नेपाल भ्रमणमा आएका अफगान तथा जर्मनहरूसँगको भेटवार्ताका क्रममा एक अफगान उच्चाधिकारीको कुराले नेकपाका सहअध्यक्ष प्रचण्डको छटपटी बढाएको जानकारी प्राप्त भएको छ । विदेशीसँगको भेटवार्ताका क्रममा हिंसात्मक युद्ध गरेर शान्तिप्रक्रियालाई टुङ्गोमा पुऱ्याएकोले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको बताउने गर्दै आएका प्रचण्डले हालै भारतको भ्रमणका क्रममा आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने धारणा पटक–पटक प्रकट गरेका थिए । गत साता अफगानिस्तानबाट नेपाल आएको एक उच्चस्तरीय भ्रमण टोलीका सदस्यहरूसमक्ष पनि प्रचण्डले आफू शान्ति पुरस्कारको हकदार भएको सङ्केत गरे ।
प्रचण्डले ‘शान्ति पुरस्कार दिलाउनका लागि तपाईंहरूको पनि सहयोग हुनुपऱ्यो’ भनी अफगान टोलीसँग याचना गरेका थिए । तर, अफगान टोलीका एक जिम्मेवार सदस्यले प्रचण्डलाई जवाफ फर्काउँदै भने, ‘तपाईंहरूले जे गर्नुभएको भए पनि अन्तर्राष्ट्रिय समुदायले द्वन्द्वकालका घटनाहरूलाई सजिलै बिर्सन सक्दैन । हरेक कुराको रेकर्ड अन्तर्राष्ट्रिय समुदायले राखेका हुन्छन् ।’ प्रचण्डलाई यसो भन्ने व्यक्ति तालिवान सरकारको समयमा अफगानिस्तानका तर्फबाट संयुक्त राष्ट्र सङ्घको स्थायी प्रतिनिधि थिए । उनका मुखबाट यस्ता कुरा सुनेर प्रचण्ड स्तब्ध भएका थिए ।
अफगानिस्तानमा शान्ति स्थापना गर्न त्यहाँ अनेकौँ प्रयास भइरहेका छन् र, त्यसनिम्ति पूर्वमन्त्री, सांसद, गभर्नर तथा अन्य विभिन्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका व्यक्तिहरूलाई समेटेर एक उच्च शान्ति परिषद् (हाई पिस काउन्सिल) गठन गरिएको छ । परिषद्ले विश्वका द्वन्द्वग्रस्त मुलुक, जसले शान्तिप्रक्रियामा गएर ठोस परिणाम हासिल गरेको छ त्यस्ता मुलुकहरूको भ्रमण गरी सम्बद्ध पक्षहरूसँग भेटवार्ता गरेर तिनका अनुभव र शैलीबारे जानकारी प्राप्त गर्ने गरेको छ । यसै क्रममा केही महिनाअघि अफगान टोली इन्डोनेसिया पुगेको थियो भने गत साता उनीहरू नेपाल आएर विभिन्न व्यक्तिहरूसँग भेटवार्ता गर्ने क्रममा गत बिहीबार (भदौ २८ गते) प्रचण्डसँगको वार्तालापमा थिए । प्रचण्ड आफ्नी छोरी गंगा दाहाललाई लिएर उक्त वार्तालापमा सामेल भएका थिए ।
शान्तिप्रक्रियामा आइसकेपछि लडाकुलाई राष्ट्रिय सेनामा समायोजन गरेको, शहीद परिवार तथा घाइतेहरूलाई राहतस्वरूप रकम उपलब्ध गराएको, पार्टीमा रहेका साथीहरूले उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेकोजस्ता वर्णन गरिरहेका प्रचण्डलाई एक अफगानले गरेको पेचिलो अर्को एक प्रश्नले पनि नराम्रोसँग झस्काएको महसुस त्यहाँ उपस्थितहरूले गरेका थिए । ती अफगानको प्रश्न थियो, ‘द्वन्द्वका बेला लड्नेहरूले त पाएछन्, जनताले चाहिँ के पाए नि ?’ यस्तो प्रश्न आउँदा एकैछिन हच्किएका प्रचण्डले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताका साथै जनताले अधिकार पाएको जवाफ दिएका थिए ।
