सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, शिक्षामन्त्रीद्वारा दिलाइयो शपथ

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, शिक्षामन्त्रीद्वारा दिलाइयो शपथ


शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई शुक्रबार (१९ असार) मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र साहले छनोट तथा सिफारिस समितिद्वारा सिफारिस गरिएका उम्मेदवारमध्येबाट शुक्रबार नै विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए ।

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयका उपकुलपति श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयका उपकुलपति देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति सुजनबाबु मरहट्टालाई शपथ गराएका हुन् ।

मन्त्री पोखरेलले सबै विश्वविद्यालय र सम्भव भएका आङ्गिक क्याम्पसहरूमा १० प्रतिशत छात्रवृत्ति पारदर्शी ढङ्गले अनिवार्य गराउन तथा विश्वविद्यालय र क्याम्पसमा भएका ट्रेड युनियनका ब्यानरहरू हटाउन निर्देशन पनि दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्माले नवनियुक्त उपकुलपतिहरूबाट शिक्षा क्षेत्रको समग्र सुधारका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

शपथपछि नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयको शाख र गरिमालाई कायम राख्दै निर्भिकता र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

photo: rss