तराई समाजमा दाइजोको पीडा कायमै-शत्रुधनप्रसाद साह

तराई समाजमा दाइजोको पीडा कायमै-शत्रुधनप्रसाद साह


भनेजति दाइजो नपाउँदा नवदुलहीको हत्यासमेत गर्ने विकृतिबाट तराईले मुक्ति पाउन सकेको छैन ।
०६७ माघ १७ गते धनुषामा दाइजोकै कारण रूपा कर्णको हत्या भयो । परिवारका सदस्य मिलेर उनको हत्या गरे । उनलाई हत्या गर्ने मानिस फरार भएकाले प्रहरीले हत्यारालाई पक्राउ गर्न सकेको छैन । महोत्तरीमा धेरै महिलाले दाइजोकै नाममा आफ्नो अनुहारको आकृति नै गुमाएका छन्, दाइजोको निहुँमा मुहारमा तेजाब खन्याइदिने घटनाहरू महोत्तरीमा बढी छन् । रौतहटमा एउटी महिला दाइजोका नाममा पतिको पिटाइ खाँदाखाँदै मरिन् । उनका छोराछोरी अहिले बेसहाराजस्तै भएका छन् । दाइजोका नाममा सासू-ससुराबाट रातदिनको प्रताडना पाएपछि सिराहाको इटारी प्रसाहीकी अनिता मण्डलले प्रहरीमा उजुरी दिएकी छिन् । तर, उनको यो उजुरी पहिलोपटक भने होइन, परिवारका सदस्यहरूले यातना दिएपछि जब उनी प्रहरीमा पुग्छिन् कारबाहीको डरले उनका सासू-ससुरा अब यस्तो गरिने छैन भनेर प्रहरीसामु मेलमिलाप गर्छन्, केही दिनपछि यही क्रम दोहोरिन्छ । दाइजोका कारण धेरै महिलाका निम्ति आफ्नै घर शारीरिक र मानसिक यातना केन्द्रझैं भएका छन् । शारीरिकभन्दा मानसिक यातना व्यापक छ । महिला भएर जन्मिएकै कारण उनीहरूले यसप्रकारका हिंसाको सिकार हुनुपरेको हो ।
मधेसी समाजमा दाइजोका कारण महिलामाथि हिंसाका घटना धेरै हुने भए पनि यसको निश्चित तथ्याङ्क भने छैन । यसको प्रमुख कारण यस प्रकारका घटनालाई घरमै दबाइनु हो, दाइजोका घटना प्रहरीसम्म कमै पुग्छन् र महिलामाथिका हिंसाविरुद्धमा कार्यरत सङ्घ/संस्थाहरूसम्म पुग्ने पीडितको सङ्ख्या पनि कमै छ । धनुषामा कार्यरत आसमान नेपालमा यो एक वर्षका बीचमा २० वटा दाइजोसम्बन्धी घटना दर्ता भएका छन्, जसमा दुईजनाको हत्या भएको छ । अन्य घटना कुटपिट, मानसिक यातना र हत्या-प्रयासका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पहिलाको तुलनामा दाइजोसम्बन्धी मुद्दाहरू पहिलाभन्दा अहिले कम भएका छन् । धनुषा प्रहरी महिला सेलमा कार्यरत सहायक निरीक्षक सुभद्रा आलेको भनाइमा दाइजो भनेर प्रत्यक्ष नदेखिए पनि दाइजोसँग जोडिएका घरेलु हिंसाका घटना डरलाग्दा छन् । आसमान नेपालका कार्यक्रम अधिकृत सौरत ठाकुरले भने, ‘दाइजोको माग गर्नु लाजको कुरा हो भन्ने कुरा जबसम्म मानिसमा आउँदैन तबसम्म यो रोग फैलिरहनेछ ।’ दाइजो नपाए छोरीले बाबुआमाबाट केही नपाउने तीतो यथार्थ पनि कतिपय समाजमा छ । सम्पत्तिमा समान अधिकार भए पनि तराई समाजमा यसको अभ्यास सुरु भएको छैन, त्यसैले छोरीले विवाह गरेपछि पैत्रिक सम्पत्तिका नाममा पाउने कुरा र जबर्जस्ती मागिने नगदलाई अलग्याएर हेर्नुपर्ने धारणा पनि अधिकारकर्मीहरूको छ । महिला अधिकारका क्षेत्रमा कार्यरत जयन्ती यादवले भनिन्, ‘दाइजोका नाममा केटाका बाबुआमालाई दिने नगद र छोरीलाई आफ्नो इच्छाले दिने सम्पत्तिका बीचको दृष्टिकोण फरक हुनु जरुरी छ ।’ महिला आवाजकी प्रतिनिधि सीमा ठाकुरको भनाइ पनि मिल्दोजुल्दो छ । भन्छिन्, ‘छोराको मूल्य तोक्दै मागिने दाइजोप्रथा समाज विकासकै कलङ्क हो । यसको विरुद्धमा शिक्षित समाजका व्यक्तिहरूले अभियान सञ्चालन गर्नु आवश्यक छ ।’
विगत १५ वर्षदेखि धनुषामा दाइजो उन्मूलन सङ्घ खोलेरै यसका विरुद्ध संलग्न छन् रामभरत साह । सङ्घका अध्यक्षसमेत रहेका साहको अनुभवमा दाइजोका कारण महिलामाथिका हिंसा मध्यमवर्गीय परिवारमा बढी छन् र दाइजो उन्मूलनका निम्ति ठोस नीतिको अभाव छ । ०६६/६७ मा सङ्घमा ३८ वटा घटना दर्ता भएका छन् जसमा हत्याका तीनवटा, कुटपिटका १३, घरबाट निकालिएका ६, हत्याको प्रयास भएका दुई र सबैभन्दा बढी मानसिक हिंसाका १४ छन् । घटना दर्ताको तथ्याङ्क हेर्दा दाइजो उन्मूलन सङ्घप्रति मानिसको भरोसा बढी देखिन्छ । सङ्घले पीडित र न्यायिक निकायबीच सहजीकरणको भूमिका निर्वाह गर्दै आएको छ ।
युवायुवतीबीच भन्दा पनि पैसासँग विवाह हुने यो कुप्रथाविरुद्ध लड्नका लागि राजनीतिक रूपमा अहिलेसम्म कुनै पनि प्रकारको प्रतिबद्धता र सक्रियता देखिएको छैन । यसको उन्मूलनका लागि मानिसको सोचमा परिवर्तन ल्याउन मधेसमा राजनीतिक दलहरूसमेतको सहभागितामा सामाजिक अभियानहरू सञ्चालन गर्नु आवश्यक छ ।
– सञ्चारिका समूह