प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले एसिया सोसाइटीले आज अमेरिकाको न्युयोर्कमा आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक सार्वजनिक व्याख्यान कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले नेपाली जनताले राणा र शाहवंशका निरंकुशताविरुद्ध संघर्ष गरेको र अन्त्यमा उनीहरूलाई पराजित गरी संविधानसभामार्फत संघीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था स्थापना गरेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाली जनताले वर्तमान लोकतान्त्रिक व्यवस्थाका लागि निकै ठूलो त्याग गरेको र धेरै शहीद भएको बताउँदै नेपालका सबै राजनीतिक दलले हतियार उठाएको स्मरण गर्दै अन्त्यमा बन्दुकको गोलीबाट नभई जनताको मतबाट परिवर्तन र शान्ति आएको उल्लेख गरे । उनले पूर्ण बहुमतको आफ्नो सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को योजनालाई कार्यान्वयन गर्ने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले नेपालमा जलविद्युतका लागि निकै ठूलो भण्डार रहेको र कुनै पनि लगानीकर्तालाई सही रूपमा यस क्षेत्रमा लगानी गर्न अवसर दिन सकिने बताए । उनले पिस कर्प कार्यक्रम सञ्चालन गरेकामा अमेरिकी सरकारलाई धन्यवाद दिँदै यो कार्यक्रम आरम्भ हुँदाको अवस्था अब नेपालमा नरहेको र निकै परिवर्तन भइसकेको उल्लेख गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले एक प्रश्नको उत्तरमा नेपालमा हिउँको तहले पृथ्वीको जमिन सिँचाइ हुन सहयोग गर्ने र समुद्रमा हुने प्रदूषणले बादलको रूपमा हिमाललाई पनि प्रदूषित पार्न सक्ने उदाहरण दिँदै नेपाली समाज विविधतायुक्त भएको र आफूले एकै परिवारमा १३५ सदस्य एकै स्थानमा बस्ने र हुर्कने गरेकोसमेत देखेको उल्लेख गरे । उनले कुनै पनि मुलुकले नचाहेसम्म ऋणको भार नबोक्ने बताउँदै नेपालले पनि सकेसम्म अनुदान र नभए कम ब्याजको ऋण चाहेको बताए ।
रासस
प्रतिक्रिया