सबैकी प्रिय अनु…

सबैकी प्रिय अनु…


funtime‘अर्कैको सिउँदो रंग्याए हुन्छ’
‘फूलैफूलको बनाई गुच्छा
चढाई पाउमा
चाहिनँ राख्न अरू कसैलाई
उनको त्यो ठाउँमा…’
मनै त हो । बहकिन सक्छ, अनि भावना यसरी पोखिन पनि सक्छ । जीवनमा भोगाइ, मीठो याद र तड्पाईलाई शब्दमा उतारेर गीत÷सङ्गीतपारखीको दिल जित्न सफल एक महिला सर्जक हुन् अनु शाह (अनुराधा) । लामो समयदेखि अमेरिकामा बस्दै आएकी अनुको मन या भावना भने नेपालतिरै बहने गर्छ । यही दाबी गर्छिन् उनी ।
‘छैनौ तिमी मेरो वशमा
जे मन लाग्छ गरे हुन्छ
खुशी हुन सक्छौ भने
सिउँदो अर्कैको भरे हुन्छ…’
गीतका शब्द मनोरञ्जनात्मक मात्र हुन्छ भन्ने छैन । यसले मनको अन्तरकुनाको प्रतिनिधित्व पनि गर्न सक्नुपर्छ भन्ने धारणा सर्जक अनु शाह (अनुराधा)को छ । उनी भन्छिन्– गीत वा कविता कोर्न कुनै समय तथा स्थानको भर पर्नै पर्दैन, यो त स्वस्फुर्त आउने चिज हो । कुनै समय कुनै दृश्यले शब्द कोर्न लगाउँछ भने कुनै समय मौसम र वातावरण पनि कारण बन्न सक्छ ।
‘तिम्रो र मेरो हुन्थ्यो सधैँ
अब हाम्रो भन्न थालेँ
मन परेको–नपरेको
सबै राम्रो भन्न थालेँ…।’
आफ्नो मान्छेप्रति समर्पित यो भावनाले साँच्चै अनुको शब्द कोराइको स्तर झल्काइरहेको छ । तर, समाज र व्यक्ति गीतका शब्दजस्तो स्वच्छ नभइदिँदा आजको समाज भड्किएको देख्छिन् उनी । सोचविपरीत धोका अनि घात–प्रतिघातको बाहुल्य बढेपछि उनको पनि मन भाँचिएको छ, कुँडिएको छ । यसलाई शब्दमा यसरी भन्छिन् अनु–
‘तिम्रो–मेरो विषयमा
चर्चा चल्यो रे
पात मात्र हल्लेन रे
रुखै ढल्यो रे…’
मनछुने र सुन्दा वा पढ्दा मुग्ध तुल्याउने शब्दहरू धेरै कोरेकी छिन् अनुले । अब उनी छरिएर रहेका आफ्ना यिनै सिर्जना, भावना र उद्वेगलाई सङ्कलन गरेर श्रोतामाझ ल्याउँदै छिन् । दुई गीति एल्बम तयार भइसकेका छन् भने अनु तेस्रो एल्बम तयारीको नजिक पुगेकी छिन् । करिब आधा दर्जन म्युजिक मिडियो पनि तयार पारिसकेकी छिन् उनले । ‘म अमेरिका हुन्छु तर काम नेपालमा हुँदा समयमा सिर्जनाहरू बजारमा ल्याउन नसकेकी हुँ । अब भने चैतभित्रै नेपाल आएर सबै काम फत्ते गर्ने योजनामा छु,’ उनले अमेरिकाबाटै भनिन् ।
अमेरिकाका विभिन्न सहरमा हुने साहित्यिक वा सांस्कृतिक कार्यक्रममा अनुको उपस्थिति वा प्रतिनिधित्व यतिबेला अनिवार्यजस्तै भइसकेको छ । सबैको प्रिय बनेकी अनुको चाह चलचित्र निर्माणतर्फ पनि अघि नबढेको होइन । केही समयअघि नै चलचित्र ‘सिमलको फूल’ उनले बनाउने चर्चा थियो तर, दुई वर्ष भइसक्दा पनि त्यसको काम अगाडि नबढ्नुमा उनलाई चिन्नेहरू अनुको दोष ठान्दैनन् । जोमाथि अनुले विश्वास गरिन् त्यो समूहले काम गर्न ढिलाइ गरेको भनाइ अन्य चलचित्रकर्मीको छ । यस कारणले चलचित्र निर्माणतर्फ कतै अनुको मन भाँचिने त होइन ? अन्य चलचित्रकर्मीले चिन्ता व्यक्त गरेका छन् । तर, अनुले यसबारे खासै बोल्न चाहिनन् । उनले यति मात्र भनिन्, ‘समयलाई कुरौँ के हुन्छ ।’
