जनतालाई गरिबीमा राखेर शान्तिको कल्पना गर्न सकिँदैन : प्रचण्ड

जनतालाई गरिबीमा राखेर शान्तिको कल्पना गर्न सकिँदैन : प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो संख्याका जनतालाई गरिबीमा राखेर केहीको मात्रै समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न नसकिने बताएका छन् ।

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा चीनको च्याङ्सु प्रान्तको नानजिङमा आयोजना गरिएको ‘विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गरौँ’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन र गरिबीको चुनौतीलाई सम्बोधन नगरेसम्म दिगो शान्ति र वास्तविक सुरक्षा सपनामै सीमित रहने उल्लेख गरे ।

उनले भने, ‘मानव सुरक्षालाई जलवायु परिवर्तनले वास्तवमै चुनौती खडा गरिदिएको छ । विश्व वाष्पीकरण, मरुभूमिकरण तथा पानीको अभाव र अन्य रूपमा देखिएका जलवायु परिवर्तनका असरका कारणले विभिन्न क्षेत्रमा द्वन्द्व देखिन थालेका छन् ।’

शान्ति र सुरक्षाका लागि सम्मानित जीवनको प्रत्याभूति एउटा पूर्वसर्त भएको बताउँदै अध्यक्ष दाहालले त्यसको आधार समावेशी, समानता र दिगो विकास भएको उल्लेख गरे ।

‘देश र जनताका बीचको तीव्र विभाजन र असमानता पनि आजको वास्तविकता हो । हाम्रो समयको गरिबी एउटा अत्यन्तै डरलाग्दो चुनौती हो,’ उनको भनाइ छ ।

लाखौँ मानिस अहिले पनि गरिबीको रेखामुनि रहन बाध्य भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसबीचमा लाखौँ मानिस केही दशकयता गरिबीको रेखाबाट बाहिर आए पनि धनी र गरिबबीचको खाडल फराकिलो बन्दै जाँदा अशान्तिको खतरा बढेको बताए ।

विश्व शान्ति र सुरक्षाका लागि मिलेर विकास गर्ने र समृद्ध हुने महत्वलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा आत्मसात् गर्नु एउटा खुसीको विषय भएको उल्लेख गर्दै उनले भने, ‘यसलाई व्यापक रूपमा स्वीकारिएको छ, कि शान्तिबिना विकास हुँदैन र विकासबिना शान्ति हुँदैन । हामी भन्न सक्छौँ कि तुलनात्मक रूपमा हामी विश्वको शान्तिपूर्ण अवधिमा छौँ ।’

दिगो शान्ति र सुरक्षा तथा सुव्यवस्था प्राप्तिका लागि मुलुक मनैदेखि मिलेर लागिरहे पनि केही मुद्दाहरू सामूहिक प्रयासबाट पनि समाधान हुन बाँकी रहेको उनको भनाइ छ ।

विश्वव्यापीकरण र तीव्र विकास, सूचना तथा सञ्चार प्रविधिले विश्वलाई एउटै गाउँमा रूपान्तरण गरिदिएको स्मरण गर्दै अध्यक्ष दाहालले भौतिक वातावरण र प्रविधि, संस्कृति र मान्यताका साथसाथै हाम्रा आशा र चाहनामा पनि आफूहरू एक–अर्कामा निर्भर रहेको बताए ।

‘विश्वव्यापीकरणले ल्याएका चुनौतीको पनि सँगै सामना गरिरहेका छौँ । हामीसँग आशावादी हुने कारण छन् । एउटा देशमा भएको प्रविधिको विकास र अन्वेषणले विश्वभरिका मानिसको जीवनलाई सहज बनाइदिएको छ,’ अध्यक्ष दाहालले भने, ‘विश्वको एउटा भागमा भएको तीव्र र दिगो आर्थिक विकासले बाँकी विश्वका लागि समृद्धिको आशा जगाएको छ ।’