भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार


भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा पुरिएका ४३ वर्षीय हेर्नान गिललाई जीवितै अवस्थामा उद्धार गरिएको छ । लामो समय भग्नावशेषमुनि बस्दा ती युवाको शरीरमा पानीको मात्रा कम भएको र मनोवैज्ञानिक असर परेको हुनसक्ने भन्दै तत्काल स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

उनलाई जीवितै उद्धार गरेपछि सयौँ उद्धारकर्ता र आफन्तहरूले खुसीयाली मनाएका थिए । भूकम्प गएको एक हप्तापछि सामान्यतया भग्नावशेषमा पुरिएका व्यक्तिलाई सकुशल उद्धार गर्नुभनेको चमत्कारिक घटना मानिन्छ ।

भेनेजुयला भूकम्पमा परी बिहीबारसम्म मृत्यु भएको पुष्टि गरिएका व्यक्तिको आधिकारिक सङ्ख्या दुई हजार ३०० पुगेको छ भने अझैपनि ठूलो सङ्ख्यामा मानिसहरू बेपत्ता रहेको जनाइएको छ ।

भेनेजुयलामा सक्रिय उद्धारकर्मीले भग्नावशेषमुनि यति लामो समय बिताएका सुरक्षा गार्ड गिलको उद्धारलाई चमत्कारको रूपमा वर्णन गरे भने आफन्तहरूले उद्धारकर्मीको निरन्तरको प्रयासबाट यो सफलता प्राप्त भएको भन्दै यसको स्वागत गरेका छन् ।

जुन २४ को विपत्तिमा लगभग पूरै भत्किएको काटिया ला मारको तटीय क्षेत्रमा रहेको सात तले भवन भत्किएपछि गिल त्यहाँ पुरिएका थिए ।

भेनेजुएला, चिली, संयुक्त राज्य अमेरिका, पोर्चुगल, कोस्टारिका, एल साल्भाडोर र मेक्सिकोलगायतका टोलीहरूले तीन दिनसम्म निरन्तर भग्नावशेष पन्छाउँदै गिलसम्म पुगेका बताइएको छ । उनीहरूले उनको उद्धारका समय पानीको कमी नहोस् भनेर पाइपबाट पानी र पर्याप्त अक्सिजनका लागि पाइपबाट अक्सिजनको व्यवस्था गरेका थिए ।

अन्तिम चरणमा दुई उद्धारकर्ताले तीन मिटर लामो सुरुङ खनेपछि भवनको पार्किङ क्षेत्रमा करिब तीस जना मानिसले भग्नावशेष हटाएपछि उनको सकुशल उद्धार गरिएको थियो ।

भेनेजुएलामा भूकम्पका कारण धेरैजसो घरबारविहीन बनेका छन्, खाना र पानी दुर्लभ हुँदै गएको छ भने अस्पतालहरू सीमित क्षमतामा चलिरहेका छन् । विज्ञहरूले रोग फैलिने जोखिमको चेतावनी दिएका छन् ।

७.२ र ७.५ मापनका दुई शक्तिशाली भूकम्पले तेलसम्पन्न भेनेजुएलाको राजधानी काराकासका अधिकांश छिमेकलाई ध्वस्त बनाएको थियो । दशकौँदेखिको आर्थिक सङ्कटबाट पूर्वाधार र स्वास्थ्य सेवालाई ध्वस्त बनेको भेनेजुएलामा नासाको तथ्याङ्कअनुसार करिब ६० प्रतिशत भवनहरू क्षतिग्रस्त वा नष्ट भएका छन् ।

भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले बुधबार मृतक सङ्ख्या दुई हजार २९५ पुगेको बताए । भूकम्पमा परी ११ हजारभन्दा बढी घाइते भएका छन् । धेरैजसो पीडित सडक, पार्क र खाली ठाउँमा टेन्टमा सुतिरहेका छन् ।

दशौं हजार मानिसहरू अझै बेपत्ता छन् । सबैभन्दा बढी प्रभावित शहर ला गुएरामा धेरैजसो भत्किएका भवनहरूमा जीवित व्यक्ति नरहेको सङ्केतका लागि ‘डी’ लेखिएको छ।

भूकम्पपछि खाने र बस्ने ठेगान नहुँदा विभिन्न क्षेत्रमा लुटपाट मच्चिएको छ । प्रहरी र सेनाका जवानहरू लुटपाट रोक्नका लागि गस्ती गरिरहेका छन् ।

सहायताका लागि लाइनहरू दिनप्रतिदिन लम्बिँदै छन्, धेरैजसो स्वयंसेवकहरूको सद्भावना र नागरिकहरूको दानमा बाँचिरहेका छन् ।