिन्छ र क्यान्सर हुन दिँदैन भन्ने अनुसन्धानकर्ताको दाबी छ । भारत आन्ध्रप्रदेशको श्रीकाकुलम जिल्लाका धुमपानको सिकार बनेका असङ्ख्य महिलाको मुखमा बेसारको लेप लगाएर तिनका मुखको रोग ठीक पारिएको घटना पनि यतिबेला चर्चामा छ ।

कछुवाको रगत पिउँदै वर्ष दिन समुद्रमै
मानिस समुद्रमा कति अवधि लगातार पौडिरहन सक्छ ? केही घन्टा, दिन या साता ? एल साल्भाडोरका एक माझीले भने एक वर्षभन्दा बढी अवधि अविच्छिन्न रूपमा समुद्रमा बिताएर सबैलाई आश्चर्यमा पारिदिएका छन् । जोस साल्वाडोर नामक ३६ वर्षीय ती माझीले कुनै रेकर्ड राख्ने सोचले जानाजान समुद्रमा यति लामो अवधि गुजारेकाचाहिँ होइनन् । सन् २०१२ को डिसेम्बरमा उनी दक्षिण मेक्सिकोस्थित समुद्रमा माछा मार्नका लागि गएका थिए । माछा समात्ने उद्देश्यले पानीभित्र छिरेका उनी संयोगवश किनारबाट टाढिँदै गए र अन्ततः दिशाविहीन बन्न पुगे । उनले आफू प्रवेश गरेको किनार भेटाउन निकै कोसिस गरे तर पटक्कै सफल भएनन् । यसरी भट्किएका उनले हिम्मत हारेनन्, बरु समुद्री जीवहरूसँग बच्दै लगातार जमिन भेट्ने सङ्घर्ष गरिरहे । समुद्री कछुवा समातेर त्यसको रगत पिउँदै उनी तिर्खा मेट्थे भने माछा उनको भोक मेटाउने साधन बन्दथ्यो । यसप्रकार गत जनवरी (लगभग तेह्र महिना)सम्म समुद्रमै उनका दिन बिते । उनको खोजी पनि सार्थक बनिरहेको थिएन, तर अन्ततः उनी आफैँ मार्शलद्वीपको किनारसम्म पुगेरै छोडे । उनलाई हवाईजहाजबाट राजधानी एल साल्भाडोर पु-याइँदा एक झलक हेर्न चाहनेहरूको ताँती लागेको थियो ।