प्रधानमन्त्री केपी शर्मा ओली भोली (असोज ६ गते शनिबार) न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका जान लागेका प्रधानमन्त्रीका साथमा उनकी पत्नी राधिका शाक्य पनि रहने छिन् । यस्तै, भ्रमणदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनेछन् ।
आगामी मंगलबार (असोज ९) बाट शुरु हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्नेछन् भने सोही दिन युएन महासचिव एन्टोनियो गुटेरेससँग उनको भेटवार्ता हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखरबैठक’ को रूपमा उच्चस्तरीय पूर्ण बैठकलाई पनि सम्बोधन गर्नेछन् । सो बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको सम्मानमा उनको शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुनेछ ।
प्रधानमन्त्री ओली तथा श्रीमती शाक्य सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । उनी असोज ९ गते मङ्गलबार संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।
यस्तै उनले सोही दिन महासचिव गुटेरेसले आयोजना गर्ने ‘शान्तिका लागि कार्य गर्न उच्चस्तरीय बैठक’ लाई सम्बोधन गर्नेछन् । उनले सोही दिन एसिया सोसाइटीमा ‘‘शान्ति, प्रजातन्त्र तथा विकास’’का विषयमा सार्वजनिक व्याख्यान दिनेछन् ।
संयुक्त राष्ट्र सङ्घको महासभाका कार्यक्रमका साथसाथै प्रधानमन्त्री ओलीले असोज १० गते बुधबार स्विजरल्यान्डका राष्ट्रपति एलेन बर्सेटसँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ भने असोज १२ गते शुक्रबार क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग दुई पक्षीय भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री ओली असोज १३ गते शनिबार दुईपक्षीय औपचारिक भ्रमणका क्रममा न्युयोर्कबाट कोस्टारिकाको सान होजेतर्फ प्रस्थान गर्नेछन् । प्रधानमन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नेछन् ।
तस्बिर रासस
प्रतिक्रिया