जर्मन सरकारको सहयोगमा जर्मनीको वर्गफ फाउन्डेसन र नेपाल पिस बिल्डिङ इनिसिएटिभको आयोजनामा अफगानिस्तानको उच्च शान्ति परिषद्को टोलीलाई नेपाल ल्याइएको थियो । तीसजनाको टोलीमा करिब बीसजना अफगानिस्तानमा उच्च तहको जिम्मेवारी पाइसकेका व्यक्ति थिए भने वर्गफ फाउन्डेसनका एक प्रतिनिधि पनि टोलीमा सामेल थिए । त्यस्तै, तालिवानको समयमा संयुक्त राष्ट्र सङ्घसँग वार्तामा सहभागी भएका व्यक्तिहरू पनि भ्रमण दलमा सहभागी भएका थिए । आफूहरू ठूलो दलबलसहित नेपाल भ्रमणमा आउनुको कारण स्पष्ट गर्दै अफगान उच्च शान्ति परिषद्की उपप्रमुख एवम् पूर्वमन्त्री डा. हबिबा साराबीले भनेकी थिइन्, ‘नेपालको शान्तिप्रक्रिया, हतियार तथा लडाकु व्यवस्थापन र प्रक्रियाका बारेमा बुझ्न हामी नेपाल आएका हौँ, हामी यहाँबाट केही सिकेर फर्कन चाहन्छौँ ।’
उनीहरूले प्रचण्ड, रामबहादुर थापा बादल, मोहन वैद्य किरण, कृष्णबहादुर महरा, पम्फा भुसाल, नन्दकिशोर पुन, वर्षमान पुन, प्रदीप ज्ञवाली, रुक्मांगद कटवाल, दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरसँग बेग्लाबेल्लै भेट गरी छलफल गरेका थिए । भ्रमण टोलीले नेत्रविक्रम चन्द विप्लव र उनको समूहका नेताहरूसँग वार्तालाप गर्न चाहेको थियो । तर उक्त कार्य सम्पन्न हुन सकेन । यसरी भेट हुँदा मोहन वैद्य किरणले आफूलाई भारतमा नजरबन्द गरिएपछि बाह्रबुँदे सम्झौता भएको अफगान टोलीसमक्ष बताएका थिए । वैद्यले बाह्रबुँदे सम्झौता गर्नकै लागि आफूलाई गिरफ्तारीमा पारिएको भनेनन् । ‘म थुनामा परेकोे बेला बाह्रबुँदे सम्झौता भएको’ भन्दै वैद्यले निकै आक्रोश प्रकट गरेका थिए । भेटवार्ता गरिएकाहरूमध्ये वर्षामान पुनसँगको कुराकानीबाट उक्त टोली निकै प्रसन्न बनेको बताइएको छ ।
भ्रमण टोली याक एण्ड यती होटेलमा बसेको थियो र उनीहरूले उक्त होटेललाई नै मुकामका रूपमा उपयोग गरेका थिए । भेटवार्ताका क्रममा दमननाथ ढुङ्गानाले ‘बाह्रबुँदे सम्झौता हुँदासम्म आफू सक्रिय रहेको भए पनि त्यसपछि शान्तिप्रक्रिया कता लाग्यो आफूलाई कुनै जानकारी नभएको’ स्पष्ट गरेका थिए । भेटवार्ताका क्रममा प्रचण्डले करिब चार प्रतिशत मात्र सङ्ख्याका मुसलमानलाई अधिकार दिएको बताउँदा अफगानहरूले ताली बजाएर स्वागत गरेका थिए । गृहमन्त्री रामबहादुर बादलको अभिव्यक्तिलाई भने भ्रमण टोलीले स्पष्ट रूपमा बुझ्न नसकेको बताइएको छ । बादलले जानेको जति बोलिरहँदा उनीहरू चुपचाप सुनिरहेका थिए । बादलका अभिव्यक्तिलाई उनीहरूले राम्रोसँग बुझ्न नसकेको बताइन्छ । अफगान टोली गत साताको अन्त्यमा स्वदेश फर्किसकेको छ ।
प्रतिक्रिया