हनुमानढोका दरवारमा इन्द्रजात्राको लिङ्गो ठड्याइयो

हनुमानढोका दरवारमा इन्द्रजात्राको लिङ्गो ठड्याइयो


इन्द्रजात्रा पर्व आजबाट शुरु भएको छ । आज विहान ८ बजेर ५ मिनेटको साइतमा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको छ ।

विशेष गरी काठमाडौंमा एकसातासम्म यो जात्रा उत्सवका साथ मनाइन्छ । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो हनुमानढोका तलेजुको मूल प्रवेशद्वार बाहिर राखिन्छ । आज मानन्धर समुदायले लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु भएको सन्देश दिएका छन् ।

इन्द्रजात्रा पौराणिककालदेखि नै मनाउँदै आएको भएपनि यो जात्रामा काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले त्यससँगै श्रीकुमारी रथयात्रा चलाएपछि काठमाडौँको तत्कालीन मध्य भित्री सहरमा यो रथयात्रा हुँदै आएको छ । असोज ८ गते रथयात्रा जैशिदेवल चिँकमुगल भई लगनटोल पुगेर उसै साँझ फर्कने र १२ गते नरदेवी पुगेर फर्कने र अन्तिम दिन नानीचयात्रा भनेर १२ गते किलागल पुगेर फर्काइने तालिका छ ।

लिङ्गो ठड्याएपछि हल्चोकको भैरव, मजिपाटको लाखे, किलागलको पुलुकिसी, महालक्ष्मी नाच भक्तपुरको महाकाली र रामचन्द्र नाच हनुमानढोका दरवारमा हाजिर हुनुपर्ने छ । यसैदिन आकाश भैरव, श्वेत भैरव, स्वच्छन्द भैरवको सृङ्गार तथा पूजन हुन्छ । मानन्धर समुदायले वौमत प्रदर्शन गर्दै नगर परिक्रमा गर्ने गर्नेछन् ।