समसामयिक नेपाली राजनीतिमा डा. बाबुराम भट्टराई एउटा सुपरिचित नाम हो । सुरुदेखि नै उनी अब्बल दर्जाका विद्यार्थी थिए र तीक्ष्ण बुद्धिका पनि । विद्यालय जीवनमा सधैँ उनलाई दोस्रो भएर पछ्याउने डा. उपेन्द्र देवकोटा हाल चर्चित एवम् वरिष्ठ न्युरोसर्जनका रूपमा ख्याति कमाइरहेका छन् । प्रतिस्पर्धात्मक पढाइका कारण हालसम्म पनि यी दुईबीच केही न केही आरिस वा तिक्तता कायम रहेको छ भनिन्छ । खैर, सन्दर्भ डा. बाबुराम भट्टराईको राजनीतिक उतारचढाव र आगामी योजना एवम् भविष्यको हो । ०५२ सालमा तत्कालीन देउवा सरकारलाई ४० बुँदे ज्ञापनपत्र दिन सानो समूह लिएर संयुक्त जनमोर्चाको तर्फबाट सिंहदरबारको ढोकामा पुग्दा डा. भट्टराईलगायतका व्यक्तिको समूहलाई त्यहीँबाटै लखेटिएको थियो । समयक्रममा उही सिंहदरबारमै भट्टराई प्रधानमन्त्रीको रूपमा विराजमान हुन सफल भए ।
भट्टराईजस्ता विद्वान् व्यक्ति आतङ्क मच्चाउने सशस्त्र द्वन्द्वका एक नायक हुन् भन्ने पत्याउन नेपाली जनतालाई मुस्किल परेको थियो । त्यसमाथि वर्षौंसम्म भारतमा सेल्टर लिएर नेपालमा रक्तपात मच्चाएको आरोप पनि उनीमाथि लागेको हो । युद्धको दौरानमा प्रचण्डपक्षले ज्यानै लिन खोजेको भए तापनि भट्टराई बाल–बाल बचेको खबर सुनिएको थियो । वरिष्ठ इन्जिनियरको हैसियतले पनि देश–विदेशमा काम गरेर लाखौँ आर्जन गर्न सक्ने सामथ्र्य हुँदाहुँदै पनि उनी शोषित, पीडित र गरिब सर्वहारा नेपाली जनताको मुक्तिका लागि माओवादी नेता बनेर लडाइँमा अग्रसर भएका रहेछन् । समय बित्दै गयो, उनका एजेण्डाहरू पार्टीमा हाबी हुन थाले, आफूलाई गैरमाओवादी सम्झने ठूलो पङ्क्ति ‘बाबुराम ठाउँमा पुगे केही गर्छन्’ भन्दै थिए । नभन्दै उनी गणतन्त्र नेपालका चौथो प्रधानमन्त्री बन्न सफल भए । तर, उनी कार्यकारी प्रमुख हुँदा पनि नेपाली जनताले तात्विक भिन्नता केही पाउन सकेनन् । बरु विवादैविवादको सूत्रपात भयो, संविधान निर्माणको कार्य अधुरै रह्यो, उनको छविमा एकप्रकारले दाग नै लाग्यो, लोकप्रियतामा ह्रास आएको विश्लेषण गरियो । अन्ततः पहिलो संविधानसभाको विघटन पनि उनकै हातबाट भयो । नेपाली जनताले ठूलो आशा–भरोसा राखेको व्यक्तिबाट खासै राहत केही नपाएपछि प्रधानमन्त्रीको कुर्सीमा जो गएर बसे पनि उस्तै रहेछ भन्ने भान जनतामा प-यो । उनैले प्रधानमन्त्री हुँदा ‘नेपाल रिमोट कन्ट्रोलबाट चल्छ’ अथवा ‘अन्तैबाट चल्छ’ र ‘हामीले बुद्धि पु-याएनौँ भने चीन वा भारतमा नेपालको विलय हुन सक्छ’ भन्नेसम्मका अभिव्यक्ति ढुक्कै दिएका थिए । यिनै टिप्पणीलाई लिएर उनलाई ‘राष्ट्रघाती’सम्म भनियो । तर, कार्यकारी प्रमुख भएर सत्य बोलेकाले (जो सितिमिति अरूले बोल्दैनन्) उनलाई धन्यवाद दिनेहरू पनि थुप्रै थिए ।
अद्भूत क्षमता वा विलक्षण प्रतिभाको विश्वासमा पछि लाग्नेहरूको कमी हुँदैन । क्षणिक स्वार्थले मानिस पछि लाग्नु बेग्लै कुरा हो । नौलो जनवादी क्रान्तिको हवाला दिएर प्रचण्डहरूले साम, दाम, दण्ड, भेद सबै प्राप्त गरे तर व्यक्ति र गुटगत स्वार्थ अनि महत्वाकाङ्क्षा पूरा भए पनि मूल माओवादी पार्टी अहिले एमाओवादी, बीमाओवादी, क्रान्तिकारी माओवादी, मातृका माओवादी हुँदै क्रमशः खुइलिँदै गइरहेको छ । हजारौँ नेपाली सपुतहरूको बलिदानी आज विदेशी ‘आततायी’ एजेण्डाहरू लागू गर्न उर्वर बनिराखेको छ । सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रजस्ता आत्मघाती एजेण्डाहरूलाई, मुलुक र जनताका निम्ति महाघाटा भइरहेका विषयलाई महान् उपलब्धि भनेर नेता–कार्यकर्ता रटेकोरट्यै छन् । यस्ता नारासँग जनता अघाइसके, तर उनीहरू थाकेका छैनन् अझै । अझै पनि स्वतन्त्र भएर काम गर्न पाए केही राहत जनताले प्राप्त गरिहाल्छन् कि भनेर आशा गरिएका डा. बाबुराम भट्टराईलाई प्रश्न छ, ‘डाक्टर साहेब, १० वर्षे जनयुद्धबाट सहिद र उनका परिवारले के पाए ? नेपाली जनताले के पाए ?’ हामी भन्छौँ– जनताले झन् दुःख पाए, नवसमन्तवाद पाए, महँगी पाए, असुरक्षा पाए, अन्याय–भेदभाव–थिचोमिचो पाए, गुण्डागर्दी पाए, खुलेआम भ्रष्टाचार पाए, हत्या–हिंसा–अत्याचार पाए, दलाली पाए, भद्रगोल त छँदै थियो महाभद्रगोल पाए अर्थात् समग्रमा महाधोका पाए ।
यसै सन्दर्भमा पूर्वप्रम डा. भट्टराईले मुलुकलाई नयाँ शक्तिको आवश्यकता रहेको बताएर एउटा सत्कार्य गर्न खोजेको आभास दिलाएकोे छ । किनकि, चाहेर–नचाहेर, जानेर वा लहैलहैमा जो कथित १० वर्षे जनयुद्धमा लागेका थिए, तिनले खोजेको परिवर्तन पाउन सकेनन्, पाउने पनि छैनन् । देशी–विदेशी प्रतिक्रियावादी र प्रतिगामीहरूले चलाएको कथित जनयुद्ध वास्तवमा भूल थियो भनेर डा. भट्टराईले भन्न सक्नुपर्छ । प्रचण्ड र उनको मण्डली त यस्तो भासमा फसिसक्यो कि त्यसबाट उत्रिन पनि बाबुरामले नयाँ शक्तिको निर्माण थालनी गर्नैपर्छ । विचार र उद्देश्य ठीक होला–नहोला, तर परिणाम मुलुक र जनताको पक्ष या हितमा नआएपछि त्यस्तो कार्यलाई गलत मान्नुमा केको डर ? केको चिन्ता ? केको आपत्ति र केको लाज ? यदि क्षतिकै चर्चा गर्ने हो भने त सोलोडोलो सबै नेपालीको क्षति भएको छ । त्यसकारण डा. भट्टराईलाई सुझाव छ कि सर्वप्रथम आफ्ना गल्ती स्वीकार गर्नुहोस्, तपाईं महान् बन्न सक्नुहुन्छ । सङ्कीर्ण घेरालाई तोडेर माथि उठ्नुहोस्, विपन्न देश र जनतालाई धनी बनाउन कम्युनिस्ट नै बन्नुपर्दैन । भारतको अरविन्द केजरीवालको आम आद्मी पार्टीभन्दा छिटो स्थापित हुनसक्छ तपाईंको नयाँ पार्टी । फर्मुला राजनीति अबको दुनियाँमा काम छैन, किनभने समय परिवर्तनशील छ, सबैको आ–आफ्नो विशेषता छ, विश्व साँघुरो भइसकेको छ, यसै पनि तपाईं जडसूत्रवादी होइन । त्यसैले सबै पक्षलाई सजिलो हुनेगरी नयाँ प्रजातान्त्रिक पार्टीको निर्माण गर्नुहोस्, नेतृत्व लिनुहोस् र नेपाली जनताको मुहार उज्यालो पार्ने सङ्कल्प साकार तुल्याउनुहोस् । होइन र अब पनि प्रचण्डहरूको कुटिल चालमा अल्झिनुबाट आफूलाई जोगाउन नसक्ने हो भनेचाहिँ डा. भट्टराईको बुद्धि–विवेक, ज्ञान, क्षमता, ऊर्जा, अभिलाषा सबै खेर जाने निश्चित नै छ । हेक्का रहोस् ।
प्रतिक्रिया