ऊर्जामन्त्री राधा ज्ञवालीले नारी दिवसका अवसरमा देशभरिका महिलालाई खुसी तुल्याउन दिनुभएको अभिव्यक्तिले नेपाल विद्युत् प्राधिकरणसम्बद्ध कर्मचारी तथा विद्युत्बारे जानकारहरूलाई स्तब्ध पारेको छ । उहाँको भनाइ थियो, ‘अब बेलुका ६ बजेदेखि राति नौ बजेसम्म नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाइनेछ ।’ बेलुका महिलाहरूलाई उज्यालो र ऊर्जा बढी आवश्यक पर्ने भएकोले सम्भवत: महिलाहरूको हितलाई ध्यानमा राखेर सरकारले बेलुकाको तीन घन्टा नियमित ऊर्जा उपलब्ध गराउने वचन उहाँले देशभरिका महिलाहरूलाई दिनुभएको हो । तर, आगामी केही वर्षसम्म देशभरि एकसाथ तीन घन्टा विद्युत् आपूर्ति असम्भव मानिन्छ । सबभन्दा बढी ऊर्जा खपत हुने समय (बेलुका ६ देखि नौ बजेसम्म) मा यदि सबैलाई विद्युत् आपूर्ति गराउने हो भने एघार सय मेगावाटभन्दा बढी विद्युत् आवश्यक पर्न जान्छ । जब कि सबै विद्युत्गृहहरू पूर्ण क्षमतामा सञ्चालन भए पनि देशमा जम्मा सात सय पचास मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुनेछैन । त्यसैले दशैभरि साँझको तीन घन्टा विद्युत् आपूर्ति गर्न असम्भव भएको हो । तर, देशका अन्य सबै भागमा विद्युत् कटौती गरेर काठमाडौं उपत्यकालाई मात्र उपलब्ध गराएको अवस्थामा भने राजधानीका तीन जिल्लालाई उज्यालो राख्न सम्भव हुनेछ । काठमाडौं उपत्यकामा ‘पिक आवरमा’ तीन सय पचास मेगावाटभन्दा बढी विद्युत् खपत हुने गर्दछ । तर, देशलाई पूरै अन्धकारमा राखेर राजधानीलाई मात्र उज्यालो राख्ने कार्य कुनै पनि कोणबाट न्यायोचित र मानवोचित हुन सक्दैन र सम्भवत: मन्त्री ज्ञवालीले पनि बाहिर अँध्यारो बनाएर राजधानीमा मात्र विद्युत् आपूर्ति गराउने उद्देश्यले त्यसप्रकारको अभिव्यक्ति दिनुभएको होइन । सूचना, जानकारी या ज्ञानको कमीले मात्र मन्त्री ज्ञवालीले ‘त्यस्तो’ प्रतिबद्धता जनाउनुभएको अनुमान गर्न सकिन्छ । विद्युत् क्षेत्रको यावत् पक्षबारे जानकारी नभईकन बोल्दा बोल्नेहरू पटकपटक ‘बेवकुफ’ बनेका छन् । स्याङ्जाका एक नेता (सम्मानका लागि नाम नलेखिएको) ले ०४८ सालको आमनिर्वाचनमा कालीगण्डकीको पानीबाट करेन्ट निकालेर भिटामिनविहीन पानी जनतालाई पिउन र खेतमा प्रयोग गर्न बाध्य बनाइएकोप्रति गम्भीर आपत्ति जनाउँदै आफू विजयी बनेमा भिटामिनयुक्त पानी उपलब्ध गराउने वचन मतदातालाई दिएका थिए । ती नेताको विचारमा दही मथेर घ्यू निकालेजस्तै थियो पानीबाट विद्युत् निकाल्ने कार्य । त्यसैले अन्जानमा नै तिनले पानी र भिटामिनको कुरा गरेका थिए । अहिले मन्त्री राधा ज्ञवालीले पनि आफ्नो विभागीय काम र स्थितिबारे जानकारी नभएकोले त्यसप्रकारको अभिव्यक्ति दिनुभएको ठानिएको छ । स्मरणीय छ, हाल पिकआवरमा एघार सय मेगावाट विद्युत् खपत भए पनि वर्षेनी करिब असी मेगावाट थप विद्युत् माग हुने गरेको छ ।
प्रतिक्रिया