राजधानी माग गर्दै धनगढीमा विरोध प्रदर्शन

राजधानी माग गर्दै धनगढीमा विरोध प्रदर्शन


संसदीय समितिले प्रदेश ७ को राजधानी गोदावरी नगरपालिकालाई तोक्न प्रस्ताव गरेपछि धनगढीका स्थानीय विरोधमा उत्रिएका छन् ।

धनगढीलाई राजधानी नतोकेको भन्दै प्रदेश ७ को प्रदेश सभा अगाडि उनीहरूले टायर बालेर विरोध जनाएका हुन् ।

प्रदर्शनकारीले वन तस्कर र भूमाफियाको मिलेमतोमा सो प्रस्ताव गरिएको आरोप लगाएका छन् । राजधानी निर्माणका लागि पूर्वाधार निर्माणमा धनगढीमा राज्यको करोडौँ लगानी भइसकेको अवस्थामा गोदावरीलाई राजधानीको प्रस्ताव गरिनु अन्याय भएको उनीहरूको भनाइ छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड पनि राजधानीकै पूर्वाधारका लागि राज्यको करोडौँ लगानी भइसकेको बताउँछन् । उनी भन्छन्, ‘सुनियोजित रूपमा तस्करसँग मिलेर वन फँडानी गरी राजधानीका लागि संरचना बनाउनु गलत कार्य हो ।’

सांसद तारा लामा तामाङको नेतृत्वमा गठन भएको संसदीय समितिले तयार पारेको प्रतिवेदन मंगलबार प्रदेश सभामा पेस गरिएको थियो । जसमा प्रदेश नम्बर ७ को स्थायी राजधानी गोदावरी नगरपालिका ४ तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाइएको छ ।