‘सबै माया रित्याएर
लौ न म त जोगी भएँ
तिमीसँग भेटेपछि म त
मनको रोगी भएँ…’
हरेक समय, वातावरण अनि परिस्थिति र भावनालाई समेट्ने गरी गीत वा कविता सिर्जना गर्न सक्ने क्षमताकी अनुको कवितासङ्ग्रह ‘मनका उद्वेगहरू’ पनि बजारमा आउने भएको छ । चलचित्र प्राणभन्दा प्यारोमा पनि अनुले लेखेको यो गीतले रामै्र प्रशंसा बटुलेको थियो
‘पलपल सधैँ तिम्रो
सम्झना म रोऊँ कि हाँसु
तिमी आफैँ भनन चञ्चल
आँखामा तिमै्र छ सपना…’
राजेशपायल राई, नलिना चित्रकार, अञ्जु पन्त, सञ्जु अमात्य, दीपक लिम्बू र मनीषा पोखरेललगायतले अनुको शब्दमा स्वर प्रदान गरिसकेका छन् । के खाऊँ के लाऊँ भन्ने उमेरमा जीवनमरणको दोसाँधमा अस्पतालको बेडमा छटपटाइरहँदा त्यो अवस्था, भावना र पीडाबोधपश्चात् शब्द कोर्न लागेको वास्तविकता पनि लुकाइनन् अनुले ।
त्यसै समयमा उनका भावनाहरू यसरी हरफमा प्रस्तुत भए
‘सन्देशभरिएको खाम
दिएको मन प-यो
बेहोसीमै हुँदा पनि
तिमीले मेरो नाम लिएको
मन प-यो…’
जीवनमा जो–जसले जसरी धोका दिए वा विश्वासघात गरे, अब तिनीहरूको पर्वाह नगरीकन निरन्तर रूपमा पछाडि नहेरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् अनुले । ‘एउटा लक्ष्य, उद्देश्य अनि गन्तव्य लिएर हिँडेपछि बीचमा आउने बाधा–अड्चनहरू आफैँ परास्त हुनेछन् भन्ने विश्वास मलाई छ,’ अनुको प्रस्ट्याइ छ ।

नम्रताको गुनासो– दोषजति ममाथि
नम्रता श्रेष्ठलाई आफ्नो चलचित्रमा लिन हानथाप गर्ने चलचित्रकर्मी नै अहिले उनको विरोध गर्दै दोहोलो काढ्न थालेका छन् । ‘समय छैन, म भ्याउँदिनँ’ भनेर प्रस्ताव आएका चलचित्रलाई नम्रताले बारम्बार जवाफ दिएकी हुन्, तर जसरी पनि समय दिनुपर्ने र मागेजति पारिश्रमिक दिने भन्दै काम गराउने अनि फिल्म नचलेपछि विरोध गर्नेहरू देखेर यतिबेला उनी दिक्क मान्न थालेकी छिन् ।
‘म फ्लप हिरोइन भएकी भए मलाई किन लिने ? म रोल माग्न पनि जाने गरेकी छैन । सहयोग ग-यो उल्टै ममाथि आरोप,’ नम्रताको चित्तदुखाइ छ । एउटी हिरोइनका कारण चलचित्र फ्लप र हिट हुने कुरालाई नम्रता मान्दिनन् । ‘चलचित्र भनेको टिमवर्क हो । सफलता र असफलताको भागीदार सबै हुनुपर्छ,’ नम्रताले भनिन् ।
नम्रताले प्रस्ताव आएका कति चलचित्रमा त निर्माताको आग्रह, अनुनयविनय मानेर कम पारिश्रमिकमा पनि काम गरेकी रहिछिन् । ‘ती निर्माताको नाम अहिले नभनौँ, तर उनीहरूले नै मेरो बद्नाम गरे,’ उनले गुनासो पोखिन् । जसको भलो चितायो उसले नै कुभलो गरेपछि अब नम्रता अफर आएका चलचित्रसँग कडा रूपमा प्रस्तुत हुने भएकी छिन् । ‘अब म पनि व्यावसायिक हुनुप-यो । सहयोगी स्वभाव र विचारको यहाँ कदर भएन,’ उनले थपिन् ।

एउटा सिन्को भाँची हेर्दा
शरु जोशी श्रेष्ठद्वारा लिखित पुस्तक ‘एउटा सिन्को भाँची हेर्दा’ सार्वजनिक भएको छ । पुस्तक शरु जोशी श्रेष्ठका बुबा कैलाशप्रकाश जोशी, आमा शान्ति जोशी र चाँदनी जोशीले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो । विमोचन समारोहमा बोल्दै विकासविद् डा. गणेश गुरुङले शरु जोशी श्रेष्ठका लेखहरूले मानिसलाई जीवनमा केही गर्नका लागि प्रेरणा दिने बताउनुभयो । वरिष्ठ पत्रकार कनकमणि दीक्षितले शरु ‘पब्लिक इन्टेलेक्चुएल’ भएको बताउँदै अन्तर्राष्ट्रिय परिवेशलाई नेपालका ग्रामीण तहसम्म र ग्रामीण तहका कुरालाई अन्तर्राष्ट्रिय तहसम्म पु-याउनमा शरु र शरुजस्ता व्यक्तित्वहरूको भूमिका रहने उल्लेख गर्नुभयो । कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्माले गहन कुरालाई मसिनो र मसिनो कुरालाई गहन बनाएर प्रस्तुत गर्न सक्ने खुवी शरु जोशी श्रेष्ठमा रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय संस्थामा शरुको हाकिम भएर बस्दाको अनुभव सुनाउँदै चाँदनी जोशीले भन्नुभयो, ‘शरुलाई ड्राइभिङ सिट मात्र दिए पुग्छ, उहाँले गर्ने काम सधैँ गन्तव्यमा पुगेर मात्र टुङ्गिन्छन् ।’ कार्यक्रममा अनुराधा कोइराला, कुलचन्द्र गौतमलगायत विभिन्न पेसा–व्यवसायमा आबद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै लेखक शरु जोशी श्रेष्ठले आफूले विगतमा लेखक बन्ने सपना नदेखेको तर कतिपय कुराले मन छुदै जाँदा लेखहरू लेख्न थालेको बताउनुभयो । ३२ वटा विविध लेखहरूको सङ्गालो उक्त पुस्तक मिडिया एड्भोकेसी ग्रुप (म्याग)को प्रकाशन शाखा म्याग लाइब्रेरीले प्रकाशित गरेको हो । १६४ पेजको पुस्तकको मूल्य रु. ३०० रहेको छ ।

न्युयोर्कमा गुञ्जिए सर्जक वसन्त
प्रवासमा रहेका भावी पिँढीमा नेपाली भाषा साहित्य, कला र संस्कृतिलाई हस्तान्तरण गर्दै लग्ने मूल उद्देश्यका साथ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलन हालै न्युयोर्कमा सम्पन्न भएको छ । नेपाली भाषा–साहित्य, कला र संस्कृतिको समुन्नत विकासका लागि महिला शक्ति र सिर्जनालाई प्रोत्साहित गर्ने सद्उद्देश्य बोकी गत शनिबार र आइतबार गरी दुई दिन आयोजित सो सम्मेलन कवि गोष्ठीका साथै विभिन्न कार्यक्रमको साथमा सम्पन्न भएको हो । महिला साहित्यकारहरूको पहुँचलाई अन्तर्राष्ट्रियस्तरमा पु-याउने अभिप्रायले उक्त कार्यक्रमको आयोजना गरिएको पनि बताइएको छ ।
नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा समेत पहिचान दिलाउने उद्देश्यले अमेरिकाको कोलोराडो राज्यको डेनबर सहरमा यही फागुन २४ गते र अमेरिकाकै जर्जिया राज्यको एटलान्टा सहरमा आगामी चैत २ गते आयोजना हुन लागेको आफ्नो एकल विश्व काव्य यात्राका क्रममा अमेरिका पुगेका कवि तथा गीतकार वसन्त चौधरीलाई सोही कार्यक्रममा नेपाली साहित्यमा योगदान गरेबापत सम्मान गरिएको सीजी इन्टरटेन्मेन्टले जनाएको छ । उक्त कार्यक्रममा ख्यातिप्राप्त सङ्गीतकार शम्भुजित बासकोटा र रङ्गकर्मी अशेष मल्ललगायत अन्य कविहरूलाई पनि सम्मान गरिएको थियो भने विशिष्ट अतिथिका रूपमा उपस्थित कवि तथा गीतकार वसन्त चौधरीले पनि विभिन्न कविका साथमा आफ्नो रचना वाचन गरेका थिए । कवि चौधरीद्वारा रचित केही मर्मस्पर्शी गीतहरू गायिका पविता परियारले सुमधुर स्वरमा प्रस्तुत गरेकी थिइन् ।
