‘उज्ज्वल’जीको मैलो सोच !

‘उज्ज्वल’जीको मैलो सोच !


pathakmanchपाठक मञ्च
अर्घाखाँचीको बामरुकमा कुनैबेला मच्चाएको एक उद्दण्ड व्यवहारका कारण जिल्लावासीले सधैँ सम्झनामा राखेका एमाओवादीका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला संयोजक चन्द्रबहादुर खड्काले नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीको सन्धिखर्कमा गत साता जिल्ला अधिवेशन सम्पन्न हुँदै गर्दा गजबको हर्कत प्रस्तुत गरे । पार्टी–उपनाम ‘उज्ज्वल’ रहेका खड्काले अधिवेशनलाई सम्बोधन गर्दै जिल्लाका मिडियाकर्मीको ‘तह निर्धारण’ गरेका थिए । दम्भपूर्ण भाषामा उनले अर्घाखाँचीमा खोज–पत्रकार नै नभएको उद्घोष गर्दै उनले आफूलाई निकै सर्वज्ञाता र सर्वेसर्वाझैँ प्रस्तुत गर्न खोजे । मुस्कुराएर होस् वा हाँसेर, धम्क्याएर या थर्काएर या पिटपाट गरेरै किन नहोस्, मान–प्रतिष्ठा आर्जन गर्न सकिन्छ भन्ने धारणाबाट प्रेरित व्यक्तिका रूपमा समेत चिनिएका उनले ‘घटना र विचार साप्ताहिक’ले गत ७ गते प्रकाशन गरेको एक समाचारको सन्दर्भ कोट्याउँदै सो समाचारले आफूलाई गम्भीर तुल्याएको अभिव्यक्ति दिए । यतिसम्म त ठीकै थियो, तर उपदेश दिने शैलीमा उनी थप रड्किए, ‘अनुमानको भरमा लेख्ने कुराले समस्या पैदा गर्छ, एकता र मेलमिलाप होइन झगडा पैदा गर्छ । पत्रकार महासङ्घको जिल्ला अधिवेशनसँग सम्बन्धित त्यो समाचारलाई मैले ब्ल्याकमेलिङ या बार्गेनिङ ठानेको छु ।’ स्वनामधन्य एमाओवादी नेताज्यूले त्यसमा ब्ल्याकमेलिङको गन्ध कसरी भेटे, आश्चर्यकै विषय हो ।
उनको उक्त अभिव्यक्तिप्रति महासङ्घका पूर्वसभापति तथा वरिष्ठ पत्रकार निमबहादुर रिजालले असहमति जनाउँदै आफूअनुकूलको समाचार नहुनेबित्तिकै ‘ब्ल्याकमेलिङ’ देख्नु र त्यसलाई सार्वजनिक कार्यक्रममा अभिव्यक्त गर्नु नै वास्तवमा बार्गेनिङ हो भन्ने धारणा दिएका छन् । त्यसैगरी अधिवेशनमा निर्वाचन प्रमुख रहेका विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पनि खड्काजीले कुन मुडमा त्यस्तो बोल्नुभएको हो भन्दै आश्चर्य व्यक्त गरे भने प्रेस युनियनका अध्यक्ष सूर्यप्रसाद भुसालले कहिलेकाहीँ सत्य बोल्दा या लेख्दा नै विवादमा परिने जनाए ।
ब्ल्याकमेलिङ र बार्गेनिङ भन्ने शब्द कस्तो ठाउँमा प्रयोग गर्दा उचित हुन्छ भन्ने हेक्का नभएका एमाओवादीका ‘ठूला नेता’ उज्ज्वलजी दौलतले धनी तर विचारले अत्यन्तै गरिब भनेर पनि जिल्लामा नचिनिएका त होइनन्, तर त्यस दिन भने आफ्नो धज्जी उनी आफैँले उडाएको उपस्थित महानुभावहरूले अनुभूति गरे ।
– एचआर लम्साल

पासवानलाई ‘छोइछिटो’को त्रास !
सिरहा समाजले हालै सिरहाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरूलाई सम्मान गर्न एउटा कार्यक्रम आयोजना गरेको थियो । करिब २० जना सभासद् त्यहाँ निम्त्याइएका थिए भने उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथिका रूपमा उपस्थित थिए, जसको हातबाट सभासद्हरूले खादा, माला र टीका थाप्दै सम्मानित हुने कार्यक्रम थियो । सो कार्यक्रममा एक ‘बहुचर्चित’ सभासद् पनि केही ढिलो गरी सहभागी हुन आइपुगे । उनी थिए– दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान ।
जिल्लावासीले सम्मान गर्न लागेको कार्यक्रममा उनी सहभागी त भए, तर समारोहमा उपस्थित भएपछि उनले सम्मान थाप्न नमानेर गजबको नौटङ्की प्रदर्शन गरे । कार्यक्रम स्थलमा उपस्थित हुनेबित्तिकै उनलाई उद्घोषकले मञ्चमा आसीन हुन आग्रह गर्दा नटेरेर उनले सुरुमै सबैलाई नरमाइलो तुल्याए । पटक–पटक आग्रह गरेपछि बल्लतल्ल मञ्चमा उक्लिएर पासवान पछिल्लो कुर्सीमा गई बसे । सभासद्हरूलाई पालैसँग सम्मान गर्ने कार्यक्रमअनुसार उनी पनि बोलाइए । उनी उपराष्ट्रपति झासमक्ष पुगे, तर उनले न माला लगाउन माने न त दोसल्ला नै ओढे । टीका पनि लगाएनन् र आयोजकले पहिरिदिन खोजेको कार्यक्रमको ब्याच त उनले सुरुमै ग्रहण गरेका थिएनन् । यो देखेर मञ्चमा उपस्थित आईजीपी उपेन्द्रकान्त अर्याललाई निकै असजिलो लागेर होला, उनी के गरौँ कसो गरौँको भावमा छटपटिएका देखिन्थे । वास्तवमा बेला न कुबेला केही न केही हर्कत गरेर चर्चामा आउने पासवानको उक्त नौटङ्की अर्थ न बर्थको थियो ।
पछि खाजा खाने बेलामा उनी उपराष्ट्रपति झासँगै बसेर मजाले खाइरहेका थिए । त्यस्तैमा एकजनाले उनलाई सम्मानमा दिइएको माला, खादा र टीका ग्रहण गर्न नमान्नुको कारण सोधे । खानेकुराको बुजो मुखमा राखी चपाउँदै पासवानले जवाफ दिए, ‘मलाई सम्मान गर्ने व्यक्ति झा बाहुन् रहेछन्, यस्ता बाहुनको हातबाट माला र अबिर थाप्दा बिटुलिने भएकोले आफूलाई शुद्ध राख्न त्यो इन्कार गरेको हुँ ।’ उनको यो जवाफ सुनेपछि प्रश्नकर्ताले ‘झा बाहुनसँगै बसेर खाजा खाँदाचाहिँ तपाईं बिटुलिनुभएन त ?’ भन्ने प्रश्न गर्ने हिम्मतचाहिँ गरेनन् ।
यसरी जातविशेषलाई छुट्याएर व्यवहार गर्ने ‘सभासद्’ले संविधान बनाउने काममा कस्तो योगदान पु-याउलान्, कुन्नि ?
– सन्तोषकुमार, सिरहा