बाल्यकालको छुकछुक नाकमा बाह्य चिज कोचेमा के गर्ने ?

बाल्यकालको छुकछुक नाकमा बाह्य चिज कोचेमा के गर्ने ?


-सम्झना शाक्य
बच्चाहरू स्वभावैले जिज्ञाशु हुने गर्दछन् । उनीहरू नयाँ-नयाँ कुराहरू अनुभव गर्न चाहन्छन् । यस्तो अवस्थामा हामी बच्चाहरूलाई छुकछुके पनि भन्ने गर्दछौँ । हुन त यो नै यिनीहरूको सिक्ने तरिका हो । यस्तै क्रममा कतिपय बच्चाले उपद्रोको काम पनि गरेका हुन्छन् । जुन यिनीहरूको स्वास्थ्यको हिसाबले असुरक्षित र हानिकारक हुन सक्छ । यस्तै क्रियाकलापहरूको एउटा उदाहरण होे नाकमा केही चिज पसाउनु । मुख्य गरेर नाकमा पसाउन सक्ने खालका जोखिमका चिजहरूमा इरेजरका टुक्रा, केराउका दाना, टिस्यु पेपरका टुक्रा, खानेकुराहरू, रंग तथा मैनका
रंगका टुक्राहरू, माटो, हाते घडीका साना ब्याट्रीहरू आदि पर्दछन् ।
बच्चाहरू करिब ९ महिनाको भएपछि यिनका औंलाहरूले साना चिजहरू पनि टिप्न सक्ने हुन्छन्, त्यस बेलाबाट यस्तो जोखिम सुरु हुन्छ जुन अलि बुभ्ा\mने भएपछि बल्ल कम हुन्छ । त्यसैले यो समस्या १ देखि ८ वर्षका बालबालिकाहरूमा बढी देखिन्छ ।
नाकमा केही चिज पठाउनु भनेको साह्रै डरलाग्दो त होइन तर सकेसम्म सुरक्षित तरिकाले यसलाई झिक्नु भने पर्दछ । नाकभित्रको भाग हामीले सोचेकोभन्दा अप्ठ्यारो किसिमले फैलिएको हुन्छ र यो मुखमा आएर जोडिएको हुन्छ । कहिलेकाहीँ जबर्जस्ती गरेर नाकको चिज भित्र पसाउन खोज्यो भने भित्र पसेर घाँटीमा अड्किन सक्छ जुन खतरापूर्ण हुन्छ ।
बच्चाहरू किन नाकमा चिजबिज हाल्छन् भन्ने कुरा स्पष्ट छैन । यस्तो बेलामा बच्चालाई गाली गरेर तर्साउने गर्नुहुँदैन । हामीले यस्तो गर्‍यो भने बच्चाहरूले हामीलाई ढाँट्छन् । खासै दुख्दा पनि नदुख्ने हुनाले उनीहरूले केही भएको छैन भनेर भन्न सक्छन् । जसले गर्दा उपचारमा ढिलो हुन सक्छ । यसैले बच्चालाई किन यस्तो गरेको भनेर केरकार नगरीकन फकाएर के पठाएको रहेछ हेर्नुपर्छ र सुरक्षित तरिकाले निकाल्नुपर्छ ।
लक्षणहरू
नाकमा बालबालिकाहरूले केही सामान पसाएका छन् भने सबभन्दा पहिला हुने लक्षण भनेको त अप्ठेरो हुने र दुख्ने नै हो । बच्चालाई बन्द भएको नाकबाट श्वास लिन अप्ठ्यारो हुन्छ । प्राय: बालबालिकाले आप\mना अभिभावकलाई यो कुरा सुनाउने गर्छन् । कहिलेकाहीँ नाकभित्रको संवेदनशील झिल्लीमा चोट पुगेमा रक्तश्राव पनि हुन सक्छ । यसरी रक्तश्राव भएमा रगत नाकको अगाडिबाट मात्र बग्ने होइन कि पछाडितिरबाट बगेर बच्चाको मुखतिर पनि आउन सक्छ । यस्तो भएमा रगत निल्ने सम्भावना हुन्छ । यसरी रगत निलेमा बच्चालाई रगत मिसिएको वान्ता पनि हुन सक्छ ।
असरहरू
नाकमा अड्किएको सामान समयमा नै निकाल्न सकेन भने यसले सङ्क्रमणसमेत गराउन सक्छ । त्यति मात्र होइन कहिलेकाहीँ नाकमा अड्केको कुरा निस्केकोजस्तो लागे पनि पूर्ण रूपले निस्केको हुँदैन । जस्तो खानेकुरा तथा गेडागुडीहरू नाकभित्र अड्केको खण्डमा यो कुहिन सक्छ र यसले सङ्क्रमण गराउन सक्छ । सङ्क्रमण भएको खण्डमा नाकबाट पानी वा पीप बग्न सक्छ । बिरामीलाई ज्वरो आउन सक्छ । त्यस्तैगरी साना ब्याट्रीहरू अड्केको खण्डमा यसको केमिकलले पोल्न सक्छ ।
