शिक्षक आयोगको परीक्षा तयारी पूरा

शिक्षक आयोगको परीक्षा तयारी पूरा


शिक्षक सेवा आयोगले यही असोज ११ गतेदेखि सञ्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ । आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले परीक्षा सञ्चालनको सबै काम सकिएकाले ढुक्क भएर परीक्षामा सामेल हुन परीक्षार्थीलाई आग्रह गरेका छन् ।

असोज ११ गते माध्यमिक, १२ गते निम्नमाध्यमिक र १३ गते प्राथमिक तहको परीक्षा हुनेछ । त्यसका लागि परीक्षा सञ्चालन हुने सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाइसकेको छ भने प्रश्नपत्र परीक्षा हुनुभन्दा एक दिन अगाडि मात्र पुग्नेछ ।

परीक्षाको तयारीका लागि शनिबारदेखि सोमबारसम्म शिक्षा विकास तथा जिल्ला समन्वयका प्रमुख र केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन र व्यवस्थापनसम्बन्धी तालिमसमेत दिइने उनले जानकारी दिए ।

परीक्षामा ३४ जिल्लामा एक हजार २३२ परीक्षा केन्द्र स्थापना गरिएको छ । परीक्षा सञ्चालन गर्नका लागि एक हजार २३२ केन्द्राध्यक्ष र दुई हजार ४६४ सहायक केन्द्राध्यक्षसहित करिब १४ हजार कर्मचारी आवश्यक पर्ने उनको भनाइ छ ।

परीक्षामा १२ हजार ७३९ पदका लागि करिब दुई लाख ७५ हजार परीक्षार्थी रहेका छन् । प्राविमा एक लाख ५५ हजार, निमाविमा ८१ हजार र माविमा ३९ हजार परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षालाई मर्यादित बनाउन जुन जिल्लाबाट परीक्षा फाराम भरेको हो सोही जिल्लाबाट परीक्षा दिन नपाइने नयाँ व्यवस्था गरिएको छ ।