चीनले मान्छे चिनेपछि…

चीनले मान्छे चिनेपछि…


भारत र चीनको भ्रमण गरेर दुवैतर्फको मन जित्ने प्रयासमा रहेका नेकपाका सहअध्यक्ष प्रचण्ड चीनमा ‘उपेक्षित’ भएको ठानिएको छ । भदौको तेस्रो साता भारत भ्रमणमा जाँदा प्रचण्डलाई ‘स्टेट भिजिट’सरहको सम्मान दिइएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च तहका नेता तथा अधिकारीहरूसँग प्रचण्डको घन्टौँ लामो वार्तालापहरू भएका थिए ।

तर, चीनले भने प्रचण्डको अपेक्षा पूरा गर्न सकेन । प्रचण्डबाट चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ताका लागि निकै प्रयास भएको थियो । नेपालस्थित चिनियाँ राजदूतलाई पटकपटक सम्पर्क गरेर राष्ट्रपतिसँगको भेटवार्ता मिलाइदिन उनले आग्रह गरेका थिए । अन्ततः राजदूतले उपराष्ट्रपति र प्रधानमन्त्रीसँग मात्र भेटको व्यवस्था मिलाउन सकेको जानकारी गराउँदै राष्ट्रपतिसँग भेटको व्यवस्था गर्न नसकेकोमा दुःख प्रकट गरेका थिए । उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरेर भए पनि चित्त बुझाउने मानसिकता बनाएर गत शनिबार चीन प्रस्थान गरेका प्रचण्ड त्यतिबेला निराश भए जब बेइजिङमा प्रधानमन्त्रीलगायतसँग तय भएको भेटघाट पनि रद्द भयो ।

निर्धारित कार्यक्रम रद्द भएपछि प्रचण्डको बेइजिङ प्रवेशमा नै यसपटक रोक लागेको छ । उनी ग्वाङ्झाओ र आसपासका शहर घुमेर फर्कनुपर्ने स्थितिमा पुगेका छन् । चीन जानुअघि प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग भेट हुन नदिन केपी ओलीले भूमिका निर्वाह गरेको भनी आफ्ना निकटस्थहरूलाई बताएका थिए । प्रधानमन्त्रीसँगको भेटसमेत रद्द हुनुको कारण उनले ओलीलाई ठान्ने हुन् या चीन भ्रमणमै रहेका नेता नारायणकाजी श्रेष्ठलाई, सो स्पष्ट हुन सकेको छैन । कारण जेसुकै भए पनि चीनले प्रचण्डसँग दूरी राख्न चाहेको भने स्पष्ट देखिएको छ ।