काङ्ग्रेसको काम पनि ‘स्मार्ट’ र प्रजातान्त्रिक !

काङ्ग्रेसको काम पनि ‘स्मार्ट’ र प्रजातान्त्रिक !


नेपाली काङ्ग्रेसले पनि प्रजातान्त्रिक र ‘स्मार्ट’ शैलीका कार्यक्रमहरू आयोजना गर्न थालेको सुन्दा जोकोहीलाई आश्चर्य लाग्न सक्छ । यस्तै आश्चर्यजनक कामको थालनी महामन्त्री पूर्णबहादुर खड्काले गराएका छन् । नेपाली काङ्ग्रेस प्रजातन्त्रवादी पार्टी भए पनि उक्त पार्टीका नेताहरूको कार्यशैली र व्यवहार प्रजातान्त्रिक मानिँदैन । विधान संशोधन गर्न गठित समितिको संयोजकसमेत रहेका महामन्त्री खड्काले विधान निर्माणका क्रममा सुझाव लिन जुन तरिका अपनाएका छन् त्यसले काङ्ग्रेस पनि प्रजातान्त्रिक व्यवहारतर्फ उन्मुख भएको सङ्केत दिएको छ । त्यस्तै औपचारिक कार्यक्रमलाई पट्यारलाग्दो नबनाएर ‘स्मार्ट’ बनाउने प्रयास पनि खड्काबाट भएको छ ।

काङ्ग्रेसको विधान संशोधनका लागि देशका विभिन्न बाह्र स्थानमा विशेष भेला राखेर सुझाव सङ्कलन कार्य सुरु भएको छ । त्यसनिम्ति धुलिखेलमा कोषाध्यक्ष सीतादेवी यादवलाई मुख्य अतिथि तोकिएको छ भने काठमाडौंमा सभापति शेरबहादुर देउवा, विराटनगरमा महामन्त्री पूर्णबहादुर खड्का, जनकपुरमा कृष्णप्रसाद सिटौला, पोखरामा महामन्त्री डा. शशाङ्क कोइराला, बाग्लुङमा अर्जुननरसिंह केसी, वीरेन्द्रनगरमा प्रकाशमान सिंह, भैरहवामा विजयकुमार गच्छदार, इलाममा गोपालमान श्रेष्ठ, धनगढीमा सहमहामन्त्री डा. प्रकाशशरण महत, वीरगन्जमा रामचन्द्र पौडेल र दाङमा उपसभापति विमलेन्द्र निधिलाई प्रमुख अतिथि तोकिएको छ । अर्का वरिष्ठ नेता डा. रामशरण महतलाई चाहिँ काठमाडौंमै विशेष अतिथि बनाउने गरी जिम्मेवारी तोकिएको छ ।

समितिले प्रारम्भिक मस्यौदा तयारी गरिसकेपछि यसरी राष्ट्रव्यापी छलफल तथा सुझाव सङ्कलन कार्यक्रम राखिएको हो । दुई दिनसम्म चल्ने कार्यक्रमको उद्घाटन सत्र जम्मा एक घन्टाको हुनेछ । उद्घाटन समारोहमा नाम तोकेर आशन ग्रहण जम्मा चारजनालाई मात्र गराइनेछ, र पाँच मिनेटभित्र आशन ग्रहण कार्यक्रम पूरा गरिसक्नुपर्ने, स्वागत भाषण आठ मिनेटमा सक्नुपर्ने, प्रमुख अतिथिले बढीमा पन्ध्र मिनेटभित्र आफ्नो धारणा राखिसक्नुपर्ने र मस्यौदा समितिको तर्फबाट बोल्नेले बढीमा बीस मिनेटभित्रै धारणा राखिसक्नुपर्ने व्यवस्था गरिएअनुरूप विभिन्न शहरमा कार्यक्रम पनि सम्पन्न भइसकेका छन् ।

इलाम, काठमाडौं र वीरेन्द्रनगरमा सुझाव सङ्कलन कार्य सम्पन्न भइसकेका छन् भने जनकपुर, पोखरा र भैरहवामा कार्यक्रम शुरु भएको छ । ८ असोजमा शुरु भएको सुझाव सङ्कलन कार्य १३ असोजमा सम्पन्न भइसक्नेछ । असोज १७ गते विधान मस्यौदा मूल समितिको बैठकमा सुझाव प्रतिवेदनबारे छलफल शुरु हुने र दशैँअगाडि नै विधानलाई अन्तिम रूप दिने तयारी भएको छ । कुनै अप्रत्यासित अवरोध उत्पन्न भएन भने काङ्ग्रेसले यसपालिको दशैँसँगै नयाँ विधान पनि पाउने निश्चित भएको छ । तर, आगामी महासमितिको बैठकले अनुमोदन गरेपछि मात्र उक्त विधान कार्यान्वयनमा आउनेछ ।

काङ्ग्रेसभित्र स्वच्छ छविका नेताको रूपमा लिइने महामन्त्री खड्काको कार्य व्यवस्थापन क्षमताको यतिबेला पार्टीभित्र व्यापक प्रशंसा भइरहेको छ । काङ्ग्रेसको कामसमेत ‘स्मार्ट’ र ‘प्रजातान्त्रिक’ ढङ्गले सम्पन्न गर्न सक्नुलाई खड्काको विशेष सफलता मानिएको छ ।