नाकमा सामान पसेमा यसको सबैभन्दा गम्भीर असर भनेको नाकमा अड्केको कुरा भित्र पसेर घाँटीमा अड्किनु हो । यस्तो बेलामा बच्चाको श्वासनली बन्द भएर ज्यानको समेत जोखिम हुन सक्छ । यसैले नाकभित्र अड्केको सामानलाई नाकबाहिर निकाल्ने कोसिस गर्ने हो । नाकभित्रै पसाएर निकाल्छु भन्ने कोसिस कदापि गर्नुहुँदैन ।
उपचार
नाकमा कुनै सामान पसेको खण्डमा सामान्य अवस्थामा घरमा नै उपचार गर्न सकिन्छ । तर, अप्ठ्यारो गरी अड्केको छ भने जबर्जस्ती भने गर्नु हुँदैन । घरायशी उपायहरू दुई किसिमका छन् । पहिलो, चिज नअड्केको नाकको प्वाल बन्द गरेर अर्को नाकले छीँ-छीँ गर्न लगाउने । दोस्रो, खुर्सानी वा कुनै हाछ्युँ गराउने खालका कुरा सँुघाएर हाछ्युँ गराउने । तर, यति गर्दा पनि भएन भने नजिकैको स्वास्थ्य संस्थामा जानु बुद्धिमानी हुन्छ । यदि तपाईंले घरमा नै निकाल्न सकिएन भनेचाहिँ चिकित्सकको सल्लाह नलिएसम्म बच्चालाई केही खान र पिउन नदिनुस् । किनभने, कहिलेकाहीँ नाकभित्रको चीज निकाल्न बच्चालाई बेहोस पार्नुपर्ने पनि हुन्छ । यस्तो बेलामा बच्चा खाली पेटमा भए राम्रो हुन्छ । विशेषज्ञकोमा नै जान चाहनुहुन्छ भने बालरोग विशेषज्ञ वा नाक कान घाँटी रोगसम्बन्धी विशेषज्ञकोमा जानुपर्छ ।
नाकबाट रगत आएको खण्डमा नरम रुमालले सोसेर लिनुपर्छ । यो आफै बन्द हुन्छ । अरूबेलामा नाकबाट रगत आउने बेलामा जस्तो, यस्तो बेलामा नाक बन्द गर्ने गर्नुहुँदैन । त्यसैगरी बरफका टुक्रा लगाएर पनि खासै फाइदा भने हुँदैन । ५ मिनेटभन्दा बढीसम्म पनि रगत आइरहेमा नजिकैको स्वास्थ्यचौकीमा तुरुन्तै जानुपर्छ ।
चिकित्सकले बच्चाको दुवै नाकको प्वालको र कानको समेत जाँच गर्ने गर्छन् । कहिलेकाहीँ बच्चाले कानमा पनि यस्ता चिज कोचेको हुन सक्छ । कहिलेकाहीँ एक्स-रे वा सीटी स्क्यान गरेर तर्साउनेपर्ने पनि हुन सक्छ । यसरी नाकको प्वालभित्र अड्केको सामान निकाल्न विभिन्न मेडिकल साधन प्रयोग गरेर निकाल्न सकिन्छ । यसरी भित्र अड्केको चिज निकाल्ने क्रममा बच्चाले सहयोग गरेन भने चोटपटक लाग्न सक्छ, त्यसैले बच्चाको अवस्था हेरेर बेहोस पार्नुपर्ने पनि हुन सक्छ । उपचार गरेको एक हप्ताजतिमा फलो अप गरेपछि यो समस्याको समाधान हुन्छ ।
रोकथाम
सबैभन्दा महत्त्वपूर्ण उपाय त बच्चालाई सुरक्षाका बारेमा सिकाउनु नै हो । त्यसैगरी जोखिमका सामानहरू बच्चाको पहुँचभन्दा टाढा राख्नुपर्छ । यदि समस्या आइहालेको खण्डमा तुरुन्तै उपचार गरिहाल्नुपर्छ ।
अन्तमा, नाकमा चिजबिज हाल्नु बच्चाहरूको जिज्ञाशुपनको असर हो । सामान्यतया यो खतरापूर्ण हुँदैन । यद्यपि नाकमा अड्केको चजि भित्रै पसाउन खोजेमा घाँटीमा अड्केर ज्यानै जोखिममा पर्न सक्ने समस्यालाई हामी नकार्न सक्दैनौँ । धर्ैय भएर सुरक्षित तरिकाले यसको उपचार गर्ने हो भने यस्तो घटना रोग वा समस्याभन्दा पनि रमाइलो उट्पट्याङ बाल्यकालको सम्झनाको रूपमा रहन्छ ।
-लेखिका सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रकी वरिष्ठ स्टाफ नर्स हुन् ।)