सो कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरूले यसप्रकारका कार्यक्रमले नेपाली साहित्यलाई विश्व साहित्यमाझ पु-याउन महत्वपूर्ण टेवा पुग्ने भएकाले निरन्तरता दिनुपर्ने कुरामा जोड दिए । विश्वका झन्डै चार दर्जनभन्दा बढी देशहरूमा छरिएर रहेका प्रवासी नेपालहरूलाई मध्यनजर गर्दै ती देशमा स्थापना भई विभिन्न कार्यक्रम गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले यस्ता सिर्जनशील कार्यक्रममार्फत नेपाली साहित्य तथा साहित्यकारहरूमा नयाँ ऊर्जा थपेको धारणा सहभागी साहित्यकारले व्यक्त गरेका थिए ।

१४औँ क्याफे कविगोष्ठी
क्याफे कविता कार्यक्रमको १४औँ शृङ्खला बौद्धस्थित जी क्याफेमा विशेष कविगोष्ठीका रूपमा गत शनिबार सम्पन्न भयो । कार्यक्रममा छन्द, छन्दमुक्त, गीत, गजल तथा मुक्तकहरू वाचन गरिए । उत्साहित युवाहरूको सक्रियतामा डेढ वर्षअघि स्थापना गरिएको क्याफे कविगोष्ठी राजधानीका क्याफे होटेलहरूका अलावा बाहिर पनि सञ्चालन हुँदै आएको छ । यसपल्ट पनि विविध प्रकारका कविता र गजलले उपस्थित श्रोताहरूको मन जित्न सफल भएको थियो । यसका सञ्चालकहरूमा जनक पौडेल, रूपेश श्रेष्ठ, जोतारे धाइवा र कमलकुमार रहेका छन् । उनीहरू कान्तिपुर सञ्चारकर्मी पनि हुन् । यस १४औँ शृङ्खलाका लागि महेश्वर चापागाईंले कविहरूलाई कफी र जी क्याफेका सञ्चालक विश्व मास्केले केक फर्माइस गर्नुभएको थियो ।
कार्यक्रममा कविहरू परशुराम पराजुली, ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, रामचन्द्र दाहाल, लक्ष्मी रुम्बा, प्रदीपरत्न शाक्य, महेश्वर चापागाईं, ऋचा महर्जन, राजुराज स्वयं, शारदा पराजुली, जनक पौडेल, रूपेश श्रेष्ठ, राकेश अधिकारी, शिशिर पराजुली, दिवार (यमन) सुवेदी, शिरीष स्पन्दन, दीपा दाहाल, व्रजेश खनाल, नवराज पराजुली, स्मिता श्रेष्ठ, गोले के.आर. चालिसे, रुमिला श्रेष्ठ र सुषमा देवकोटालगायतले कविता तथा गजल वाचन गरेका थिए । कसैलाई पनि सभापति नराखिएको कार्यक्रममा सबै कवि स्वतः अतिथि थिए भने श्रोता र वाचक पनि । क्याफे कविता कार्यक्रममा वाचित कविताको भिज्युअल क्याफे कविता डट कममा हेर्न सकिने आयोजकले बताएको छ ।
कवितालाई व्यापक बनाउन होटेल तथा बार रेष्टुराँहरूमा पनि यसप्रकारको कविगोष्ठीको आयोजना गरिएको बताइयो । यसबाट पर्यटकहरूमा पनि कविताप्रतिको रुचि बढ्ने, ग्राहकहरूले पनि मनोरञ्जन लिनसक्ने भएकाले यसलाई सकारात्मक मानिएको छ । कविता समसामयिक स्थितिमा बढी केन्द्रित थिए ।