हत्याहिंसा नियन्त्रणमा सरकार प्रतिबद्ध : गृहमन्त्री

हत्याहिंसा नियन्त्रणमा सरकार प्रतिबद्ध : गृहमन्त्री


गृहमन्त्री रामबहादुर थापाले सामाजिक तथा वस्तुगत आधारमा हत्या र हिंसाका घटना हुने गरेकाले त्यसलाई सरकारले नियन्त्रणको प्रयास गरिरहेको बताए ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदले उठाएका हत्याहिंसाका घटनाबारे सदनलाई जानकारी दिँदै उनले राजनीतिक संकल्प र कठोर कानुन बनाएर हत्या र हिंसाका घटनालाई नियन्त्रण गरिने प्रतिबद्धता जनाए ।

गृहमन्त्री थापाले भने, ‘मुलुकमा हत्याहिंसाको घटना रोक्न सरकारले जोडबल लगाइरहेको छ । हत्याहिंसाबाट समाजलाई मुक्त गराउन सरकार, सदन र जनताका बीचमा एकता कायम गरेर अघि बढन आवश्यक छ ।’ निर्मला पन्तको हत्या महिला हिंसाको प्रतिनिधिमूलक घटना भएको बताउँदै उनले निर्मला पन्तमा सम्बन्धित निकायको गम्भीर कमजोरी र गैरजिम्मेवारीका कारण अनुसन्धानमा केही ढिलाइ भए पनि हत्यारालाई कानुनी कठघरामा उभ्याउन सफल हुने विश्वास दिलाए ।

लागूऔषध र घरेलु मदिराले हत्याहिंसाका घटनालाई बढाएकाले त्यसलाई रोक्ने प्रयास भइरहेको बताउँदै गृहमन्त्री थापाले विकास र समृद्धिको माध्यम पनि समाजलाई परिवर्तन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । उनले वर्तमान सरकार स्पष्ट दृष्टिकोणका साथ अघि बढिरहेको हँुदा त्यसलाई रोक्न सफल हुने अठोट व्यक्त गरे ।

सरकार र नागरिकको समन्वयमा मात्र पूर्ण सुरक्षा सम्भव भएकाले वडास्तरबाटै संयन्त्र बनाएर अभियान चलाउन आवश्यक रहेको उनले बताए । आगामी दशैँ र तिहारमा यातायात व्यवस्थापन र खाद्यान्न ढुवानीमा कुनै समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले उपत्यकाबाहिर जाने यात्रुका लागि टिकट बुकिङ खुला भइरहेको बताए ।

बर्दियामा भएको राममनोहर यादवको मृत्यु प्रहरी यातनाबाट नभई मस्तिष्कघातबाट भएको रिपोर्ट आएको बताउँदै गृहमन्त्री थापाले भने, ‘विगतको तुलनामा हत्याहिंसाका घटनामा कमी आएको छ, शान्ति सुव्यवस्था सुदृढ भएको छ ।’

वैशाखयता बाढीपहिरोमा परेर १०० जनाको मृत्यु

सो अवसरमा गृहमन्त्री यादवले वैशाखदेखि भदौ १७ गतेसम्म मुलुकका विभिन्न भागमा एक हजार ५८४ दुःखका घटना भएकामा त्यसमध्ये ५४५ बाढीपहिरोसँग सम्बन्धित रहेको जानकारी दिए ।

उक्त अवधिमा बाढीपहिरोका घटनामा परेर १०० जना मृत्यु हुनाका साथै १४३ घाइते भएका र दुई हजारभन्दा बढी घर क्षति भएको उनले बताए ।