जप्ने एकमाला– रामेश्वर राउत मातृदास
एकढिक्का बन्नुपर्छ मेची–महाकाली
धुजाधुजा बन्दै जान्छन् सुर्ता–धूर्तजाली
नेपालीको आँट अटल अग्ला हिमालचुली
मुस्कुराउँछन् हृदयमा सधैँ आकाश खुली
सिङ्गै आकाश पूरा धरती भावनाको बाली
हामी सारा नेपाली हौँ यही धरतीको माली
एकढिक्का बन्नुपर्छ..
सर्वेश्वरको बिहानीमा हामी जीवनधारा
जागरणको बाँसुरीमा बज्नुपर्छ सारा
सुरम्य यो दृष्टिशिरका हामी सुनका बाली
प्रित रम्नु नेपालको जप्ने एक माला
एकढिक्का बन्नुपर्छ…
नेपाल राम्रो ! – ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
संसारको सुन्दर देश हाम्रो
नेपाल विश्वस्तरमै छ राम्रो
नाला, नदी उत्तरमा हिमाल
सर्वोच्च अग्लो शिरमा विशाल ।।१।।
वैविध्य छन् जात र जाति–धर्म
बस्छन् मिली उच्च गरेर कर्म
छैनन् कतै आपसमा लडाइँ
छन् मङ्गलै– मङ्गल वा बढाइँ ।।२।।
छन् चाड हाम्रा सुख–शान्तिदायी
सद्धर्मले गौरव गर्नलाई
सानो र ठूलो अनि वर्णवाद
टाढै छ हामीहरूबीचबाट ।।३।।
चौंरी चरेको वन उच्च–लेक
भेडी झरेको तट मध्य भेक
सम्पन्नशाली सबले तराई
आफन्त हौँ, छैन कुनै पराई ।।४।।
मेची र काली यसको सिमाना
यो सूर्य–चन्द्राङ्कित हो निशाना
झन् वीरताले परिपूर्ण देश
स्वीकार गर्दैन कबै निवेश ।।५।।
जन्मे यहीँ गौतम बुद्ध ज्ञानी
ली शान्तिको जीवन अग्रगामी
आए अनेकौँ ऋषि वा महर्षि
क्वै वीर योद्धा त कुनै तपस्वी ।।६।।
बज्रै परोस् जीवनमा तथापि
झुक्दैन हाम्रो शिर यो कदापि ।।७।।
– महाकवि देवकोटा आश्रम, काठमाडौं
प्रतिक्रिया