नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुंगो लगाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावबमोजिम पार्टी जिम्मेवारी तोकिएको हो ।
पार्टी सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार प्रदेश नं. १ को इन्चार्जमा भीम आचार्य, सहइन्चार्जमा सावित्री काफ्ले तथा प्रदेश कमिटी अध्यक्षमा देवराज घिमिरे र सचिवमा सुरेशकुमार राई नियुक्त भएका छन् ।
त्यसैगरी प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डल र सहइन्चार्जमा विश्वनाथ साह तथा प्रदेश कमिटी अध्यक्षमा प्रभु साह र सचिवमा सुमनराज प्याकुरेल चयन भएका छन् । प्रदेश ३ को इन्चार्जको जिम्मा अष्टलक्ष्मी शाक्य र सहइन्चार्जको नारायण दाहालले पाएका छन् भने प्रदेश कमिटी अध्यक्षमा हितमान शाक्य र सचिवमा आनन्दप्रसाद पोखरेल चयन भए ।
त्यस्तै गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ र सहइन्चार्जमा खगराज अधिकारी तथा प्रदेश कमिटी अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द नेपालीले छानिए । प्रदेश ५ को इन्चार्जको जिम्मा शंकर पोखरेलले र सहइन्चार्जको जिम्मा दलबहादुर रानाले पाए भने पार्टी कमिटी अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रशाद शर्मा नियुक्त भए ।
कर्णाली प्रदेश इन्चार्जमा जनार्दन शर्मा र सहइन्चार्जमा यमलाल कँडेल तथा पार्टी कमिटी अध्यक्षमा गोरखबहादुर बोगटी र सचिवमा मायाप्रसाद शर्मा चुनिए ।
त्यसैगरी प्रदेश ७ को इन्चार्जमा भीमबहादुर रावल र सहइन्चार्जमा लक्ष्मणदत्त जोशी तथा पार्टी अध्यक्षको जिम्मा कर्णहादुर थापाले र सचिवको जिम्मा नेपबहादुर चौधरीले पाए ।
गत जेठ ३ गते साबिकको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकतापछिको यो निर्णयलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । देशका ७७ जिल्ला र जनवर्गीय संगठनको एकतासम्बन्धी कार्यदलले आफ्नो प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाइसकेको छ ।
पार्टी सचिवालय सदस्य पोखरेलले आज जिम्मेवारी पाउने प्रदेश इन्चार्ज तथा पार्टी कमिटी अध्यक्षले मातहतका जिल्ला कमिटीको एकता कार्यलाई चाँडो टुंगोमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया