५० हजार विद्यालयलाई दिने सांसदको घोषणा

५० हजार विद्यालयलाई दिने सांसदको घोषणा


तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महिनाको तलब भानु नगरपालिका–३ स्थित जनजागृति माध्यमिक विद्यालयलाई दिने घोषणा गरेका छन् ।

विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले सोमबारदेखि आयोजित श्रीमद्भागवत महायज्ञमा सांसद श्रेष्ठले तलबबापतको रु. ५० हजार विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

सो अवसरमा सांसद श्रेष्ठले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिए । आफू यसै क्षेत्रबाट निर्वाचित भएको भन्दै उनले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सांसद श्रेष्ठले यसअघिका महिनाको सबै तलब जिल्लास्थित विभिन्न सामाजिक संघसंस्थालाई सहयोग गरेका छन् ।

उनले व्यास नगरपालिका–१४ को छाब्दीबाराही विकास कोष, व्यास नगरपालिका–१० स्थित सुधेरी गैरखानेपानी उपभोक्ता समिति, व्यास नगरपालिका–१ अम्रेनीस्थित शिव मन्दिर र भानु नगरपालिका–६ स्थित कालिका मन्दिर, व्यास नगरपालिका–११ तनहुँसुरस्थित तनहुँसुर खानेपानी योजना र भानु नगरपालिका–१० स्थित दुधेकुना मन्दिरलाई रु. ५०–५० हजार प्रदान गरेका छन् ।