दक्षिण एसियाली मुलुकहरूमध्ये जनताबाट धेरै कर असुल्ने देशको रूपमा नेपाललाई पुऱ्याइँदा पनि सरकारले विश्वमै कम कर लाग्ने देश नेपाल भएको बताउनु र यहाँका जनताले पत्याउनुलाई आश्चर्यजनक मानिएको छ । दुईतिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकारमा अर्थमन्त्री बनाइएका पूर्वकर्मचारी युवराज खतिवडाले लगानी र आर्जनलाई निरुत्साहित गर्ने, केवल जनताबाट पाकेटमार शैलीमा कर मात्र उठाउने जुन अर्थनीति अवलम्बन गरेका छन्, यसले कम्युनिस्टहरूप्रति अनास्था र अविश्वास मात्र पैदा गरेको छैन, आर्थिक कारणले मुलुकमा महासंकट पैदा गर्ने हो कि भन्ने आशङ्का पनि बढाएको छ ।
नाङ्ले पसलदेखि खसीबोका, अन्डादेखि रुद्राक्ष, तरकारीदेखि पशुपक्षी र साइकलदेखि पानीकलसम्म कर लगाइएको, घरवास, जग्गाजमिन र सवारीसाधनमा भारी कर वृद्धि गरिएको, तर लगानीको वातावरण बनाउन नसक्ने अर्थमन्त्री खतिवडाका कारण देशको सबै ब्यापारिक क्षेत्र सङ्कटमा परेको छ । अर्थमन्त्री बन्नेबित्तिकै शेयरमा लगानी नगर्न आह्वान गर्ने खतिवडाले त्यसपछि घरजग्गा व्यवसायमा लगनी नगर्न उर्दी जारी गरे । रेमिटयान्सबापत देशलाई प्राप्त हुँदै आएको ठूलो रकम विदेशमै अड्किने स्थिति बनेको, निर्यात ह्रास हुँदै गरेको र अनेकौँ अडचन पैदा गरेर आयातलाई समेत असहज अवस्थामा पुऱ्याएका अर्थमन्त्री खतिवडाले सवारीसाधनका व्यापारीहरूबीच उभिएर ‘ऋण लिएर सवारीसाधन प्रयोग नगर्न’ सार्वजनिक आह्वान गरेका छन् । संसारभर घरजग्गा तथा सरकारी साधनमा सहजै कर्जा उपलब्ध गराइन्छ र, विश्वका अधिकांश मानिसले बैंकबाट कर्जा लिएर किस्ताबन्दीमा ऋण चुक्ता गर्नेगरी सवारीसाधन प्रयोग गर्ने गरेका छन् ।
विश्वव्यापी मान्यताविपरीत कर्जामा गाडी नचढ्न सार्वजनिक आह्वान गरेर खतिवडाले संसारलाई हँसाएका छन् । अब कुन दिन यिनले दुई छाक खाना खाँदा भएको खर्च कटौती गर्न एक छाक मात्र खानका लागि जनतालाई आह्वान गर्ने हुन्– प्रतीक्षा त्यसैको भइरहेको छ । वास्तवमा देशको आर्थिक विकास हुन आर्थिक गतिविधि बढ्नुपर्छ र आम्दानी तथा लगानी र खर्चको दायरा विस्तार हुँदै गएपछि मात्र अर्थतन्त्र चलायमान भएको ठानिन्छ । तर, अर्थमन्त्री खतिवडाले प्रचलित विश्व मान्यता र देशको आवश्यकताभन्दा ठीक विपरीत गन्तव्यको यात्रा तय गरका छन् । त्यसैले खतिवडालाई नेपालको इतिहासकै सर्वाधिक गैरजिम्मेवार अर्थमन्त्रीका रूपमा लिन थालिएको छ ।
नामै ‘खति’ वडा भएपछि जनता र देशलाई कसरी ‘लाभ’ पुऱ्याउन सक्छन् त भनी जनस्तरमा वर्तमान अर्थमन्त्रीको खिल्ली उडाउन थालिएको छ । यिनै सन्दर्भमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतसँग घटना र विचारले कुराकानी गर्दा उनले भनेका छन्, ‘कुनै पनि अर्थमन्त्रीको काम करआतङ्क पैदा गर्नु होइन । जनतालाई आम्दानी गर्ने वातावरण बनाइदिएर आम्दानीमा कर लगाउने सामान्य सिद्धान्त हो, तर अहिले अति भएको छ । दक्षिण एसियामा सबैभन्दा बढी कर चौबीस प्रतिशत असुल्ने मुलुक नेपाल भएको छ । अब चौबीसबाट बढाएर छत्तीस प्रतिशत पुऱ्याउने कोसिस भइरहेको म बुझ्दै छु । यस्तो अवस्थामा जनता कसरी बाँच्न सक्लान् भन्ने गम्भीर चिन्ताको स्थिति उत्पन्न भएको छ ।’
पढ्नुहोस् डा. महतसँगको अन्तरवार्ता विस्तृतमा-
सडकको खाल्डो पुर्न नसक्ने, रेलको गफ गर्ने !
प्रतिक्रिया